Comments Add Comment

स्थानीय तहको संख्या ७३८, मधेसका १७ र पहाडमा २ थपिए (सूचीसहित)

२० फागुन, काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको संख्या १७ बढ्ने भएको छ ।

स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तहको संख्या बृद्धिको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ र, प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिवेदनमा प्रदेश नम्बर २ का ८ जिल्लामा १७ स्थानीय तह बढाउन सिफारिस गरेको छ । यससँगै ८ जिल्लामा स्थानीय तहको संख्या १२३ पुगेको छ ।

स्थानीय तह प्राविधिक समितिसँग व्यवस्थित छलफल नभएको, स्थानीय तहको संख्या कम भएको गुनासो आउनुका साथै सांसदहरुले पनि संख्या बढाउन सुझाव दिएको भन्दै कार्यदलले सरकारले दिएको इलाकालाई मुख्य आधार मानेर प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढाइएको मन्त्रालयका एक उपसचिवले जानकारी दिए ।

बालानन्द पौडेल नेतृत्वको आयोगले ७१९ स्थानीय तहको प्रस्ताव गरेको थियो, जसमा प्रदेश नम्बर २ मा १०६ थियो ।

तर, मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले अध्ययनका लागि मन्त्री पाण्डेको नेतृत्वमा तीन मन्त्री रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले प्रदेश नम्बर २ मा केही संख्या बढाउन सुझाव दिएपछि त्यसको गृहकार्य गर्ने जिम्मा पनि मन्त्रीहरुकै कार्यदलले पाएको थियो ।

बालानन्द पौडेल आयोगले सुरुमा तोकेको अधिकतम सीमा ७४४ नबढ्ने गरी स्थानीय तहको संख्या बढाइएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

जस अनुसार मनाङमा स्थानीय तहको संख्या १ थपिएको छ र, अब कुल ४ भएको छ । यस्तै बझाङमा पनि स्थानीय तहको संख्या थपिएको छ र जिल्लामा स्थानीय तहको ९ पुगेको छ ।

यससँगै देशभर स्थानीय तहको संख्या ७३८ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment