Comments Add Comment

प्रमुख निर्वाचन आयुक्त भन्छन्ः अझैसम्म कानुन पाएका छैनौं, कसरी चुनाव गराउने ?

२७ माघ, काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म निर्वाचनसम्बन्धी कुनैपनि ऐन कानून नपाएको प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बताएका छन् ।

निर्वाचन सम्वन्धी चार विधेयक संसदले पास गरिसकेको छ भने दुई विधेयक राष्ट्रपतिबाट प्रमाणित भइसकेको छ ।

तर, सरकारले आयोगलाई अझैसम्म उपलब्ध नगराएको प्रमुख आयुक्त यादवको गुनासो छ ।

बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको छ, तर, आयोगले अहिलेसम्म पाएको छैन, अनि कसरी हामीले काम गर्ने ?’

यद्यपि आफूहरु चुप लागेर नबसेको भन्दै भित्री तयारी भइरहेको बताए । सरकारले आवश्यक ऐन कानुन दिए जेठ १ गते निर्वाचन गराउन सक्ने उनले बताए ।

सरकारले चुनावको तयारी गर्नु भनेर पत्र पठाएपनि मिति नतोकेको भन्दै उनले असन्तुष्टि जनाए । निर्वाचनको मिति र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्ने भन्दै उनले त्यसो भएमात्रै आफूहरुले जेठभित्र चुनाव गराउन सक्ने स्पष्ट पारे ।

प्रमुख आयुक्त यादवले अघि थपे, ‘ऐन, कानून, मिति पाएनौं, चुनाव हुँदैन भन्ने स्थिति नआओस् ।’

प्रमुख निर्वाचन आयुक्त डा. यादवले स्थानीय तहबारे चाँडै सहमति गर्न दलहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment