Comments Add Comment

यी हुन् दशैंमा विदा नपाउने दुखी कर्मचारी !

प्रहरीदेखि दमकलका कर्मचारीसम्म

Dhundi-raj-Giri
प्रहरी निरीक्षक ढुण्डीराज गिरी

२५ असोज, झापा । झापा जिल्लामा कार्यरत डीएसपी हरिप्रसाद शर्माले परिवारसँगै बसेर दशैं, तिहार नमनाएको चार वर्ष भयो । ‘अरुले टीका, जमरा लाएर हिँडेको देख्दा नरमाइलो लाग्छ’, झापाका प्रहरी प्रवक्तासमेत रहेका शर्माले अनलाइनखबरसँग भने, ‘तर, बानी परिसकियो ।’

परिवारका सदस्यले चाहिँ आफूसँग बसेर दुःख-सुख साट्न नपाउँदा खल्लो मान्ने गरेको उनी सुनाउँछन् । आम जनतालाई शान्ति दिँदा नै आफूलाई खुशी मिल्ने उनी बताउँछन् । भन्छन्, ‘हामी यसरी दशैं, तिहार नभनी शान्ति सुरक्षा कायम गर्न खटिएका छौं र त तपाईंहरुले शान्तिपूर्वक पर्व मनाउन पाउनु भएको छ नि !’

उनले प्रहरी सेवामा प्रवेश गरेको १८ वर्ष भयो । अब त शर्मालाई दसैं, तिहारमा घर जानुपर्छ भन्ने कुराको खासै वास्तै हुँदैन । बानी परिसके अब ।

दसैंमा मानिसहरुको व्यापक भिडभाड हुन्छ । र, सुरक्षा सम्वेदशीलतालाई ख्याल गरेर झन् धेरै प्रहरी परिचालन गर्नु पर्छ । उनी सन्तोष मान्दै भन्छन्, ‘हामी जता ड्यूटीमा खटिन्छौं, त्यही नै हाम्रो दशैं हुन्छ । त्यहीँ हुन्छन् परिवार ।’ आम नागरिकले हाँसो, खुसीका साथ दसैं, तिहार जस्ता चाडपर्व मनाउन पाए आफूलाई त्यसैमा सन्तुष्टि प्राप्त हुने उनी बताउँछन् ।

‘जनताको सेवाले पीडा भुलाउँछ’

ट्राफिक प्रहरी पनि चाडपर्वका वेला सामान्य अवस्थामा भन्दा बढी काममा खटिन्छन् । घर नजिकै हुनेहरु भने आलोपालो गरेर दशैं मनाउँछन् ।

तर, टाढा घर हुने भने दशैं मनाउन पाउँदैनन् । प्रहरीलाई दशैंको समयमा विदा दिइँदैन । काजकिरया र प्रसुतिको अवस्थामा बाहेक हत्पती विदा हुँदैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी भन्छन्, ‘हामीलाई जनतालाई सुरक्षा दिँदै आनन्द मिल्छ, त्यसैमा खुशी हुन्छौं ।’

चाडपर्वलाई लक्षित गरेर सामान्य अवस्थामा भन्दा कडाइ गरिएको उनले सुनाए । उनले भने-‘चाडपर्व भनेर कडाइ गरिएको होइन, सधैँ कडा नै हुन्छ । अहिले मानिसहरुको चाप अझ बढी हुने भएकाले थप कडाइ गरिएको हो ।’

उनी पनि यसपालि दसैं मनाउन घर जान पाएनन् । विर्तामोडमा छन् । दसैंभरि जनताको सुरक्षामा खटिन्छन् ।

प्रहरी जवानको पीडा

जनताको सुरक्षाका लागि खटिने प्रहरी जवानहरुको पीडा पनि कम छैन । मानिसहरु टिका र जमरा लाएर हिँडडुल गर्दा उनीहरुको मन कटक्क खान्छ । एक प्रहरी जवान भन्छन्, ‘के गर्नु जागिर नै यस्तै रहेछ, दसैंमा घर जान नपाएको धेरै भयो ।’ उनले थपे, ‘घरमा आमाबुबा छोरा आउला कि भनेर आश गर्नु हुन्छ । तर, विदा मिल्दैन ।’

आफ्नो पीडा उनले मलीन अनुहार बनाउँदै पोखे । र, फेरि सन्तुष्ट हुन खोज्दै भने, ‘जनतालाई सुरक्षा दिनुमा नै खुशी मिल्छ, अरु त भन्नु र सर..!’

अन्य, जसको पीडामै वित्छ पर्व

दशैं, तिहार जस्ता चाड पर्वमा डाक्टरको पनि विदा हुँदैन । उनीहरु पनि सर्वसाधारणको सुरक्षामा खटिनु पर्छ । विशेषतः आकस्मिक सेवामा क्रियाशील डाक्टरहरु अरुको खुशीमै रमाउँछन् ।
त्यस्तै, विद्युत् प्राधिकरणका कर्मचारीको पनि विदा हुँदैन । उनीहरु चाडपर्व नभनी सेवामा तल्लीन रहन्छन् । २४ सै घण्टा उपभोक्तालाई सेवा प्रवाह गर्न तल्लीन रहने विद्युत् प्राधिकरणका कर्मचारीको मन प्रत्येक पर्वमा कुडिन्छ ।

दमकलका कर्मचारीहरुको दशैं पनि उस्तै गरी बित्छ । घर नजिकै हुनेहरु आलोपालो गरेर दशैं मनाउन जान्छन् । तर, उनीहरुलाई जति वेलै पीडा हुन्छ ।

काहीँ आगलागी भइहाल्यो कि भन्ने पीडाले सताउँछ । जनताको सेवामा कमी भयो कि भन्ने कुराले दुःख दिन्छ । उनीहरु २४ सै घण्टा आफ्नो ड्यूटीमा खटिरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment