३ मंसिर, सप्तरी । प्रधानन्यायाधीश सुशीला कार्कीले जहाँ पायो त्यही समानुपातिक-समावेशी लागू गर्दा समस्या आउने बताएकी छन् ।
सप्तरीको छिन्न्मस्ता शक्तिपीठमा पूजापाठ गर्न आएकी प्रधानन्यायाधीश कार्कील राजविराजमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कार्कीले भनिन्, ‘समावेशी, समानुपातिक लागू हुनुपर्छ । तर, पढेलेखेका योग्य व्यक्तिहरुलाई पनि हेर्नु जरुरी छ ।’
छोरी बुहारीलाई नपढाउने, घुम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्नु ठीक हुँदैन, प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘समावेशीका लागि योग्यता हासिल गर्नु पनि आवश्यक छ ।’
प्रधानन्यायाधीश कार्कीले मुद्दा हार्यो कि न्यायाधीशले घूस खायो भन्ने चलन बढेको बताइन् । अहिले यो भनाइ हाम्रो मुलुकमा बढेको र खासगरी तराई क्षेत्रमा धेरै बढेको उल्लेख गरेकी छन् ।
न्यायालयमा भ्रष्टाचारको हावा पनि बग्ने गरेको भन्दै उनले भनिन्, ‘न्यायालयमा कहिलेकाहीँ भ्रष्टाचारको हावा पनि बग्ने गर्दछ । यो हावामा राम्रा छवीका न्यायाधीशमाथि समेत आरोप लाग्ने गरेको छ ।’
यद्यपि भ्रष्टाचारबाट न्यायालय अछुतो नरहेको भन्दै उनले भनिन्, ‘कुनै तलाउमा एक मरेको भ्यागुतो परेकै आधारमा पुरै तलाउ गन्हाउँदैन् । यसैले सबैलाई दोषी भन्न मिल्दैन् ।’
न्यायालयमा राजनीतिक प्रभावबारे सोधिएको प्रश्नमा प्रधानन्यायाधीश कार्की अहिले मुलुकमा राजनीतिबाट कोहि पनि अछुतो नरहेको बताइन् । यद्यपि राजनीतिको प्रभाव न्याय क्षेत्रमा नपरेको उनको दाबी छ ।
राजनीति क्षेत्रका व्यक्तिहरु पनि न्यायायीक क्षेत्रमा आउन सक्ने बताउँदै उनले भनिन्, ‘यो क्षेत्रमा आएपछि राजनीतिक विचार बन्द गर्नु जरुरी छ ।’ कार्कीले भारतमा एक जना मन्त्री भइसकेका व्यक्ति पनि प्रधानन्यायाधीश बनेको दृष्टान्त प्रस्तुत गरिन् ।
प्रतिक्रिया 4