Comments Add Comment

यसरी सिलसिलेवार पड्किए साहारा ग्यासका सिलिण्डर

शिव घिमिरेको उद्योगमा न अनुगमन, न छानबिन

sahara-gas-blast
पड्किएका साहारा ग्यासका सिलिण्डर

१३ मंसिर, हेटौंडा । गत कात्तिक १० गते कान्तिराजपथस्थित नापी कार्यालय मकवानपुरमा साहारा ग्यास सिलिन्डर बिष्फोट भयो । आगलागीपछि भागदौड हुँदा कार्यालयमा सेवाग्राहीसहित ४० जना भन्दा बढी घाइते भए । नापी कार्यालयका महत्वपूर्ण कागजपत्रसहित सोही घरमा रहेका हार्डवेयर पसल र होटेल पनि लाखौंको क्षति भयो ।

गत मंसिर ६ गते पनि हेटौंडाको मेनरोडस्थित ललन साहको खाजा होटलमा साहारा ग्यास सिलिन्डरबाटै आगो सल्कियो । यो घटनामा पनि केही व्यक्ति घाइते भए र झण्डै ६ लाख बराबरको क्षति भयो ।

आइतबार बिहान पनि हेटौंडा-४ कर्राका डिल्लीप्रसाद रिजालको घरमा साहाराकै सिलिन्डरबाट ग्यास लिक भयो र आगलागीको घटना भयो ।

नापी कार्यालयमा आगलागीको घटनापछि साहारा ग्यासबाट त्रास सुरु भएको थियो । त्यसपछि लगातार साहाराकै ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना भएका छन् । त्यसैले उपभोक्ताले पनि साहारा ग्यास किन्नै छाडेका स्थानीय बिक्रेताहरु बताउँछन् ।

hetauda-napai-aaglagi
हेटौंडाको नापी कार्यालयमा साहारा ग्यास सिलिण्डर पड्किएर लागेको आगो

‘घटना लुकाउँदै प्रहरी’

हेटौंडा-४ कर्राका डिल्लीप्रसाद रिजालकी श्रीमती पवित्राका अनुसार नयाँ सिलिन्डर जोड्दा रेगुलेटर खोल्न नपाई सिलिन्डरको तल्लो भागदेखि आगो बलेको थियो । ‘आगो लागेलगत्तै सिलिन्डरलाई बाहिर ल्यायौैं, एकछिन मै दमकल आएर निभायो, ठूलो क्षतिबाट जोगियो,’ पवित्राले भनिन् । सिलिन्डरलाई भान्सा कोठाबाट बाहिर ल्याउने क्रममा डिल्लीप्रसाद रिजालको हात जलेको छ ।

आइतबारको यो घटनालाई प्रहरीले बाहिर ल्याएको थिएन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बामदेव गौतम ठूलो क्षति नभएकाले घटना सार्वजनिक नगरिएको बताउँछन् । स्थानीय भने प्रहरीले घटनालाई लुकाउन खोजेको दाबी गर्छन् ।

न अनुगमन, न छानविन

यसअघि ०६६ सालमा हेटौँडा-८ कमाने जमुना सापकोटाको घरमा साहारा ग्याँस पड्कीँदा करिब ५ लाख बराबरको क्षति भएको थियो । ०६७ सालमा हेटौँडा-४ हुप्रचौरस्थित कृष्णराज कोइरालाको ‘कम्रेडको भाजा पसल’मा साहारा ग्यास लिक भएर आगो लागेको थियो ।

lalan-saha-khaja-pasal
साहारा ग्यास सिलिण्डर पड्किएर ललन साहको खाजा पसलमा लागेको आगो

यसरी पछिल्ला दिनमा साहारा ग्यासका सिलिन्डरमा समस्या देखिएको छ । तर, यसबारे आवश्यक छानविन तथा अनुगमन गर्न कुनै सरकारी निकायले चासो देखाएका छैनन् । यसले उपभोक्तालाई थप त्रासमा पारेको छ ।

ग्यास उद्योगको प्रमुख नियामक निकाय नेपाल आयल निगम यी सबै घटनाबारे जानकारी नभएको दाबी गर्छ । आयल निगमका ग्यास विभागका प्रमुख दीपक बरालले साहाराको सिलिन्डरमा समस्या देखिएकोबारे कुनै जानकारी नआएको बताए ।

अन्य अनुगमन गर्ने सरकारी निकायले पनि यि घटनालार्इ नसुनेको जत्तिकै गरेर टारिरहेका छन् । घटनाहरूको छानविनको विषयमा स्थानीय प्रशासन पनि माैन छ ।

शिव घिमिरेकाे उद्योग !

बसामाडीमा बोटलिङ प्लान्ट रहेको साहारा ग्यास उद्योग शिव घिमिरेको हो । घिमिरे नेपाल ग्यास उद्योग संघका अध्यक्ष हुन् । घिमिरे तिनै व्यक्ति हुन् जो फुटरिङ (पुराना ग्यास सिलिण्डरको पिँध काटेर नयाँमा जोड्ने) काण्डमा मुछिएका थिए । उनी सुगम, एभेरष्ट लगायतका ग्यास उद्योगका पनि मालिक हुन् ।

साहारा ग्यास उद्योगले नापी कार्यालयमा आगलागीको घटनामा घाइते भएकाहरुलाई उपचार खर्च उपलब्ध गराउन समेत उनले आनाकानी गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बल्ल उद्योगले घाइतेको उपचार रकम बेहोरेको थियो ।

घिमिरेकै स्वामित्वको साहारा ग्यास सिलिन्डरमै समस्या हो कि उपभोक्ताले हेलचेक्र्याँइ गर्दा घटना भएको हो भन्नेबारे पनि अध्ययन हुन जरुरी देखिएको हेटौंडाका स्थानीय बताउँछन् । तर, उद्योगले ग्यास सिलिन्डरको हाइड्रोलिक टेष्ट गरे/नगरेकोबारे बुझ्न पनि प्रशासनले चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment