+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

निष्ठुरी प्रेमीः जसले सुत्केरी दीपालाई अस्पतालमै छाडे

छोरी जन्माएको भन्दै श्रीमान बेपत्ता, न्वारानको दिन गुज्रियो

गौरव पोखरेल गौरव पोखरेल
२०७३ फागुन २३ गते ८:२१

२३ फागुन, झापा । सुत्केरी हुनुअघिको प्रसव पीडा आमाबाहेक अरुले कल्पनासम्म गर्न सक्दैन । प्रसव व्यथाले च्यापिरहँदाको पीडा त छँदैछ, अझ त्यतिबेलै श्रीमान भनाउँदोले समेत साथ छाडिदिँदा ती सुत्केरीलाई कस्तो होला ?

सुन्दा पनि आङै सिरिङ्ग हुने यो भवितव्य झापा विर्ताबजारमा डेरा गरी बस्ने दीपा दासमाथि आइपरेको छ । उनका लागि छोरी जन्माउनु अभिशाप सावित भएको छ ।
यसअघि पनि दीपाले दुई छोरीलाई जन्म दिइसकेकी छिन् । एउटी छोरी ९ वर्षकी छिन् । अर्की ६ वर्षकी ।

छोरी जन्मिएपछि श्रीमान सम्पर्कविहीन

‘छोरी जन्मिए तिमीलाई भेट्न आउँदिन भनेर केही हप्ताअघि भन्नुभएको थियोे’, दीपाले आइतबार अस्पतालको बेडबाट अनलाइनखबरसँग कुरा गदर्ैै भनिन्, ‘छोरी भएपछि अहिलेसम्म भेट भएको छैन ।’

छोरी जन्मिएको थाहा पाएपछि दीपाका श्रीमान् चन्दन दास अहिले सम्पर्कविहीन छन् । बिर्तामोडको बीएण्डसी हस्पिटलमा तेस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी दीपा अहिले बेडमै परेकी छिन् ।

दीपा  श्रीमान चाँडैै भेट्न आउनेमा आशावादी छिन्- आउनुहुन्छ होला, कतै केही परिबन्दमा पो पर्नुभयो कि ?

‘छोरी जन्मेपछि तीन दिनअघि फोनमा कुरा भयो’, उनले सुनाइन्, ‘अहिलेसम्म हेर्न भने आएका छैनन् ।’

अहिले उनका श्रीमान चन्दनको मोबाइलसमेत स्वीच्ड अफ छ ।

‘मन मिलेपछि मन्दिरमा बिहे गर्‍यौं’

दीपाका श्रीमान पेशाले निर्माण मजदुर हुन् । दीपाको यो दोस्रो विवाह हो । यसअघिका दुई छोरी भने अर्कै श्रीमानका हुन् ।

अघिल्लो श्रीमानको मृत्यु भएपछि दीपा युवा उमेरमै एकल महिला बनिन् । माइतीसँग उनकाे सम्बन्ध राम्रो थिएन । यो स्थितमा करिब डेढ वर्षअघि उनले जीवनमा सहारा पाइएला कि भन्ने ठानेर अर्को प्रेम विवाह गरिन् । चन्दनले उनलार्इ जीवनमा साथ दिने वचन दिएका थिए, तर सुत्केरी हुँदासम्म हेर्न अाएनन् ।

‘मन मिलेपछि मन्दिरमा गएर विवाह गरेका हौं’, दीपाले सुनाइन् ।

प्रेम विवाह गरेपछि उनको सुरुदेखि नै माइतीसँग राम्रो सम्बन्ध भएन ।

दाङको घोराही माइती बनाउने दीपाको पहिलो विवाह भएकै दिनदेखि माइतीसँग सम्पर्क टुट्यो । उनलाई अहिले आफ्ना माइतीको सम्पर्क नम्बर पनि थाहा छैन ।


श्रीमान् आउने झिनो आशा

दीपा  श्रीमान चाँडैै भेट्न आउनेमा आशावादी छिन् । ‘आउनुहुन्छ होला’, उनले झिनो आशा व्यक्त गर्दै भनिन्, ‘कतै केही काममा पर्नुभयो कि !’

श्रीमान कुनै परिबन्दमा परेको हुन सक्ने भन्दै उनले आफ्नो मनलाई सन्तुष्टि दिलाइन् ।

बच्चा जन्मिएको सात दिन बितिसक्यो, तर परिवारलेसमेत कुनै चासो नदेखाउँदा अहिले उनी छिमेकी महिलाको भरमा अस्पतालमा बसिरहेकी छिन् । छिमेकीले नै उनको हेरचाह गरिरहेका छन् ।

कर्मचारीको भरमा सुत्केरी

अहिले अस्पताल प्रशासनको सहयोगमा सुत्केरी वार्डका कर्मचारीसहित अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुले रकम सङ्कलन गरेर सुत्केरी आमा र बच्चालाई चाहिने कपडा र खानेकुरा दिइरहेका छन् ।

सुत्केरी वार्डमा कार्यरत स्वास्थ्यकर्मी कुन्ती राईले आफूहरु मिलेर खाना र कपडा सहयोग गरिरहेको बताइन् । उनले भनिन्-‘कपडाचाहिँ प्यासेन्ट आफैले धुनुहुन्छ ।’
सोही वार्डमा कार्यरत अर्की स्वास्थ्यकर्मी मनिषा निरौलाले बच्चा जन्मिनु अन्तिम अवस्थामा बिरामीलाई हस्पिटल ल्याइपुर्‍याइएको बताइन् ।

‘बच्चाले दिशा खाइसकेको थियो’, उनले सुनाइन्, ‘अलिकति पनि ढीलो गर्ने समय थिएन । ढिलो हुँदा बच्चा वा आमाको ज्यानै जोखिममा पर्न सक्थ्यो ।’

दीपाको शल्यक्रिया डा.स्मृति जोशीले फागुन १४ गते गरेकी हुन् । ‘अहिले उनको अवस्था सामान्य छ’, डा. जोशीले भनिन्, ‘आमा र बच्चा दुबैको स्वास्थ्य ठीक छ ।’
उनका अनुसार बच्चा जन्मिँदा १ केजी १ सय ग्राम तौल थियो ।

अस्पताल भन्छ- ‘प्रशासनलाई जिम्मा लगाउँछौं’

‘एक हप्ताभन्दा धेरै भइसक्यो, अहिलेसम्म परिवारबाट कोही आएका छैनन्’, अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अनलाइनखबरसँग भने, ‘अब एक/दुई दिन पर्खिन्छौं, भएन भने प्रहरीको सहयोगमा प्रशासनलाई जिम्मा लगाउँछौं ।’

बच्चाको नामाकरण गर्ने दिन पनि गुज्रिसक्यो । कोही लिन नआउँदा आमा र बच्चा दुबै हस्पिटलकै बेडमा सीमित छन् ।

दीपाले अनलाइनखबरमार्फत सबैलाई सहयोग गरेर आफूलाई घर पुर्‍याइदिने व्यवस्था मिलाइदिन अस्पतालको बेडबाटै आग्रह गरिन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?