२१ कात्तिक, काठमाडौं । हुम्ला सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि पुगिन्छ, लिमी भ्याली । यो ठाउँ समुद्री सतहबाट तीन हजार ६ सय ६० मिटरको उँचाइमा अवस्थित छ । तिब्बती जीवनशैली रहेकोले लिमी भ्याली पर्यटकको रोजाइमा पर्छ ।
तीन वटा गाउँ हल्जी, तिल र जाँग मिलेर यो भ्याली बनेको छ । हल्जीमा ८२ घर छन् भने तिलमा ५२ र जाँगमा ६० घरपरिवार बस्छन् । एउटा गाउँबाट अर्को गाउँ पुग्न करिब तीन घन्टा लाग्ने गर्छ । यसमध्ये हाल्जी गाउँको प्रमुख आकर्षण हो, हल्जी गुम्बा । जुन हजार वर्षभन्दा पनि पुरानो मानिन्छ ।
लिमी भ्यालीका बासिन्दा घरैपिच्छे एक जनाको दरले रोजगारीको लागि चीनको ताक्लाकोट जाने गर्छन् । यस भ्यालीका बासिन्दाको मुख्य बाली जौं, गुलियो फापर र आलु हो । हल्जीको महत्वपूर्ण बाली भने ‘उवा’ हो ।
जाँगका अध्यक्ष नुर्बु लामाका अनुसार लिमी भ्यालीमा जाँगमा मात्र सडक पुगेको छ । त्यहाँ चीनसँगको लाप्चा नाकाबाट सामान ल्याउने गरिन्छ, जुन ३० किलोमिटरको दूरीमा छ । तिल भने हिल्सा नाकाबाट सबैभन्दा नजिक रहेको त्यहाँका अध्यक्ष थिन्ले तामाङ बताउँछन् । गाउँको विकासमा सडक सञ्जाल आवश्यक रहेकोले अहिले हिल्सातर्फ सडक खन्न लागिएको उनले बताए ।
प्रतिक्रिया 4