+
+
Shares

प्रिय पुस्तक: कविताको धुरन्धर प्रेम

उमेश अकिञ्चन उमेश अकिञ्चन
२०७३ माघ २२ गते १०:२६

एक समय थियो, विशुद्ध पाठकको रुपमा पढियो । पढुन्जेल मदमस्त आनन्द उठाउने सोच मात्र राखियो । पछिल्लो समय भने पठनको उद्देश्य बदलिएको छ । आफू पनि लेख्ने भएकोले राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा कसरी लेखिँदो रै’छ भनेर विधि, प्रविधि र समाज बुझ्न पढिन्छ ।

यस हिसाबले पठनलाई म लेखनको पूर्वशर्त नै मान्छु । रेशम कीराले किम्बुको पात जति खान्छ, त्यति नै उसले राम्रो रेशम दिन सक्छ । त्यसैगरी राम्रो सिर्जनाको दृष्टिले पठन आवश्यक हुन्छ । अरुले कसरी लेखिरहेका छन्, समसामयिक विषयहरुलाई कुन रुपमा प्रस्तुत गरिरहेका छन् भन्ने कुरा पढ्दा आफूलाई परिमार्जन गर्न मद्दत मिल्छ ।

त्यसो त किताब नै पढ्नुपर्छ भन्ने पनि छैन । आम मान्छे र प्रकृतिका कुरा अध्ययन गरेर पनि धेरै कुरा बुझ्न सकिन्छ ।

मेरो विचारमा साहित्य सिर्जना गर्न मुख्य तीन कुराको प्रभाव चाहिन्छ । पहिलो, प्राकृतिक रुपको प्रभाव चाहियो । दोस्रो, आम मान्छेका दुःख र भोगाइका कुराबाट विषय निकाल्ने । तेस्रो, कुनै किताब पढेर प्रभाव ग्रहण गर्ने ।

पढ्ने किताब र विषय यस्तै हुनुपर्छ भन्ने मेरो निश्चित शर्त छैन । तर, सकारात्मक, नयाँपन भएको, जीवनवादी र यथार्थपरक कुरा पढ्न मलाई मन पर्छ । मुख्य कुरा कलात्मक हुनुपर्‍यो । कुनै प्रस्तुतिले राम्रो होला, कुनै विषयले राम्रो होला ।

समग्रमा जीवनलाई सकारात्मक बाटोतिर दिशानिर्देश गर्ने खालका किताब पढ्न रुचाउँछु ।

कविता नै प्यारो

उमेश अकिञ्चन

विधागत हिसाबले साहित्यका सबै विधाको आ-आफ्नो सामर्थ्य हुन्छ । तर पनि सबैभन्दा शक्तिशाली विधा कविता नै लाग्छ । धेरै फराकिलो दायरामा जाने हो भने आख्यानबाट जानुपर्ने होला । तर, काव्यिक दखल नभएको मान्छेबाट राम्रो आख्यान आउन सक्दैन । आख्यानमा पनि काव्य नै मिसिएको हुन्छ । त्यसैले कविता नै जग हो ।

अहिलेसम्म मैले धेरै माया कवितालाई नै गरेँ । आफ्नो मूल विधा पनि भएकोले कविता प्यारो छ ।

बाल्यकालमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ सुनेर प्रभावित भएको थिएँ । त्यसबेला म ६/७ कक्षामा पढ्थेँ । मेरो ठूलो दाइ भने कलेज पढ्नुहुन्थ्यो । कलेजको कोर्समा ‘मुनामदन’, ‘बसाइँ’ जस्ता कृतिहरु थिए । दाइले लय हालेर कविता सुनाउनुभएको थियो ।

‘बसाइँ’ पनि दाइले नै पढेर सुनाउनुभएको थियो । पहाडी जनजीवन, दुःखी नेपालीहरुको चित्रण भएकोले आख्यानमा सुरुको प्रभाव त्यो उपन्यासले दियो । पछि आफू कलेज पढ्ने भएपछि कोर्समा आफैंले पढियो ।

मेरा दुई गुरु

कविताका किताबमध्ये मलाई रमेश क्षितिजको ‘अर्को साँझ पर्खेर साँझमा’ जत्तिको डोज अरु कुनै किताबले दिएनन् । यसबाट मैले प्रभाव पनि ग्रहण गरेको छु ।

राम्रा कवितासंग्रह पाए कविताबारे बुझ्न पाइन्थ्यो भनिरहेको बेला मैले यो किताब पाएको थिएँ । यस हिसाबले लेखनको सिकाइको हिसाबले निकै उपलब्धिमूलक बन्यो ।

रमेश क्षितिज कवितामा ग्रामीण विम्बहरुको प्रयोग गर्न माहिर छन् । ‘अर्को साँझ पर्खेर साँझमा’ त्यस्ता विम्बको सागर नै छ ।

आम कविले प्रयोग गरिरहेको भन्दा बेग्लै विम्ब भएकोले कविताहरु त्यतिबेला फरक लागेको थियो । कविताहरु चोटिला र लयात्मक लागे ।

०५७ सालमा प्रकाशित भएको यो संग्रह त्यसको अर्को वर्ष नै हात परेको थियो । कविताहरु पढ्न थालेपछि वर्षौं पुरानो परिचित साथी भेटे जस्तै आनन्द लाग्यो । त्यहाँ झरीका कुरा छन् । हुलाकघर र तस्बिरका कुरा छन् ।

झरीको विम्बले यसरी प्रभाव पारेको थियो, त्यो पढेर मैले ‘झरी परेको दिन’ शीर्षकको कविता नै लेखेँ । म कुनै पनि किताब पढ्दा त्यसले ‘डोज’ दिनुपर्छ भन्ने सोच्छु । पढ्दा त्यस्तै केही लेख्छु भन्ने ऊर्जा दिएन भने किताबमा केही शक्ति रहेनछ भन्ने लाग्छ ।

त्यो किताबसँग संयोगले जम्काभेट भएको थियो । तिनताक म पूर्वबाट कामविशेषले काठमाडौं आएको थिएँ । साथी कुवेर लिम्बुखिमको डेरामा आकर्षक कलेवरमा किताब देखेँ ।

सरसर्ती हेर्दा राम्रो लागेपछि पूरै पढ्छु भनेर बजारतिर खोजेँ । तर, कतै भेटिनँ । अलि पछि कवि शशी लुमुम्बुसँग सम्पर्क गरेँ । उहाँले कुरियर गरेर किताब पठाइदिनुभयो ।

रमेश क्षितिजपछि मलाई श्रवण मुकारुङका कविताहरुले प्रभाव पारेका छन् । उनको कविताकृति ‘जीवनको लय’ ले तरंगित बनाएको छ । यी दुई कविका कविताहरु मेरो कविता लेखनको सुरुवात कालका गुरु नै हुन् ।

मुकारुङ नेपाली कवितामा पछिल्लो समयका ट्रेन्ड सेटर देखिए । भूपी शेरचनपछि हाम्रो कविताको ट्रेन्ड उनले प्रस्तुतिका हिसाबले केही परिवर्तन गरे भन्ने मलाई लाग्छ ।

कवितामा भूपी र आयामेलीहरुलाई मान्ने हो भने भूपीको सरल कवितासँगै ०२० देखि ३० को दशकसम्म बैरागी काइँला, ईश्वरवल्लभ र अरु कविहरुका जटिल कविता देखिए । आयामेलीपछि ४० को दशकतिर दिनेश अधिकारी, कृष्णभुषण बल लगायत कविहरुको सरल कविता आयो । त्यसपछि चाहिँ सरल कवितामै छुट्टै ट्रेन्ड बोकेर मुकारुङले अगुवाई गरे । नेपाली कवितामा धेरैले अझैसम्म भूपीकै ट्रेन्डलाई पछ्याइरहेका छन् ।

क्षितिज र मुकारुङ दुवै जनालाई उत्तिकै श्रद्धा र सम्मान गर्छु । त्यसमध्ये पनि हृदयमै बसेको चाहिँ क्षितिजकै कविताहरु हुन् ।

नेरुदा, हेयर आई लभ यू !

विदेशी साहित्यमा पनि सकेसम्म अपडेट रहने प्रयास गर्छु । तर, मेरो रोजाइका नामहरु सीमित छन् ।

पाब्लो नेरुदाका प्रेम कविताहरु मन पर्छन् । पछिल्लो समय स्‍वीडेनका कवि थोमस ट्रान्सट्रोमरका सिर्जनासँग परिचित भएको छु ।

मैले ब्याचलर पढ्दा नेरुदाको एउटा कविता पढेको थिएँ, ‘हेयर आई लभ यू’ । पछि इन्टरनेटमा पनि उनका कविताहरु पढेँ । उनको प्रस्तुतिमा मिठास छ । प्रेम कविता पनि त्यति मीठो हुँदो रहेछ भनेर उनैबाट जानेँ जस्तो लाग्छ ।

उनी मार्क्सवादी भए पनि कविता चाहिँ प्रेमवादी लेखे । नेपालमा चाहिँ प्रगतिशीलले प्रेमको विषय छुनै हुँदैन, टाढै बस्नुपर्छ भन्ने सोच छ ।

सन् २०११ मा साहित्यतर्फको नोबेल पुरस्कार थोमस ट्रान्सट्रोमरको ‘द हाफ-फिनिस्ड हेभन’ (सन् १९६२) कवितासंग्रह विशेष मानिन्छ ।

मलाई आख्यानमा पछिल्लो समय मन परेको चाहिँ चिनियाँ साहित्यकार मो यान हुन् । उनको ‘चेन्ज’ शीर्षकको अटोबायोग्राफी शैलीको लघु उपन्यास पढेको थिएँ । उनको प्रसिद्ध कृति चाहिँ ‘रेड सरगम’ (सन् १९८६, उपन्यास) हो । किताबमै आधारित भएर १९८७ मा फिल्म पनि बनेको थियो । निकै चर्चित फिल्म हो ।

‘रेड सरगम’ नोभेल नेपालमा खोजे पनि भेट्न सकेको थिइनँ । दाइ बेइजिङमा हुँदा उहाँमार्फत मगाएको थिएँ । पढ्न भने बाँकी नै छ ।

मो यानको ‘नोभेल लेक्चर’ सुनेपछि उनी झन् मेरा प्रिय लेखक बने । लेक्चरमा उनले केही गजबका पंक्ति बोलेका छन् । आफूलाई म कथा सुनाउने मान्छे हुँ भन्दै उनले बोलेका छन्, ‘हामीले भनेका कुरा हावाले उडाएर लैजान्छ, तर लेखेको कुरा कहिल्यै पनि मेटिँदैन । त्यसैले लेख्नुपर्छ ।’

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?