Comments Add Comment

दशगजाको स्थलगत रिपोर्टः मातृभूमिमै विदेशीबाट मारिए गोविन्द

करिब १५ दिन अघिदेखि सामान्य विवादमा रुमलिँदै आएको कञ्चनपुरको आनन्दबजार बिहीबार एकाएक युद्धभूमिजस्तै बन्यो । आफ्नै भूमिमा कल्भर्ट बनाएको अपराध वापत एक नेपालीले ज्यान गुमाउनुपरेको छ भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बनेका छन् । कसैको घरबारसमेत भारतीयबाट लुटिएको छ ।

विहीबार बिहानैदेखि आनन्द बजारको स्थलगत अवस्थाबारे बुझ्न जाँदा पाइएका तथ्य यस्ता छन्ः

कञ्जनपुर जिल्लाको भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजार पुनर्बास गाविसमा पर्छ । गाविसको नामै पुनर्बास रहेको यो बस्ती तत्कालीन राजा महेन्द्रले बसालेका हुन् ।

दशगजामा नेपाली बस्ती बसाउँदा सीमानाको रक्षा हुन्छ भन्ने नीति अनुसार महेन्द्रले देशका विभिन्न भागमा जस्तै यहाँ पनि बस्ती बसालेका थिए । क्षेत्री बाहुन एवं जनजातिहरु मिलेर बसेको यो बस्तीमा अन्ततः भारतीयहरुले हमला गर्दा नेपालीहरुले एकगठ भएर प्रतिरोध गरेका छन् । र, यसक्रममा विहीबार गोविन्द गौतम नाम गरेका ३० वर्षीय युवा सहिद बनेका छन् ।

एसएबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतम

[sam_list] आनन्द बजारमा नेपाली र भारतीयवीचको तनाव करिब दुईसाता अघिदेखि नै सुरु भएको हो । दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने जमिनमा नगरपालिका एवं स्थानीयवासीले कलभर्ट निर्माण गरेपछि भारतीय पक्षले त्यसको विरोध गर्दै आएको थियो ।

नेपाली पक्षले निर्माण गरेको कल्भर्ट दशगजा भन्दा निकैभित्र भए पनि भारतीय पक्षले बनाउन नदिने धम्की दिँदै आएको थियो ।

हाल कल्भर्ट बनेको स्थानभन्दा दक्षिणतर्फ अर्थात पारिपटि्ट एउटा सामुदायिक वन छ, जुन नेपालीहरुले नै उपयोग गर्दै आइरहेका छन् । दशगजा पारि पनि सानो जंगल छ र त्यो भन्दा दक्षिणमा भारतीय गाउँ छ ।

गुुगल म्यापमा हेर्दा समेत कल्भर्ट बनाइएको स्थान नेपाली भूमिमा पर्ने स्पष्टै देखिन्छ । भारतले यसमा अवरोध गर्नुपर्ने आधार केही पनि देखिँदैन ।

बुधबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का बन्दूकधारीहरु एकाएक नेपाली भूमिमा प्रवेश गर्‍यो र नेपालीहरुलाई कुटपिट गर्‍यो । पत्रकार हेमन्त न्यौपानेसहित केही स्थानीयवासीहरु भारतीयको पिटाइबाट घाइते बने ।

अघिल्लो दिनको कुटपिटको विरोधमा विहीबार बिहानै स्थानीय नेपालीहरु कल्भर्ट निर्माणस्थलमा भेला भए । उनीहरु केहीबेर नेपाल-भारत सीमानामा आवत-जावतसमेत बन्द गरे ।

यही क्रममा पारिबाट भारतीयहरुको एक हुल आयो । केहीबेर दशगजामा दुबैतिरबाट ढुंगा हानाहान भयो । यसक्रममा आक्रोशित नेपालीहरुले भारतीयहरुलाई लखेटे । नेपालीहरु के महिला, वालवालिका, वृद्धवृद्धा, सबै भेला भएका थिए ।

भारतीयहरु लखेटिएको केहीबेरमै उताबाट एसएसबीको फौज आयो । भारतीयहरुले एसइसबीको आड पाएर फेरि ढुंगामुढा गर्न गर्न थाले । नेपालतर्फबाट पनि प्रतिवाद भयो ।

यही क्रममा एसएसबीले उताबाट फाइरिङ खोल्यो । प्रत्यक्षदर्शीहरुका अनुसार एसएसबीले २१ राउण्ड फायर गरेको थियो ।

स्थानीय ३० वर्षका गोविन्द गौतमको कम्मरमा गोली लाग्यो । उनलाई धनगढीस्थित सीपी अस्पताल ल्याइपुर्‍याउँदा नपुर्‍याउँदै अत्यधीक रक्तश्राबका कारण उनको निधन भयो ।

भारतीय कुटाइबाट घाइते भएका सुरेश थापाको बलौरी पोली क्लिनिकमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।

त्यसैगरी बेलौरी सीमा प्रहरी कार्यालयमा प्रहरी निरीक्षक राम खत्रीको मुखमा चोट लागेको छ । अर्का एक सई पनि घाइते भएका छन् ।

एसएसबीको गोली प्रहारपछि नेपालीहरु तितर-वितर भए । यही मौका छोपेर भारतीयहरुले स्थानीय श्याम गुरुङको पसलमा तोडफोड र लुटपाट गरे । पीडितको भनाइ अनुसार त्यहाँ रहेका सरसामान, खसी बाख्रा र मोटरसाइकल समेत भारतीयहरुले लुटेर लगेका छन् ।

(यो पनि पढ्नुहोस्: नेपालीका घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्)

विहीबार अपरान्हतिर आनन्द बजारमा जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु एवं प्रहरी प्रमुखहरु भेला भए । भारतीय पक्षसँग दिनभरिजसो कुराकानी भयो, तर रातिसम्म कुनै निश्कर्ष निस्किएको छैन ।

घटनास्थलमा एसएसबीका एसपी मनोजकुमार झा र डीएम आकाश दीप आइपुगेका छन् । नेपालबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र दुबै प्रहरी संगठनका एसपीहरु भेला भएका छन् । तर, रात पर्दासम्म ठोस वार्ता हुन सकेको छैन ।

यो पनि पढ्नुहोस् 

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान (भिडियोसहित)

नेपाली नागरिकको हत्याबारे भारतसँग जवाफ माग्न सरकारलाई एमालेको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment