Comments Add Comment

मन्त्री पाण्डेले नेपाली जनताको गाँस खोसेर अमेरिकामा किने महल !

प्रचण्डसँग खोटाङबासीको मागः 'ठेकेदार मन्त्री'लाई कारवाही होस्

bikram-pandey
भूमिसुधार मन्त्री विक्रम पाण्डे

१ मंसिर, काठमाडौं । गाउँमा बाटोघाटो, पुल लगायतका कुनै पनि विकास निर्माणका काम भएनन् भन्दै जनताले रोईकराई गरिरहेका बेला एक जना बहालवाला मन्त्रीले नेपाली जनताको विकास बजेट मासेर अमेरिकामा महल ठड्याएको खुलासा भएको छ ।

नेपाली जनताले कर तिरेको पैसाबाट अकूत कमिसन बटुलिइरहेका कालिका कन्स्ट्रक्सनका मालिक एवं बहालवाला भूमिसुधार मन्त्री विक्रम पाण्डेको अमेरिकाको मेरील्याण्डस्थित ह्वाइट मार्समा भव्य महल र मंहगो गाडीसमेत खरीद गरेको रहस्योद्घाटन भएको हो ।

मन्त्री पाण्डेका श्रीमती र छोरा अमेरिका जाँदा त्यही घरमा बस्ने गरेका छन् । पाण्डेका परिवारका साथै उनीसँग पनि अमेरिकी ग्रिनकार्ड रहेको उनकै पार्टी राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

मन्त्री पाण्डेले नेपालमा विभिन्न विकास आयोजनाहरुको ठेक्का हात पार्ने गरेका छन् । यसरी विकास आयोजनाहरुबाट करोडौं रुपैया कुम्ल्याएर विकासका कामहरु नगरी त्यही पैसाले पाण्डे परिवारले अमेरिकामा घर किनेको स्रोतले बतायो ।

bikram-pandey-and-his-son-at
अमेरिकास्थित घरमा छोरासँग मन्त्री पाण्डे

विकास बजेटमा पाण्डेले कमिसन खाएको र काम नगरेको धेरैवटा उदाहरण छन् । मन्त्री पाण्डेले कालिका कन्स्ट्रक्सनका नाममा खोटाङस्थित दूधकोशीको पुल ठेक्कामा लिएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म बनाएका छैनन् । आफू ‘क’ वर्गको ठेकेदार भएकाले पाण्डेले पुलको ठेक्का आफ्नो नाममा पारेर कमिसन खाएका छन् । तर, उनले काम भने गरेनन् ।
स्रोतका अनुसार मन्त्री पाण्डेले मन्त्रालय र सडक विभागका कर्मचारीहरुलाई घुस दिएर देशैभरिको ठेक्का आफ्नो नाममा पार्ने र सहीमात्रै गरेवापत करोडौं कमाउने गरेका छन् । आफूले हस्ताक्षरमात्रै गरेका भरमा कमिसन खाएर कामचाँहि ‘ज्वाइन्ट भेन्चर’मा नाम हालिएको स्थानीय पार्टनरलाई दिने विक्रमको कार्यशैली हो ।

खोटाङको जयरामघाट पुलमा पनि पाण्डेले यसैगरी गोल्छा समूहको थाप्लोमा काम जति हालेर पुलको ठेक्कामा लुट मच्चाएको खोटाङे जनताको गुनासो छ ।

जयराम घाटको पुल ०६६ असार २३ गते निर्माणको सम्झौता भएको थियो । सो सम्झौतामा ठेकेदार पाण्डेले ०७० मंसीर १५ गतेसम्म काम सम्पन्न गर्ने भन्दै सरकारी बजेट झ्वाम पारेका थिए । तर, ०७० सालमा बन्नुपर्ने पुल अहिलेसम्म बनेको छैन । यसवीचमा अमेरिकामा घर किनिवरि पाण्डे भूमिसुधार मन्त्री बनिसकेका छन् । पाण्डेको विज्ञता ठेक्कापट्टा र कमिशनखोरी हो । तर, उनले जिम्मेवारी लिएका छन् देशको भूमिसुधार मन्त्रालयको ।

मन्त्री पाण्डेको कालीकाले ठेक्का लिएको मोरङको खोर्साने-केराबारी सडक बनाई नसकी खाल्डो परेको छ । स्थानीय जनताले गुनासो गर्दा पनि सो सडकको जवाफदेहिता कसैले लिएको छैन । त्यसैगरी पश्चिम नेपालमा पनि पाण्डेले ठेक्का लिएका विभिन्न विकास आयोजनाहरु बनेका छैनन् । र, कतिपय बनेका पनि कमिसनको खेलमा गुणस्तरहीन छन् ।

प्रधानमन्त्रीले सचिवलाई भने, सचिवले डीजीलाई

यसैवीच खोटाङ-ओखलढुंगा जोड्ने दुधकोशी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रसरता लिएका छन् । बुधबार प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राखे ।

prchand-about-jayaramghat

जयरामघाटबारे प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको छलफलमा सहभागीहरु । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिबहरि सापकोटा र सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिए । तर, प्रधानमन्त्रीले त्यहाँ ठेकेदार मन्त्री पाण्डेलाई भने बोलाएनन् ।

प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने खोटाङका स्थानीयबासीको गुनासो सरकारी अधिकारीहरुलाई स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउन निर्देशन दिए ।

प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । तर, सचिवले मन्त्रीलाई कसरी सचेत गराउलान् र निर्देशन देलान् ? त्यो चाँहि हेर्न बाँकी छ ।

प्रधानमन्त्रीको निर्देशनपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक विभागका डीजीलाई जयरामघाट पुलबारे तदरुकता देखाउन डीजीलाई निर्देशन दिएका छन् ।

प्रचण्ड खोटाङ पुग्दा कसले के भने ?

यसैसाता विकास आयोजनाहरुको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड खोटाङ पुगेका थिए । त्यहाँ पनि जयरामघाट पुलका बारेमा कुरा निस्कियो । त्यहाँ एमाले सांसद पाँचकर्ण राईले यसो भने-

panch-karna-rai
एमाले सांसद पाँचकर्ण राई

‘हामी खोटाङेहरु यतिधेरै सम्भावनाको वीचमा रहेका छौं । तर हामीलाई ठुल्ठुला चुनौतीहरुले अहिलेसम्म थिचिरहेको छ । ठुल्ठुला पहाडले अझै पनि हामीलाई थिचिरहेको छ । हामी खोटाङेहरुले सुनकोशी छिचोलेर आउनका लागि १४ वर्ष लाग्यो । १४ वर्षमा हामीले एउटा पुल निर्माण गर्‍यौं । अब ८ वर्ष भयो, सदनमा पुगेदेखि शून्य समय र विशेष समयमा सहभागी भइयो । चुनाव गर्ने सरकबारका भौतिक पूर्वाधारमन्त्री छविराज पन्तदेखि विजयकुमार गच्छदारहुँदै रमेश लेखकसम्म हामीले खेपिरहेका छौं, झेलिरहेका छौं । हामी खोटाङेहरुले आशा गरेका छौं, ८ वर्षदेखि बन्न नसकेको जयरामघाटको पुल खोटाङेहरुको दुखका रुपमा रहिरहेको छ । म प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु ।

जयरामघाट पुलको ठेक्का लिएको कालिका कन्स्ट्रक्सनको सञ्चालक माननीय मन्त्रीसमेत हुनुहुन्छ । म उहाँको नाम उच्चारण गर्न चाहन्न, म उहाँलाई सम्मान व्यक्त गर्न चाहन्छु । म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू, कालिका कन्स्ट्रक्सनका ठेकेदार अनि गोल्छालाई जनतालाई साक्षी राखेर भन्न चाहन्छु यदि अबको ६ महिनाभित्र जयराम घाटको पुल बन्न सकेन भने हामी संघर्षमा उत्रिन बाध्य हुनेछौं । हामीले हिजो पनि आन्दोलन गरेका थियौं, लठ्ठी खाएका थियौं, अब सिंहदरबार खोटाङे जनताले घेर्नेछन् । यो जयरामघाट पुल अविलम्ब निर्माणको पहल गर्न म प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु । ‘

प्रचण्डले दिए कारवाहीको निर्देशन

prachanda-at-khotang
प्रधानमन्त्री प्रचण्ड खोटाङमा पुगेका बेला भेला भएका स्थानीयबासी

पाँचकर्णले कालिका कन्स्ट्रक्सनका ठेकेदारलाई कारवाही गर्न भनेपछि प्रधानमन्त्री प्रचण्डले दिक्तेलवासीलाई सम्बोधन गर्दै यसो भने-

‘जयरामघाटको पुल यस जिल्लाको समग्र विकासको दृष्टिकोणले अलिकति रणनीतिक अर्थ राख्ने पुल हो । त्यो बनिसक्नुपथ्र्यो । ठेकेदारहरुको वीचको केही न केही अन्तरविरोधका कारणले वा समस्याको कारणले यो ढीलो भएको हो भन्ने कुरा मैले बुझेको छु । म यहाँ के विश्वास दिलाउन चाहन्छु भने मेरै मन्त्रिमण्डलमा रहनुभएका एकजना मन्त्री जो, यसको ठेकदार पनि हुनुहुन्छ, र, अन्य ठेकेदारहरुलाई पनि मैले यहाँ सचिवजीलाई अहिले भर्खरै कुरा गरिसकेको छु कि काठमाडौं जानेवित्तिकै यी दुबैलाई बोलाएर कुराकानी गर्ने र यसलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन गर्ने । यो विश्वास म दिलाउन चाहन्छु कि यो मेरो जिम्मेवारी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment