Comments Add Comment

लोकमानलाई जोगाउन देउवामाथि दबाव, कांग्रेसले के गर्ला ?

अख्तियार प्रमुख कार्कीको पद नेपाली कांग्रेसको हातमा

sherbahadur deuba४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादीले दर्ता गराएको महाअभियोग प्रस्तावमा कांग्रेसको भूमिका के होला ? केन्द्रीय कार्य समिति बैठकमा जानै लाग्दासम्म कांग्रेसका केन्द्रीय सदस्यहरु अन्योलमा छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टीभित्रैबाट चर्को दवाब परेको छ । पार्टीको एउटा  तप्का लोकमानलाई जोगाउनुपर्ने पक्षमा छ भने अर्को तप्का महाअभियोग लगाएर उनलाई हटाउनुपर्ने पक्षमा छ । सभापति देउवा लोकमानबारे मौन देखिएका छन् ।

अब संसदले प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । तर, यसमा संसदको ठूलो दल नेपाली कांग्रेसको भूमिका के हुन्छ भन्ने धेरैको चासो छ । किनकि कांग्रेसले साथ नदिँदासम्म लोकमानविरुद्ध महाअभियोग लगाउन सम्भव छैन । लोकमानलाई अख्तियारबाट हटाउने कि थमौती गर्ने भन्ने अब लगभग नेपाली कांग्रेसकै हातमा छ । र, यसबारे आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ ।

लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको अगुवाइ गर्ने मध्येका एक एमाले प्रमुख सचेतक भानुभत्त ढकाल महाअधियोग प्रस्ताव गर्नुपूर्व कांग्रेससँग छलफल भएको दाबी गर्छन् । कांग्रेसले पनि यसमा साथ दिने एमाले र माओवादीका नेताहरुको दाबी छ ।

तर, कांग्रेसले अहिलेसम्म यसबारे बोलेको छैन । महाअभियोग प्रस्ताव दर्तापछि यसबारे सोध्दा कांग्रेसका धेरै नेताहरुले यसबारे कुनै छलफल नभएको बताउँछन् ।

के कांग्रेसले महाअभियोगमा साथ दिँदैन ?

नेपाली कांग्रेसका धेरै नेता तथा सांसदहरु लोकमानलाई महाअभियोग लगाउनुपर्छ भन्नेमा छन् । गगन थापा, धनराज गुरुङलगायतले डा. गोविन्द केसीको अनसनकै क्रममा यसबारे सदनमा छलफल होस् भनेर सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका थिए ।

प्रस्ताव दर्ता भएपछि स्वास्थ्यमन्त्री समेत रहेका थापाले प्रस्ताव दर्ता गर्नेहरुलाई धन्यवाद दिँदै भनेका छन् कि हामीले ऐतिहासिक राजनीतिक गल्ती सुधार गर्ने मौका पाएका छौं । यो पटक चुक्नु हुन्न ।

महाअभियोग प्रस्तावमा कांग्रेसको पनि सहमति छ भनिएको छ । तर, त्यस्तो कुनै छलफल भएको  छैन

धनराज गुरुङ लगायतका युवा नेता तथा सांसदहरुले पनि लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउन कांग्रेसले समर्थन गर्ने बताएका छन् ।

तर, उनीहरु पार्टीमा निर्णाक अवस्थामा छैनन् । पार्टी सभापति शेरबहादुर देउवासहितका निर्णायक नेताहरु अहिलेसम्म मौन छन् । कांग्रेसको मूल नेतृत्व र निर्णायक शक्ति महाअभियोगको पक्षमा खुलेको छैन ।

देउवानिकट एक प्रभावशाली नेताले महाअभियोग प्रस्तावलाई ‘कम्युनिस्टहरुको पोलिटिकल मूभ’को संज्ञा दिए । ‘यो पोलिटिकल मूभ हो,हाम्रो नेतृत्वले अहिले नै यसमा साथ दिने म देख्दिँन’ देउवा पक्षका ती नेताले भने ।

स्रोतहरुका अनुसार शीर्ष नेतृत्वलाई महाअभियोगको पक्षमा र विपक्षमा उभिन उस्तै दबाव छ । एमाले नेताहरुले बताए अनुसार महाअधियोग प्रस्ताव दर्ता गर्नु अघि भएको छलफलहरुमा पनि कांग्रेस सभापति देउवाले महाअभियोग भन्दा अदालतबाट टुंगो लागोस् भन्ने मत राखेका थिए ।

देउवानिकट एक नेता भन्छन्, महाअभियोग प्रस्तावमा कांग्रेसको पनि सहमति छ भनिएको छ । तर, त्यस्तो कुनै छलफल भएको मलाई थाहा छैन ।’

अघिल्लो सरकारका सत्ता सहयात्री एमाले र माओवादी मिलेर महाअभियोग प्रस्ताव दर्ता गरेकाले उनीहरु यसलाई शंकाको दृष्टिले हेरिरहेका छन् ।

अनौपचारिक सम्वादहरुमा केही नेता यसलाई दुई कम्युनिष्ट पार्टीको राजनीतिक मिसन हो कि भन्छन् भने केहीले यसलाई संविधान संशोधन लगायतका प्रक्रियालाई अलमल्याउने एमाले योजना त होइन भनेर प्रश्न गर्ने गर्छन् । एक नेताले भने, ‘हामी पार्टीमा छलफल गरेर आफ्नो धारणा ल्याउँछौं । तर, यो महाअभियोग प्रस्तावमा हाम्रो समर्थन नरहन पनि सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment