Comments Add Comment

नविना लामाको धर्म परिवर्तन कि आङकाजी प्रवृतिको प्रहार ?

Nabina-Lama-Dashain-Tika
एमाले अध्यक्ष केपी ओलीबाट दशैं टीका थाप्दै अनेरास्ववियु अध्यक्ष नविना लामा । तस्वीर: नविनाको फेसबुक

यसपटक दशैंमा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले टीका लगाएको विषयलाई लिएर उनलाई गोरेबहादुर खपांगी र मोहम्मद मोहसिन बनाउन खोजिएपछि त्यसको प्रतिवाद गर्न मन लाग्यो ।

दशैंमा टीका लगाउनु नविनाको अधिकार हो र धर्म निरपेक्ष राज्यको एक जिम्मेवार नेताले समधर्म समभाव देखाउनु कर्तव्य पनि हो । तर केही जनजाति अभियन्ताहरुले यसलाई धर्म परिवर्तनको रुपमा अपव्याख्या गरेर आदिवासी आन्दोलन कसरी पतन हुदैछ भन्ने सन्देश दिएका छन् ।

नविनाले कुनै ठाउँको कार्यक्रममा भाग लिन जाँदा आयोजकले लगाइदिएको ढाका ओढ्दा खादा बिरोधी भनेर प्रहार भयो । पछिल्लो समय दशैंमा टीका लगाउँदा अनावश्यक ढंगले आक्रमण भइरहेको छ । सामाजिक सन्जालबाट नविनामाथि आक्रमण गर्नेहरुको अनुहार हेर्दा उनीहरु नियोजित रुपमा नविनाको राजनीति सिध्याउन भएभरको बल लगाइरहेका छन् ।

यो अभियानको अग्रभागमा विवादस्पद जनजाति नेता आङकाजी शेर्पा देखिन्छन् । यसबाटै प्रष्ट हुन्छ नविना विरुद्ध कस्तो मनोवृत्ति भएका व्यक्तिहरु लागिरहेका छन् भन्ने कुरा । जनजातिको चेलीले एमाले नेताबाट किन टीका थापिन् भनेर प्रश्न गर्नेहरु नविनामाथि कारवाहीको माग गरिरहेका छन् ।

टीका लगाउन नविनाको व्यक्तिगत स्वतन्त्रता विरुद्ध बोल्ने र कारवाहीको माग गर्नेहरु आदिवासी जनजातिको आवरण भिरेका तालिवान र आइएसहरु हुन् । आङकाजी काकालाई हेक्का होस,नविना लामा जनजाति हुन् तर उनी जनजातिको मात्र नेता होइनन् तपाई जस्तो ।

तपाइहरु जस्ता एक जात,एक धमर्कको नाममा राजनीति गर्नेहरुले बुझ्न जरुरी छ कि, नविना लामा सबै जाजजाति,सबै धर्म र सम्प्रदायको नेता हुन् । आङकाजी प्रवृति विरुद्ध निरन्तर विजय गर्दै अघि बढेकी नविना लामाको उचाइमा पुग्न तपाईहरुलाई वर्षौं लाग्न सक्छ र त्यो धैर्य नभएकै कारण तपाईहरु साम्प्रदायिक राजनीतिमा सीमित हुनुभएको छ ।

नवीना लामा जनजाति हुन् । उनको प्रगतिमा जनजातिको सहयोग छ । तर, उनका पछाडि आम जनता छन् । हरेक समुदायका जनताको संस्कृतिको सम्मान गर्नु नविनाको दायित्व हो । त्यसो गर्न नसक्नेहरुले आङकाजीहरुको बाटो रोज्छन् । नविनाले आफूलाई जनजातिमा मात्र सीमित गरेको भए आज उनलाई अन्य समुदायले बहिस्कार गर्दैनथे ?

Samaten Lama
समतेन लामा

नविनाले म हिन्दू होइन भनेर टीका बहिस्कार गरेको भए नविना र आङकाजीमा के फरक हुन्छ ? नविना कसरी राष्ट्रको नेता बन्छिन् ? सार्वजनिक कार्यक्रममा कसैले सम्मानले दिएको ढाकाको गलबन्दी नओढेको भए उनले त्यो समुदायप्रति अपमान गरेको हुँदैन ?

उनले भनेकी छन्-म भोलि यो देशको प्रधानमन्त्री हुन्छु । उनी त्यो हैसियत राख्छिन् र त्यो सम्भव पनि छ । त्यसका लागि नविनाले सबै समुदायको नेता बन्नका लागि जे गर्नुपर्ने हो त्यो गरिरहेकी छन् ।

नविनाको प्रगतिमा डाह गर्नेहरुले उनलाई विभिन्न नाममा लान्छित गर्नुले पनि नविना सही छन् भन्ने बुझ्न सकिन्छ । धर्म निरपेक्ष देशमा सबै धर्मप्रति समभाव राखेर नविनाले के अपराध गरिन् ?

नविनाले ठूलाबडा र आफूले सम्मान गर्नुपर्ने व्यक्तिबाट दशैंको टीका थापेर जुन उदारता देखाएकी छन् त्यसबाट नेपालका आदिवासी जनजातिका अभियन्ताहरुले पाठ सिक्न जरुरी छ । त्यसैले म फेरि पनि भन्छु, उनले जे गरिन सही गरिन् ।

सामाजिक सञ्जालमा आङकाजी शेर्पाज्यूहरुबाट तामाङ चेलीलाई एमाले नेताहरुले धर्म परिर्वतन गराउन दशैंका टिका लगाइदिए भनेर जुन ढंगले भद्दा मजाक गरियो यसको मूल्य नेपालको आदिवासी जनजाति आन्दोलनले महँगो ढंगले चुकाउनुपर्ने निश्चित छ । म जस्ता दुई दशक उमेर पुस्ताका जनजाति आदिवासी युवाले समेत नपत्याउने कुरा समाजमा फैलाएर आङकाजीहरुले आफ्नो अवसानको सन्देश फैलाएका छन् ।

के तामाङ चेलीलाई जबर्जस्ती समातेर टीका लगाइएको हो ? हो भने प्रमाण पेश गर्नुपर्छ । यहाँ कसले धर्म परिवर्तन गराउने खोज्यो ? स्वयं नविना लामाको कुरा नबुझी अनावश्यक तरिकाले अपव्याख्या गरियो । यो नविना लामाको मानहानीको विषय समेत हो ।

पछिल्लो समय नविना लामामाथि आदिवासी जनजाति आन्दोलनका अगुवा मध्येका केही व्यक्तिबाट नियोजित रुपमा निरन्तर आक्रमण भइरहेको छ ।

विशेष गरी राजनीतिकरुपमा नविनाको निरन्तर प्रगतिबाट आत्तिकाहरु उनको चरित्रहत्या गर्न उद्यत छन् । तर नविनाको पक्षबाट त्यसको प्रतिवाद गर्न कोही डराइरहेको छ वा ती आरोप र आक्रमणहरुलाई बेवास्ता गर्न खोजिएको हो ? यो प्रश्नले पटक-पटक घोच्न थालेपछि केही तथ्य प्रष्ट पार्न आवश्यक देखियो ।

तामाङ समुदाय नेपालका आदिवासी जनजातिमध्ये सबैभन्दा ठूलो जनसंख्या ओगट्ने तर, सबैभन्दा पछि पारिएको जाति हो । यो जातिबाट देशको सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षजस्तो शक्तिसाली पदमा बाहुन पुरुषसँग प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने पहिलो महिला हुन् नविना लामा । नेपालका कुनै पनि विद्यार्थी संगठन वा पार्टीका भातृ संगठनहरुमा महिला प्रमुख भएका छैनन् ।

विश्व खोज अनुसन्धानमा व्यस्त छ । हामी भने जात, धर्म र पहिचानका नाममा अल्झिरहेका छौं । ब्रम्हाण्डका दुई जात स्त्री र पुरुष हुन् । त्यसमा मानिसहरुले लिंग परिवर्तन गरेर आफू खुसी बााच्न सक्ने भइसकेका छन्

नविनाले तामाङ भएर कुनै आरक्षणमा होइन पटक-पटक पुरुषसँग प्रतिस्पर्धा गरेर पद प्राप्त गरेकी हुन् । चाहे बानेश्वर क्याम्पसको स्ववियु सभापति जित्दा होस, अखिलको उपाध्यक्ष हुँदै अध्यक्ष जित्दा किन नहोस् । उनले जनजाति महिला भएर होइन सक्षम नेता भएर जितेकी हुन् । आदिवासी जनजातिको नाम भजाएर खान पल्केकाहरु नविनासँग यहि कारण डराएका हुन् ।

विश्व खोज अनुसन्धानमा व्यस्त छ । हामी भने जात, धर्म र पहिचानका नाममा अल्झिरहेका छौं । ब्रम्हाण्डका दुई जात स्त्री र पुरुष हुन् । त्यसमा मानिसहरुले लिंग परिवर्तन गरेर आफू खुसी बाँच्न सक्ने भइसकेका छन् भने हामी चाहिँ कुण्ठाका भारी बोकेर जातको इतिहास खोतल्दै एक अर्कालाई सराप्त व्यस्त छौं ।

हामी कहिलेसम्म यो प्रकारले अधिकार खोज्दै हिँड्ने ? मैले कुनै धर्म वा जातको वकालत गरेको छैन । हामी विविधतायुक्त समाजका मानिस हौं । जनजातिको बाहुन क्षेत्री कहाँको ? विदेशको भनेर खुलेआम नारा लगाउँदै हिँड्नु कति जायज छ ? यसबाट हामीले कस्तो पहिचान पाउँछौं ?

नेपालको संविधानमा मौलिक हक अन्तर्गत स्वतन्त्रताको हक राखिएको छ । अझ धार्मिक स्वतन्त्रताको हक पनि स्पष्ट र सुरक्षित छ । कुनै पनि व्यक्तिले आफ्नो इच्छाअनुसारको धर्म अनुशरण गर्न पाउछन् । तर जबर्जस्ती धर्म परिवर्तन गर्ने गाउने कार्य दण्डनीय मानिन्छ ।

इतिहास पल्टाउने हो भने नेपालको एकीकरणपछि नेपालमा दशैंलाई राष्ट्रिय चाडको रुपमा मानिएको देखिन्छ । विभिन्न समयमा र रुपमा दशैंको बिरोध पनि भएको पाइन्छ । राज्यको सम्पूर्ण शक्ति लगाए सबै जनताले दशैं मान्नैपर्ने उर्दी दिएको र त्यही उर्दीको विरुद्ध विक्रम सम्बतः१९४२ सालमा रामलिहाङ र रिदमाले धनकुटामा वदशैं बहिस्कार गर्दा दुवैको हत्या भएको भनाइ छ ।

सम्भवतः यो पहिलो दशैं बहिस्कारको आन्दोलन थियो । त्यो हत्याको एक सय तीन वर्षमा फाटफुट रुपमा विरोध भए पनि २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि आदिवासी जनजातिले विभिन्न संघ संस्था बनाई दशैं परित्याग गर्न थाले ।

नेपालको आदिवासी जनजाति आन्दोलनका अगुवाहरु पतनको दिशामा छन् र नयाँ ढंगले आदिवासी जनजाति आन्दोलन संगठित हुन जरुरी देखिएको कुरा प्रष्ट हुन्छ । त्यसो नहुँदासम्म यो आङकाजी प्रवृतिले नविना लामाहरुप्रति कुण्ठा पालेर निरन्तर आक्रमण गर्नु सामान्य कुरा हो

गोरबहादुरहरुले दशैं हिन्दूको मात्र चाड हो भनेर अभियान चलाए । दशैंको रातो टीका जनजातिको रगत हो भन्दै बहिस्कारका कुरा पनि सुनिए । हामी आादिवासीले पनि उनीहरुकै लहलहैमा लागेर केही जनजातिले टीका लगाउन छाडे । केहीले सेतो टीका लगाए । तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो सरकारमा गोरेबहादुरलाई मन्त्री बनाएपछि दशैं बहिस्कार गर्नुपर्छ भन्नेहरु खुरु-खुरु राजाको हातको टीका थाप्न गए । अझै पनि कतिपय जनजाति नेताहरु यही जातीय र धार्मिक पक्षलाई लिएर राजनीति पनि गर्दैछन् ।

नेपाल बहुजातीय बहुभाषिक देश हो । जहाँ १२५ जात र १२३ भाषाका मानिस बस्छन् । वर्गीय रुपमा हेर्ने हो भने हुनेखाने, हुँदा खाने र गरीखान खोजेर पनि नसकेकाहरु धेरै छन् ।

लेनिनले भनेका छन्- बहुजाति भएको मुलुकको पहिलो समस्या वर्गीय भन्दा पनि जातीय हुन्छ भनेर उठाइन्छ । ठीक नेपालमा पनि वर्गीय उत्थान गर्ने भिजन बोकेकाहरु कालान्तरमा जातीय समस्याको भारी बोक्दैछन् । जसमा अधिकांश आदिवासी जनजाति नेता छन् ।

वर्तमान समयमा नेपालमा जातजातीको नाममा प्रान्त, जिल्ला, प्रदेश हरेक क्षेत्रमा हदैसम्मका माग राख्ने नयाँ चलन आएको छ । हुँदा हुँदा पछिल्लो समय कुनै आदिवासी जनजाति कोही कसैको राष्ट्रियताको सवालमा जाति र धर्मभन्दा माथि उठेर बोल्यो भने त्यसलाई सिधै धर्म बिरोधी, जनजाति बिरोधी, फलानो पार्टीको झोले वा हनुमान आदिको उपमा भिराउने प्रवृत्ति देखिएको छ ।

यसले नेपालको आदिवासी जनजाति आन्दोलनका अगुवाहरु पतनको दिशामा छन् र नयाँ ढंगले आदिवासी जनजाति आन्दोलन संगठित हुन जरुरी देखिएको कुरा प्रष्ट हुन्छ । त्यसो नहुँदासम्म यो आङकाजी प्रवृतिले नविना लामाहरुप्रति कुण्ठा पालेर निरन्तर आक्रमण गर्नु सामान्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment