+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जहाँ बन्दको कहिल्यै प्रभाव पर्दैन

गौरव पोखरेल गौरव पोखरेल
२०७३ कात्तिक २८ गते १७:३८
surunga-bazzar
झापाको सुरुङ्गा बजार

२८ कात्तिक, झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार नेपाल बन्द आहृवान गर्‍यो । विहानैदेखि देशका अधिकांश क्षेत्रको जनजीवन प्रभावित बन्यो । केही ठाउँमा बन्दको प्रतिकार समेत भयो ।

झापाको सुरुङ्गा बजारमा भने बन्दको कुनै प्रभाव परेन । अन्य दिनझैँ बजार खुल्लै थियो । सुरुङ्गा क्षेत्रभरि गाडी पनि चले । बजारमा मानिसको चहलपहल अरु दिनमा जस्तै थियो ।

सुरुङ्गाले आइतबार मात्र बन्दको प्रतिकार गरेको भने होइन । विगत १० वर्ष यता सुरुङ्गा बजार कहिल्यै बन्द भएको छैन । बन्द निषेधित क्षेत्रको रुपमा यो ठाउँले बेग्लै पहिचान बनाएको छ ।

आफ्नो अभियानमा सदैव अडिग छ सुरुङ्गाबजार । आन्दोलनकारीको डर र धम्कीबाट कदापी पनि पछि हटेका छैनन् सुरुङ्गाबासी । जस्तो सुकै परिस्थितिमा पनि सुरुङ्गावासी एकजुट भएर बन्द निषेधित क्षेत्रको परिचयलाई कायमै राखेका छन् ।

०६३ साल माघ २८ गते हतियारसहित पुगेका आन्दोलनकारीलाई सुरुङ्गावासीले धपाए । जुन साहस अझै उस्तै छ । त्यस दिन कनकाई नगरपालिका-१ का विष्णु ओली घाइते भए । बन्दविरुद्ध निस्किँदा उनी ११ दिनसम्म अस्पतालको आइसीयूमा बस्नु पर्‍यो । तर पनि उनी खुशी थिए । किनकी बन्द निषेधित क्षेत्र अभियान सफल भएरै छाड्यो ।

सुरुङ्गावासीका लागि यो गौरवको विषय भएको स्थानीय बनाउँछन् ।

विर्तामोडमा बन्दको प्रतिकार

आइतबार बन्दमा देशैभर सवारी साधन चलेनन् । मोटरसाइकल, प्रेस, अस्पताल लगायतका अत्यावश्यक सवारीहरु भने चले । केही बन्दकर्ता पक्राउ पनि परे । देशका विभिन्न स्थानमा बन्दविरुद्ध प्रदर्शन समेत भयो । झापाको विर्तामोडका युवाहरु समेत बन्दको विरुद्धमा स्वतः स्फूर्त रुपमा प्रदर्शनमा उत्रिए ।

नेपाल खुल्ला छ, खुल्लै राखौं, बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं, छलफलले समाधान निकाल्छ, बन्दले देश बर्बाद गर्छ, युवा अब जाग्नैपर्छ, बन्दको प्रतिकार गर्नैपर्छ जस्ता प्ले कार्डसहित युवाहरु आइतबार विहानैदेखि सडकमा शान्तिपूर्ण र्‍यालीमा सहभागी भए ।

बिर्तामोडमा सयौं युवाको सहभागितामा मुक्ति चोकबाट बन्दको प्रतिकार गर्दै र्‍याली निकालिएको थियो । र्‍याली भद्रपुर रोड, पश्चिम बस स्ट्याण्ड, शनिश्चरे रोड, कृषिथोक रोड, इलाम स्ट्याण्ड हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
यस्तै, दमकमा विवेकशील नेपालीको नेतृत्वमा बन्दविरुद्ध प्रतिकार र्‍याली निकालियो ।

गणतन्त्र चोकमा एक घण्टा मौन बसेर सुरु गरिएको र्‍याली थाना रोड, फाल्गुनन्द चोक, बेलडाँगीरोड हुँदै दमक परिक्रमा गरी गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको विवेकशील नेपालीका सरोज सत्यालले बताए । बन्दविरुद्ध प्रर्दशन गरेका युवालाई प्रहरीले सुरक्षा दिएको थियो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?