Comments Add Comment

उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा अनिश्चित

FNCCI

२ कात्तिक, काठमाडौं । कात्तिक ४ गते विहीबार हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा अनिश्चित बनेको छ ।

विशेष साधारणसभा रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले मंगलबार साधारणसभाको प्रकृया तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । साथै अन्तरिम आदेशका लागि छलफल गर्न पक्ष-विपक्षलाई बोलाउने निर्णय गरेको छ ।

उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधानसहित विधान संशोधन गर्न कात्तिक ४ गते विशेष साधारणसभा बोलाएको छ ।

वर्तमान अध्यक्ष पशुपति मुरारकाको कार्यकाल आउँदो चैत २६ गते सकिँदैछ । र, यदि महासंघले विधान संशोधन गरेमा वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः चार वर्षे कार्यकालका लागि अध्यक्ष हुनेछिन् ।

विधान संशोधन हुन नसकेमा भने आगामी साधारणसभामा अध्यक्ष लगायतका सबै कार्यसमितिको निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावप्रति असन्तुष्ट पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार र कार्यकारी सदस्य गोविन्दराज घिमिरे अदालत गएका थिए । विशेष साधारणसभाबाट विधान संशोधन गर्न नमिल्ने उनीहरुको जिकिर छ ।

भाष्कर उपाध्यक्ष रहँदा यसरी नै विधान संशोधन गर्ने प्रयास भएको थियो । तर, सहमति हुन सकेन । अहिले फेरि त्यही प्रस्ताव अघि बढाएपछि आगामी अधिवेशनमा अध्यक्षको चुनाव लड्ने तयारीमा रहेका भाष्कर असन्तुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment