Comments Add Comment

दशैंका बेला देशमा के-के भयो ? पढ्नुहोस् १० घटना

दुर्घटनादेखि गर्भवतीको मृत्युसम्म

३० असोज, काठमाडौं । तपाई दशैंमा व्यस्त हुनुभएकाले समाचारहरु सुन्न वा हेर्न पाउनुभएन ? दशैंका बेला देशमा के-के घटना भए होलान् भनेर तपाई अन्योलमा हुनुहुन्छ कि ? यस्तो मनस्थितिमा हुनुहन्छ भने फूलपातीपछि भएका मुख्य घटनाबारे यहाँ पढ्न सक्नुहुनेछः

१. दुर्घटना र मृत्यु

फूलपातीदेखि दशैंको टीकाको भोलिपल्ट अर्थात एकादशीसम्म देशभर भएका सवारी दुर्घटनामा १९ ज्यानको ज्यान गयो । ती घटनामा १ सय २३ जना घाइते भएको ट्राफिक प्रहरी जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा धेरै मोटरसाइकल चालक रहेका छन् ।

Uddhar--dunga-accident

झापाको बिर्तामोडमा दुईवटा बस एक आपसमा ठोक्किँदा ६० जना घाइते भए । रौतहटको चन्द्रनिगाहपुरमा बस र रिक्सा आपसमा ठक्कर खाँदा १८ जना घाइते भए ।

इलामको महमाईमा करिब ५० जना चढेको डुंगा पानीमा डुब्दा दशैं मनाउन हिँडेका ७ जनाको ज्यान गयो । त्यस्तै काभ्रेको पलाञ्चोक जाने गाडी दुर्घटनाग्रस्त हुँदा ३ जनाको ज्यान गयो ।

(पढ्नुहोस् डुंगा दुर्घटनाको समाचार‘पौडिएर बाँचे, अनि अरुलाई निकाल्न थालें’)

यसैबीच दशैंमा अर्को एउटा कहालीलाग्दो घटना भयो । ताप्लेजुङको पापुङ गाविसकी ४० वर्षीया गर्भवती पेमा शेर्पालाई लिन उडेको हेलिकोप्टर खराब मौसमका कारण गाउँमा अवतरण हुन सकेन । हेलिकोप्टरले उद्धार गर्न नसकेपछि प्रसव पीडामै शेर्पाको ज्यान गयो ।

helicoptar taplejung 2

२. अपराध

उदयपुरको बेल्टार बसाहा नगरपालिका-२ श्रीवानी घर भएका सुवास कटुवालले दशैंका बेलामा मोरङमा भाउजूको हत्या गरेर विष सेवन गरे । प्रहरीले दशैंको टीकाका दिन मृतकका श्रीमानसहित परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएको घटना दशैंमा चर्चामा रहृयो ।

उदयपुरको बसाहा निवासी राजेन्द्र कटुवालकी श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङको सिजुवास्थित बेतौना जङ्गलमा हत्या भएको थियो ।

त्यसैगरी पिङ खेल्ने विषयमा विवाद हुँदा भएको खुकुरी हानाहानमा बर्दियामा एक जना गम्भीर घाइते भए ।

दशैंम पिङ खेल्ने विषयमा विवाद हुँदा बर्दियाको शिवपुर गाविस वार्ड न २ मोहनपुर निवासी १८ वर्षीय पुरन बुढामाथि खुकुरी प्रहार भएको हो ।

३. सुनसान काठमाडौं

Sunsan-Kathmandu

दशैं मनाउन उपत्यका छोडेर घर जानेहरुको संख्या धेरै भएसँगै राजधानी सुनसान भयो । अधिकांश पसल, व्यपार व्यवसाय, उद्योग विद्यालयहरु बन्द हुँदा राजधानी सुनसान बनेको हो ।

उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या दैनिक ४ हजारभन्दा बढी भएसँगै राजधानीमा दशैं मनाउनेहरुले स्थानीय सडकमा यातायात पाउन कठिनाइ भयो ।

दशैं सकिएपछि राजधानी भित्रने सवारी साधन र मानिसहरुको संख्या बढेसँगै एकादशीदेखि राजधानीमा केही चहल-पहल बढ्यो । टीकाको भोलिपल्टैदेखि राजधानीमा चलह-पहल एक्काशी बढ्यो ।

_E2A9366

हेर्नुहोस्, २० तस्वीर- दशैं गयो ! हामी यसरी आउँदैछौं काठमाडौं !

दशैंमा राजधानीमा बसोबास गर्नेहरुका अनुसार नवमीका दिनसम्म राजधानी विगतको जस्तो धेरै नै चकमन्न चाँहि थिएन । राजधानीमा दशैंका बेला विगतको भन्दा अलि बढी नै गतिविधि देखिएको अनुभवीहरुको भनाइ छ ।

४. मापसे चेकिङ

Dasain Return to KTM (2)

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा वृद्धि हुने भन्दै ट्राफिक प्रहरीले दशैभर चेक जाँचमा कडाइ गरेको थियो । राजधानीमा पनि दशैंभर प्रहरीहरु सक्रिय देखिए ।

यसक्रममा फूलपातीदखि एकादशीसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ सय २३ जना चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिकले लेन अनुशासन, जथाभावी पार्किङ लगायतका कसुरमा समेत ३ हजार १ सय ११ लाई कारवाही गरेको जनाएको छ ।

५. शीतलनिवास र निर्मलनिवासमा रौनक

Sital-niwas-tika

टीकाको दिन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना निवासमा सर्वसाधारणलाई टीका लगाइदिए ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पनि टीका लगाउने अभियान चल्यो । बालकोटमा पार्टी कार्यकर्ता र सर्वसाधारणको घुइँचो लागेको थियो ।

(पढ्नुहोस्– दशैं-राजनीतिः शीतलनिवासमा गणतन्त्रवादी, निर्मलनिवासमा राजावादी !)

Kamal thapa

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रका हातको टीका लगाए । प्रधानन्यायाधीश सुशीला कार्कीचाहिँ कोशेली बोकेर शीतल निवासमा टीका लगाउन पुगिन् ।

६. राजनीतिक चहल-पहल

दशैंको चहल-पहलले गर्दा देशको राजनीतिमा खास कुनै उल्लेख्य घटना भएनन् । धेरै नेताहरु दशैं मनाउन जिल्लातिर गए । राजधानीमा रहेका दलका नेता, मन्त्रीहरु पनि परिवारसँग व्यस्त देखिए ।

दशैंको राजनीतिक चलहपहल भनेकै पूर्वराजा ज्ञानेन्द्रको ७ प्रश्नसहितको वक्तव्य, केपी ओलीले बालकोटबाट दिएको जवाफ र शीतल निवास एवं निर्मल निवासका दशैं राजनीति मुख्य रहे ।

prachanda_gowa

त्यसैगरी प्रधानमन्त्री प्रचण्डको गोवा भ्रमणलाई पनि दशैंभित्रकै राजनीतिक गतिविधिका रुपमा लिन सकिन्छ । प्रचण्डको टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परिवाजनसहित १८ जना छन् ।

७. केही सन्देशमूलक घटनाहरु

हिन्दुहरुको ठूलो पर्व दशैंमा मुस्लिम धर्मावलम्वीहरुले पनि मनाएर समाजिक सदभावको नयाँ सन्देश दिए । भाइचारा, एकता र समाजमा सदभाव कायम गर्ने भन्दै उनीहरुले दशैं मनाए । त्यसो त मुसलमानको चाड मोहरममा हिन्दुहरुसमेत सरिक भए । उनीरुरुले कपिलवस्तुमा संस्कृतिक कार्यक्रम गरेर सामाजिक सदभावको सन्देश दिए ।

(पढ्नुहोस्- हिन्दु र मुसलमानले संयुक्त रुपमा गरे नौटंकी कार्यक्रम)

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-६ विष्णुडोलका प्रहृलाद र अमृत विष्टले आफ्ना पिता जयबहादुरको काजकिरिया पाँच दिनमा सकेको विषयले पनि दशैंमा चर्चामा पायो ।

Kiriya-Bista-Brothers

काजकिरिया पाँच दिनमा पूरा गरेपछि प्रहृलादले यो शरीर पञ्चतत्वले बनेको भन्दै हरेक विधिमा पाँच नै हुने भएकाले पाँच दिनमा काज किरिया सकेर संस्कार सुधार अभियान चालिएको बताएका थिए ।

८. प्रचण्डको टीका विवाद

दशैंकोे शुभकामना व्यक्त गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैंको टीका लगाएनन् । प्रधानमन्त्रीले टीका नलगाएपछि त्यसको आलोचना र समर्थनमा सामाजिक सञ्जाल व्यस्त बन्यो ।

प्रधानमन्त्री प्रचण्डले दशैंको शुभकामना दिएको तर, टीका नलगाएको विषयले पनि सामाजिक सञ्जालमा चर्चा पायो । केहीले प्रचण्डको आलोचना गरे भने केहीले धर्म निरपेक्ष देशको प्रधानमन्त्रीले टीका लगाउन अनिवार्य नभएको तर्क गरे ।

Nanda-Badhadur-Pun

(पढ्नुहोस्- दशैंमा अल्मलियो माओवादी ! प्रधानमन्त्रीको निधार किन रित्तै ?)

प्रचण्डसँगै संघीय समाजवादीका अशोक राईलाई अर्को कोणबाट आलोचना भयो । अशोक राई र अनेरास्ववियुकी अध्यक्ष नविना लामा लगायतलाई केही जनजाति समुदायका मानिसहरुले ‘गोरेबहादुर खपाङ्गी पथ’ मा लागेको भन्दै आलोचना गरे ।

९. क्रिकेटको चर्चा

Womens-Cricket-Nepal

दशैं मान्नेहरु घरपरिवारसँग रमाइलो र टीका टालोमा व्यस्त भए पनि नेपाली महिला क्रिकेट खेलाडी भने हङकङमा जितका लागि संघर्ष गर्दै थिए ।

नेपालले आईसीसी महिला विश्वकप क्रिकेट एशियाली छनोट प्रतियोगितामा सहभागिता जनायो । समूहको ६ मध्ये तीन खेलमा जित हासिल गरेर समूह उपबिजेता बन्दै नेपाल एशिया कप क्रिकेट प्रतियोगिताको लागि छनाैट भएको छ । समूह बिजेता बन्ने लक्ष्य लिएर हङकङ पुगेको नेपाली टोलीले थाइल्याण्डलार्इ पछि पार्न सकेन । नेपाल सन् २०१७ मा हुने टी-ट्वान्टी महिला विश्वकपकाे भने एशियाली छनोटबाटै बाहिरिएको छ ।

१०. मनोरञ्जन

राजेश हमालले दशैंमा टीका नलगाएको विषय दशैंका बेला चर्चामा रहृयो । हमालले टीका नलगाउनुको कारण टीकाको विरोध वा अन्य धर्मका कारण भने होइन । उनले भोलिपल्ट एकादशीका दिन टीका लगाएर दशैं मनाए । हमालकी आमाको श्राद्ध टीकाकै दिन पर्ने भएकाले हमालले भोलिपल्ट टीका लगाउने गरेका छन् । त्यस्तै अन्य कलाकारहरुले पनि दशैंमा टीकाटालो गरेका छन् ।

UML tea party (9)

दीपकराज गिरी र दीपा श्री निरौला केपी ओलीको चियापानमा गएर फोटो खिचाएको विषय पनि चर्चामा रह्यो । साथै उनीहरुको छक्का पञ्जा चलचित्रले दशैंमा राम्रैसँग दर्शकहरु तान्ने काम गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment