Comments Add Comment

सुजाताले एक करोड माग्दा पूर्वलडाकू भन्छन्- महिनामा एक बोरा चामल चाहियो !

टिप्पणीः कसले सिकायो यस्तो मगन्ते संस्कार ?

sujata-and-ladaku_810

२६ कात्तिक, काठमाडौं । देशमा यतिबेला माग्नेहरुको भीड छ । कोही एक करोड रुपैयाँ उपचार खर्च माग्दैछन्, कोही चाँहि जनयुद्धका बेला करङमा अड्किएका गोलीका छर्रा निकाली पाउँ भन्दै राज्यसँग हारगुहार गर्दैछन् । आलिशान महलमा बस्नेदेखि कमिलाकुटीसम्म सबैको नजर सरकारी ढिकुटीतिरै छ ।

नेपाल सरकार आफैं मगन्ते छ । तर, ऋणं कृत्वा घृतं पिवेत् भनेझै हामी यही मगन्ते सरकारसँग थप माग तेस्र्याइरहेका छौं । देशलाई केही दिनुपर्छ भन्ने त कोही पनि छैन । देशले मलाई दिएन भनेर गुनासो पोख्ने र माग्नेहरुको भीड बढिरहेको छ । कांग्रेसले पनि राज्यसँगै माग्न सिकाइरहेको छ । एमालेले पनि त्यसै गरेको छ । र, माओवादीले पनि आफ्ना कार्यकर्तालाई राज्यसँगै मागेर खान सिकाइरहेको छ ।

विहीबार दिउँसो नयाँ बानेश्वरस्थित होटल एभरेष्ट (हाल बन्द रहेको) अगाडि सडक पेटीमा करिब सयजनाको भीड देखियो । कालोपट्टि बाँधेर सरकारसँग माग्न बस्नेहरुमा अधिकांश महिला तथा वालवालिका थिए ।

कतिपय युवतीहरु बच्चालाई दूध चुसाउँदै थिए । छेउमा एउटा ब्यानर टाँगिएको थियो- ‘शान्तिपूर्ण धर्ना कार्यक्रम, आयोजक- बहिगर्मित जनमुक्ति सेना नेपाल ।’

disqualified-maiost-combatant-7
तीन दिनअघि माओवादी कार्यालय पेरिसडाँडा कब्जा गरेर आन्दोलनको घोषणा गरेका यी बहिर्गमित पूर्वलडाकूहरुको माग र पीडाबारे हामीले बुझ्ने कोसिस गर्‍यौं ।

प्रचण्डज्यू, गोलीको छर्रा निकाल्न पाऔं

हातमा कलम र डायरी बोकेको देखेपछि कालिकोटका कुलप्रसाद भट्टराई हामी नजिक आए । मुखमा कालो पट्टी लगाएका उनले आफ्नो कथा यसरी सुनाए-

मेरो गाउँका सबै युवा देश परिर्वतनका लागि भन्दै युद्धमा होमिएका थिए । विकट जिल्लामा बसेकाले होला, मलाई युद्धमा होमिने हुटहुटी चल्यो । ०५८ सालमा म घर छोडेर १४ वर्षको उमेरमा तत्कालीन माओवादीमा लागेँ ।

द्वन्द्वको समयमा सबैभन्दा धेरै युद्ध लड्नेमध्येमा म पनि पर्छु होला । ०५८ सालपछिका अधिकांश ठूला युद्धमा मैले गोली चलाएको छु । थानकोटको चौकी आक्रमणदेखि बैतडीसम्म । म्याग्दीको बेनी आक्रमणदेखि रुकुमको खारासम्म । म सबैतिर पुगेको छु । ती सबै युद्धमा लडेको योद्धा हुँ म ।

kul-prasad-bhattarai_-maobadi-ladaku

तर, अहिले मलाई अयोग्य भनेर हटाइएको छ । यो सबै प्रचण्डकै कारण हो । ०६० सालमा बेनीमा भएको लडाइँमा मलाई पनि गोली लाग्यो । मेरो करङमा गोली लागेको छ (घाउको डोब देखाउँदै ) करङको पातामा गोली अड्किएको छ । तर उपचार नपाएर दौडिइरहेको छु । आफ्नो गोजीबाट ४ लाख रुपैयाँ सकिइसक्यो, तर गोली निकाल्न सकेको छैन ।

युद्धकालमा थुपै्रपटक मैले प्रचण्डको सुरक्षाको जिम्मा सम्हालेको छु सुपि्रम कमाण्डरको अघि-पछि बन्दुक बोकेर हिँड्दा गर्व लाग्थ्यो । तर, अहिले सरकार माओवादी पार्टीकै नेतृत्वमा हुँदासमेत म छातीमा गोलीको छर्रा बोकेर हिँडिरहेको छु । मलाई अरु केही चाहिँदैन, यो गोली निकाल्न पाए हुन्थ्यो । कति दिन पीडा सहेर बसौं ?’

महिनामा एकबोरा चामल मिलाइदिए पुग्छ
रेश्मी शाही

विरोध प्रदर्शनको त्यही भीडमा भेटिइन् मुगु रिख्युकी रेश्मी शाही । उनको पीडा पनि कम दर्दनाक रहेनछ । बानेश्वरको सडकमा उनी यसरी पोखिइन्-

मुगुबाट ०६० सालमा युद्धका लागि निस्किँदा म १४ वर्षकी थिएँ । म बाध्यताले युद्धमा लागेकी थिएँ । राजाको दमन देखेर गएकी थिएँ । घरमा धेरैले गाली गरे । तर, देशका र परिर्वतनका लागि भन्दै म हिँडें । मैले आफनो कलिलो उमेर युद्धमा होमें ।

reshmi-shai_-maobadi-ladaku

सुरुमा रुकुम र रोल्पा गए पनि पछि म्याग्दी, अछाम र पिलीदेखि धनगढीसम्मका सबै मोर्चामा लडेकी छु म । ०६१ सालको खाराको कावाहीदेखि बेनी आक्रमणसम्म गोली चलाएको अनुभव छ । ०६२ साल असारमा बर्दियाको रामपुरमा म आफैं घाइते भएँ । मलाई बमले उडायो ।

अहिले मेरो दाहिने हात राम्रोसँग चल्दैन । शरीरका अंगहरु पनि ठाउँ ठाउँमा जलेका छन् । तर, अहिले यसरी सडकमा बस्नुपरेको छ । जनयुद्धले हामीलाई यही दियो ।

प्रचण्डसँग मेरो दुईपटक भेट भएको थियो युद्धका समयमा । दुबैपटक हामीलाई प्रशिक्षण दिन आएका थिए । तर, अहिले आफुलाई बस्ने महल पाएपछि हाम्रो योगदानलाई बिर्सिए । हामीलाई त्यस्तो महल चाहिँदैन, महिनामा एक बोरा चामल खाने व्यवस्था मिलाइदिए पुग्छ ।

समाजको व्यवहार देखेर मन खिन्न हुन्छ
तारा गुरुङ, ताप्लेजुङ

काखे शिशु च्यापेर विरोध प्रदर्शनमा बसिरहेकी थिइन् ताप्लेजुङकी तारा गुरुङ । राजनीतिमा लाग्दा उनी पनि १४ वर्षकी रहिछिन् । पाँच कक्षामा पढ्दापढ्दै ०५९ सालमा माओवादीमा लागेकी दुई सन्तानकी आमा ताराले आफ्नो व्यथा यसरी सुनाइन्-

tara-gurung_-maobadi-ladaku

हामी अलि सानै थियौं, त्यसैले सेन्ट्री बस्ने र भित्रको सुरक्षाको जिम्मा मात्रै दिएका थिए । मैले प्रचण्डलाई धेरैपछि मात्रै देखेकी हुँ बिराटनगरमा । त्यसपछि दोस्रो पटक धनगढीमा देखेँ । त्यतिबेला प्रचण्डको भाषण सुन्दा भविश्य यहीँबाट सुनिश्चत हुन्छजस्तो लाग्थ्यो । अहिले समाजमा समेत मुख देखाउन नहुने भएको छ । अयोग्य लडाकु भनेर हामीलाई कसैले काम पनि दिँदैनन् । समाजको व्यवहार देखेर मन खिन्न भएर आउँछ ।

राधाको प्रश्न- सुप्रिम कमाण्डरले नै लाठी हान्ने ?

आफूले जनयुद्धमा सुप्रिम कमाण्डर मानेका नेता प्रचण्ड प्रधानमन्त्री भएका बेला आफूहरुमाथि प्रहरी लगाएर लाठी प्रहार गरिएको भन्दै सुर्खेतकी राधा चँदराले दुःख बिसाइन् ।

पाँत वर्षीय छोरासँगै सडक पेटीमा धर्ना दिन राधा सुर्खेतबाट काठमाडौं आइपुगेकी रहिछिन् । उनले भनिन्- ‘आफूले सुप्रिम कमाण्डर मानेको व्यक्तिले नै प्रहरी लगाएर थुनेको सम्झिँदा मनै कस्तो-कस्तो हुन्छ ।’

‘आफ्नो कलिलो उमेरजति युद्धमा गयो, अहिले पार्टीका नेताहरु महलमा बसेर हामीलाई अयोग्य भन्दै लाठी हान्न लगाउँदैछन् ।’ राधाले हामीलाई प्रतिप्रश्न गरिन्- ‘मन कस्तो हुन्छ होला ? आफैं भन्नुस न ।’

disqualified-maiost-combatant-15

राधाले थपिन्- ‘पहिलोपटक सरकारमा जाँदा एमाले र कांग्रेसले काम गर्न दिएन भन्थे, होला त नि भनियो । तर, अहिले पनि उस्तै छ । हाम्रो बिल्लीबाठ बनाएर कति रमाउन सकेका ?’

बहिगर्मित लडाकूहरुको आन्दोलनमा देखिएका अधिकांशको माग लगभग एउटै थियो- ‘अयोग्य लडाकूको बिल्ला हटाइयोस् । र, जीवन धान्ने कुनै उपायको व्यवस्था गरियोस् ।’

टिप्पणीः कसले सिकायो मगन्ते संस्कार ?

विगतमा जनमुक्ति सेनाका सुप्रिमो रहेका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला प्रधानमन्त्री पदमा छन् ।

प्रचण्डसँग एकातिर विगतमा पार्टीलाई योगदान दिएका लडाकूहरुले एक बोरा चामल मागिरहेका छन्, अर्कातिर कांग्रेस नेतृ सुजाता कोइरालाका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधीले एक करोड रुपैयाँ मागिरहेका छन् । कसलाई दिने ? प्रचण्ड दोधारमा छन् ।

प्रचण्डले कुलप्रसादहरुको करङको छर्रा निकाल्न सहयोग गर्छन् वा देउवाको दबावमा परेर सुजाता कोइरालालाई ५० लाख दिन्छन् ? शायद गणतन्त्र ल्याउन योगदान पुर्‍याउने पूर्वलडाकूहरुले यस विषयलाई ध्यानपूर्वक हेरिरहेका होलान् ।

तर, माओवादी नेताहरुले आफ्ना कार्यकर्ता र लडाकूलाई माग्न मात्रै सिकाउँदा र दिन नसिकाउँदा अहिले थप समस्या परेको देखिन्छ ।

Pm-Prachanda

के माओवादीहरुले देशका लागि बलिदानी गरेका थिए या एकबोरा चामलका लागि ? के उनीहरुले एक/दुई लाख रुपैयाँ राहतका लागि जनयुद्ध लडेका थिए ? होइन भने अहिले किन उनीहरु यो कंगाल र गरीब राज्यको कल्चौडो दुहुन खोजिरहेका छन् ? किन उनीहरुले राज्यलाई केही दिन्छु तर माग्दिनँ भन्ने संस्कार देखाउन सकिरहेका छैनन् ? किन माओवादीहरुले सुजाता कोइराला भन्दा आफूलाई फरक देखाउन सकेका छैनन् ? यसको दोष प्रचण्डलाई नै जान्छ । किनभने उनले कार्यकर्तालाई बन्दुक बोक्नमात्रै सिकाए, समाजवादी संस्कार सिकाएनन् । त्यागको संस्कार सिकाएनन् । र, यसैको परिणाम भोग्दैछन् अहिले माओवादी नेताहरु ।

हाम्रो गरीब देशमा मगन्ते संस्कारको विकास भइरहेको छ । एक पोको चाउचाउ माग्न गाडी भाडा तिरेर बजार जाने र तीन घण्टा लाइनमा बस्ने संस्कारले जरा गाडेको छ देशमा । के यसैको ‘बाइप्रोडक्ट’ हैन पूर्वलडाकूले राज्यसँग मागिरहेको एक बोरा चामल ? यसको जवाफ दिने दायित्व अब प्रचण्ड सरकारकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment