Comments Add Comment

नेपालले छिमेकीको चित्त दुखाउने ठाउँ दिँदैन

छिमेकीले धानको भात खाएको किन रीस गर्ने ?

kp oli (1)

मैले सपथ ग्रहण गर्दा भारतसँगको सम्बन्ध तनावपूर्ण थियो । यति तनावपूर्ण कि नाकाबन्दी नै थियो । म प्रधानमन्त्री भएपछि नाकाबन्दी पनि खुल्यो । मारामार पनि सिद्धियो । नाकाबन्दी खुलेर म स्टेट भिजिटकै स्टाटसमा भारत भ्रमणमा गएँ । महत्वपूर्ण ऐतिहासिक सन्धीसम्झौताहरु भएका छन् भारतसँग ।

अहिले पनि म केही विद्वानहरुले लेखेको देख्छु, कहिल्यै पनि कुनै सम्झौता नेपालको पक्षमा हुँदै भएनन् । भएको छ । म प्रधानमन्त्री भएर, भारत गएर गरिएका सम्झौता नेपालको पक्षमा छन् । विशाखापटनम बन्दगाह, बंगलादेशको पोर्ट प्रयोग गर्नका निम्ति बंगलाबन्दको बाटो प्रयोग गर्नु नेपालको हितमा छ । किन हुँदैन नेपालको पक्षमा सम्झौता ?

कुन बन्दरगाह कसरी गर्ने भन्ने कुरा त्यसको प्रोटोकोल अगाडि बढाउन जरुरी छ । बंगलादेशसँग पनि कुरा गर्न जरुरी छ । तर, भारतसँग हामीले कुरा गर्‍यौं । कतिपय एग्रिमेन्टमा नपुगेका कुराहरु पनि प्रोसेसमा अगाडि बढेका थिए । चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट एगि्रमेन्ट भयो । रेल्वे कनेक्सन, बाटो बनाउने कुरा, कनेक्टिभीटी ।

संयुक्त विज्ञप्ति किन जारी भएन ?

श्राद्ध गर्न विरालै बाध्नुपर्ने कुनै जरुरी छैन । कसैले बिरालो बाँधेर श्राद्ध गर्छन्, कसैले नबाँधी गर्छन् ।

संयुक्त विज्ञप्ति जारी गर्ने भन्ने कुरा थियो । मैले के भनें भने पहिले त सञ्चार यति सबल थिएन, अहिले त बाटोमा हिँड्दा हिँड्दै ढुंगो खोज्दा देउता भेटिन्छ, छोराले फेसबुकमा हाल्दिन्छ । मोदीले प्रेस अगाडि राखेर हाम्रो उपस्थितिमा बोलेको कुरा दुनियाँले लाइभ हेरिराखेको छ । केके एग्रिमेन्ट भयो पनि भनिएको छ ।

मैले त्यहाँको व्यापारिक समुदायसँग अन्तरक्रिया गरें, सबै लाइभ छ । मैले एउटा मिट द प्रेस गरें, लाइभ छ ।

राष्ट्रपतिजीसँग भेट भो लाइभ छ । उपराष्ट्रपतिसँग भेट भो, लाइभ छ । मोदीजीले के सम्बोधन गर्नुभो, लाइभ कास्ट छ । मैले के गरें, लाइभ छ ।

मैले कुनै पनि कुरो चर्चाका लागि, टिप्पणीका लागि गर्ने गरेको छैन । मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहीँ चिप्लिनेखालको छैन

तपाईहरुले ध्यान दिएर हेर्नुभयो भने सबै अवस्थामा विज्ञप्ति आउँदैन । विज्ञप्ति जानकारी गराउनका लागि जारी गरिने कुरा हो । के के भो, भन्ने कुराको विवरण । विज्ञप्ति भनको त्यही हो । एउटा मिटिङ भइसकेपछि त्यो मिटिङले के के गर्‍यो त भनेर विज्ञप्ति जारी गरिन्छ । त्यो जानकारी गराइन्छ ।

यो सबै कुरा जानकारी गराइसकिएको छ, यदि विज्ञप्ति जारी गर्ने हो भने एउटा कुरा, यद्यपि सुष्माजीले स्पिचमा भन्नुभएको थियो, मोदीजीले आफ्नो स्पिचमा यो ऐतिहासिक उपलब्धि हो भन्नुभयो । तर, नेपाली जनताचाँहि सुन्न के खोज्छ भने भारतले नेपालको संविधानसभाबाट जारी गरिएको संविधानलाई हार्दिक स्वागत गर्‍यो भन्ने सुन्न ईच्छा गर्छ नेपाली जनता । यो संयुक्त विज्ञप्तिमा यो वाक्यांश राख्ने हो भने सार्थक हुन्छ, त्यो राखेर जारी गरौं । उहाँहरुको ‘यो शब्द त्यसो गरी नराखौं कि’ भन्ने थियो ।

त्यसरी नराख्ने हो भनेदेखि त अरु कुराहरु सबै आएकै छन् । नेपाली जनताले जानकारी पाउन बाँकी के थियो भने हार्दिक स्वागत गर्दछ भन्ने कुरा सुन्ने । त्यति बाँकी थियो । त्यसो भएको भए विज्ञप्तिको अर्थ हुन्छ, नत्र यत्तिकै बिरालो त किन बाँध्ने ?

फेरि यो ठूलो अर्थको कुरो छैन । विभिन्न देशका कार्यकारी प्रमुखहरु आउँदा अनिवार्यरुपमा संयुक्त विज्ञप्ति जारी हुन्छ भन्ने छैन । उहिले उहिले थियो, अहिले छैन । ओबामा आउनुभएको थियो भारतमा । शायद, म जहाँसम्म सम्झिन्छु, विज्ञप्ति जारी भएको थिएन । जति भयो पब्लिक भयो ।

मैले कुनै पनि कुरो चर्चाका लागि, टिप्पणीका लागि गर्ने गरेको छैन । मेरो जुत्ताको तलुवा जहाँ टेक्यो, त्यहीँ चिप्लिनेखालको छैन । २५ बुँदे, २७ बुँदे जारी गरेको भए पनि त्यहाँ चिप्लिने हुँदैनथ्यो ।

एगि्रमेन्टमा नभएका कुरा, थप कुरा गर्नुपर्‍यो भने विज्ञप्ति जारी हुन्छ । जस्तो मैले चीन भ्रमणका बेलामा भयो । के म भारत भ्रमणमा गएको रेकर्ड छैन र ? पब्लिकले पाएन रेकर्ड ? आधिकारिक पायो । सप्पै । मोदीजीले बोल्नुभएको छ, मैले बोलेको छु, सुष्माजीले बोल्नुभएको छ । एग्रिमेन्ट भएको छ ।

‘ननपेपर’ मलाई बुझाएको हो, भारतलाई हैन

Kamal-thapa-and-Sushma-Swaraj
केपी ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री कमल थापा भारतीय समकक्षी सुष्मा स्वराजसँग ।

कुनै ननपेपर, सो कल्ड ननपेपर मेरो प्रधानमन्त्रीत्वकालमा भारत वा अन्य कुनै छिमेकी वा अन्य कुनै देशलाई बुझाइएन ।

अर्को हाम्रा आन्तरिक मामिलामा मैले कसैलाई कसैसँग यो तपाईको मामिला होइन, हाम्रो मामिला हो, आन्तरिक मामिलामा कुरा नगर्नोस् भनेको छ ।

ननपेपर होइन, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री कमल थापा भारतमा जानुभएको थियो । उहाँले त्यहाँ भएका कुरा आएर भन्नुभो । मैले रिटनमा दिनोस्, फेरि बिर्सिन्छ भनें । उहाँले के-के कुराहरु उठाउनुभयो, त्यो लेखेर दिनुभयो ।

उहाँले यहाँ आएपछि मलाई नोट गरेर दिएको हो, त्यो मैले सरकारमा सहभागी र अरुलाई पनि दिएँ । उहाँले लेखेर दिएको मैले प्रचण्डजीलाई दिएँ । अरुले पनि लिए होलान् । त्यसलाई ननपेपरका रुपमा बिजनेश गरियो । त्यो ननपेपर होइन । वहाँ पठाएर गरिएको कुरा पनि होइन । त्यो त्यस्तो कुनै प्रस्ताव नै होइन । कुनै भ्रम नरहोस् । विद्वानहरु पनि लेख्ने गर्छन, ननपेपर भनेर । तर, त्यस्तो होइन ।

धानको भात खाएको रीस गर्ने ?

यो एक्काइशौं शताब्दी हो । यो एक्काइशौं शताब्दीमा मेरो घरमा धानको भात पकाएर खाने दिन आउने भो, किनभने मैले पनि एउटा गरो बनाएर धान लगाएँ भनेपछि छिमेकी रिसाउँछ भन्ने कस्तो धारणा हो ? मैले सधैं मकैको खान्थें, कोदो फापर खान्थें, अहिले एउटा धानको सुर्को लगायो, आउँदो हिउँददेखि यसले पनि धानको भात पो खाने भो भनेर छिमेकी रिसाउँछ भन्ने ? रिसाउँछ कि रिसाउँदैन, तर रिसाउँछ भन्ने यो कस्तो पर्सेप्सेन हो ?

हामी कसैको पनि आन्तरिक मामिलामा हात हाल्न, खेल्न चाहँदैनौं । उहाँहरुको उन्नति होस् । प्रगति होस्

नेपालले छिमेकीको चित्त दुखाउँदैन

एउटा कुरा म भन्न चाहन्छु, कसै पनि छिमेकीहरुसँग केही पनि माग छैन । सके राम्रैसँग केही गरे भो । सक्नुहुन्न भने छोड्दिए भो नि हामीलाई चुप लागेर । हामी गरिखान्छौं । गरीखान्छौंं हामी । दुख नदिए भो । हात नहाले भो । हामीलाई सके सहयोग गनुहोस्, नसके दुख नदिनोस् । हात नहाल्नोस् । हाम्रो कुनै छिमेकीहरुसँग म खुल्ला प्रश्न गर्न चाहन्छु । कसैसँग हाम्रो माग छैन । कुनै देशले भन्दियोस् हाम्रा छिमेकी मित्रहरु ! अरु कसैले नेपालको यो माग अनुचित छ, यो हामीमाथिको ज्यादती हो भनेर कुनै मागको सन्दर्भमा कुनै मित्रहरुको छन् केही भनाइ ? हाम्रा कुनै आग्रहहरु, हाम्रा दृष्टिकोणहरुले उहाँहरुलाई कुनै अप्ठ्यारो पारेको छ ?

हामी कसैको पनि आन्तरिक मामिलामा हात हाल्न, खेल्न चाहँदैनौं । उहाँहरुको उन्नति होस् । प्रगति होस् । हामी शुभकामना दिन्छौं, सके हामी सहयोग पुर्‍याउन चाहन्छौं । उहाँहरुको जे-जे कन्सर्न छ, तिनीहरुलाई हामीले सम्वोधन गर्छौं । यसमा कुनै छिमेकी मित्रहरुले चित्त दुखाउने कुनै ठाउँ नेपालले दिँदैन ।

(आइतबार राजधानीमा सम्पादकहरुसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीबाट व्यक्त विचारको सारसंक्षेप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment