+
+
Shares

अख्तियारभित्रै लोकमानको मुद्दा १२ वर्षसम्म गुपचुप !

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १३:०५

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १५ औं वार्षिक प्रतिवेदन तपाईले पढ्नुभएको छ ? १२ वर्ष पहिलेको सो प्रतिवेदनमा उल्लेखित भ्रष्टाचारसम्बन्धी केही व्यक्तिका मुद्दा अहिलेसम्म मुल्तवीमा राखिएका छन्, जसमा अख्तियार प्रमुख लोकमानसिंह कार्की र आयुक्त दीप बस्न्यातको समेत नाम छ ।

lokman

नेपाल सरकारले ०५८ सालमा सम्पत्ति न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनमा वैध सम्पत्तिभन्दा बढी सम्पत्ति भएकाले छानविन हुनुपर्ने सूचीमा केही उच्च प्रशासकहरुको नाम उल्लेख गरेर सरकारलाई कारवाहीका लागि सिफारिस  गरेको थियो ।

सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा बैध सम्पत्तिभन्दा बढी सम्पत्ति देखिनेहरुको सूचीमा लोकमानसिंह कार्की र दीप बस्न्यातको समेत नाम थियो ।

कार्की त्यसबेला जलस्रोत मन्त्रालयको सचिव थिए भने बस्न्यात अर्थ मन्त्रालयमा कार्यरत थिए । कार्की अख्तियार प्रमुख भएका बेला बस्न्यात पनि आयुक्त पदमा कार्यरत छन् ।

सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा अवैध सम्पत्ति आर्जनको सूचीमा परेकाहरुको उजुरी अख्तियारमा पुगेपछि यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अगाडि बढाएको थियो, जसमा कार्की र बस्नेत दुबै परेका थिए ।

अख्तियारले आफ्नो छानविनका क्रममा कार्की र बस्न्यात समेतको यो मुद्दालाई अन्तिम छिनोफानो गरेन । पछि प्रमाण भेटिएमा सोही अनुसार हुने गरी भन्दै अख्तियारले कार्की र बस्न्यातको मुद्दा तामेलीमा राख्ने निर्णय गर्‍यो ।

अख्तियारको सो निर्णयमा लोकमानसिंह र दीप बस्न्यात लगायतका बारेमा यसो भनिएको छ- ‘पछि अन्य थप प्रमाण प्राप्त हुन आएमा सोही बखत पुनः अनुसन्धानलगायत कानूनबमोजिमका कारवाहीहरु हुने नै हुँदा हाल भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३५ बमोजिम निजहरुको अनुसन्धान कारवाहीको फाइल तामेलीमा राखिएको छ ।’

तर, अख्तियारले तामेलीमा राखेको फाइलको अन्तिम किनारा नलागिकनै कार्की र बस्न्यात उच्च नैतिकवान् व्यक्ति बस्नुपर्ने अख्तियारको नेतृत्व तहमा पुग्न सफल भए ।

अरुको मुद्दा हेर्ने अख्तियारका यी दुई अधिकारीको तामेलीमा रहेको मुद्दा थन्किएको १२ वर्ष बितिसकेको छ । यसवीचमा एयरपोर्ट काण्डको अर्को मुद्दामा लोकमानले सफाइ पाएको बताइए पनि यो मुद्दा चाहिँ तामेलीमा रहेको प्रमाण अहिले पनि अख्तियारको  १५ औं वार्षिक प्रतिवेदनमा मजाले पढ्न पाइन्छ ।

सम्पत्ति जाँचबुझ आयोगले कार्की र बस्न्यातको नाम अकूत सम्पत्ति आर्जन गर्नेको सूचीमा राखे पनि पर्याप्त प्रमाण नभेटिएको भनी आयोगले उनीहरुलाई केही समयका लागि फुर्सद दिए पनि पछि प्रमाण पाइएमा सोही बमोजिम हुने गरी भन्दै तामेलीमा राख्नु भनेको पूर्णरुपमा उनीहरू निर्दोष सावित नभएको  ठहरिँदैन।

कानूनका जानकारहरूका अनुसार तामेलीमा रहनु भनेको सो मुद्दा विचारधीन छ भन्ने नै हो । त्यसैले कार्की र बस्न्यातको अकूत सम्पति सम्बन्धी मुद्दा अझै पनि अख्तियारमा विचाराधीन नै छ भनेर बुझ्नुपर्ने हुन्छ ।

तर, अचम्मै छ, उच्च नैतिक व्यक्तिलार्इ नियुक्त गर्नुपर्ने अख्तियारमा  भ्रष्टाचार आरोपीहरूलार्इ कसरी ल्याइयो ? अहिले उनीमाथि महाअभियोग लागेको छ । उनी पदमुक्त भए भने यसबारे छानविन अघि बढ्न सक्छ र राज्यले उनको सम्पति छानविन गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?