Comments Add Comment

सरकारमा किन गए कमल थापा ? दिलनाथ भन्छन्- हामी ओलीभन्दा धेरै टाढा छैनौं

सीमांकनलाई थाती राखेर चुनावमा जाने राप्रपाको अडान यथावत

२६ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लगभग छापामार शैलीमा बिहीबार राति शीतलनिवासमा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्रीको सपथ खाए ।

कमल थापा यसरी प्रचण्ड नेतृत्वको सरकारमा जालान् भन्ने धेरैले सोचेकै थिएनन् । आखिर कमल थापा किन रातारात सरकारमा गए ? के यो उनको कुर्सीमोह हो ? वा अरु नै कुनै राजनीतिक कारण छ ?

कमल थापा उपप्रधानमन्त्री बनेको सुन्नासाथ धेरैको अनुमान के छ भने सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा भोट हाल्ने शर्तमा उनी प्रचण्ड नेतृत्वको सरकारमा गएका हुन् । अब विजय गच्छदारलाई पनि सरकारमा ल्याउने र संविधान संशोधनमा बहुमत पुर्‍याउने प्रचण्डको योजना अन्तरगत कमल थापा उपप्रधानमन्त्री बनेको अधिकांशले अनुमान गरेका छन् ।

तर, कमल थापासँगै शीतल निवासमा बिहीबार राति सपथ ग्रहण गरेका नवनियुक्त पर्यटनमन्त्री दिलनाथ गिरीले भने अहिलेको संविधान संशोधन प्रस्तावका कतिपय प्रावधानहरु राष्ट्रिय दित विपरीत रहेको राप्रपाको पुरानै अडान दोहोर्‍याए ।

राप्रपाका तर्फबाट मन्त्री बनेका गिरीलाई हामीले सोध्यौं-

तपाईहरु प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुको अर्थ अब राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्छ भनेर बुझ्दा हुन्छ ?

अहिले सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्तावका कतिपय बुँदाहरु राष्ट्रिय हितको पक्षमा छैनन् ।

उसोभए सरकारमा गएर पनि तपाईहरु संविधान संशोधनको पक्षमा मतदान नगर्ने त ?

सीमांकनसम्बन्धी प्रस्तावलाई यथास्थितिमा राखौं र अन्य ती विषय (भाषा, नागरिकता र राष्ट्रिय सभा) लाई समाधान गर्न लचिलो बनौं । स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि सीमांकनको विषय समाधान गरौं ।

उसोभए कमल थापा उपप्रधानमन्त्री बनेको त संविधान संशोधन गर्न र मधेसी मोर्चाको माग पूरा गर्नलाई हैन पो रहेछ । सीमांकनलाई थाती राखेर मोर्चा चुनावमा आउन मान्छजस्तो लाग्छ ? संविधान संशोधनको पक्षमा भोट नहाल्ने भए सरकार किन गएको ?

हामी निर्वाचनको सुनिश्चितता र संविधानको कार्यान्वउयन संघटमा फसेको हुनाले त्यसको समाधाना लागि सरकारमा गएका हौं । हाम्रो उपस्थितिले त्यो गर्न सकिन्छ भनेर प्रधानमन्त्रीजी र कांग्रेसका साथीहरुले पनि आग्रह गर्नुभयो । तपाईहरु पनि सरकारमा सहभागी भइदिनुपर्‍यो भन्नुभयो, त्यसैले हामी सरकारमा गएका हौं ।

तर, सरकारमा गए पनि संविधान संशोधनको पक्षमा मतदान नगर्ने राप्रपाको पुरानो अडान कायमै हो ?

तपाईहरु सरकारमा आउनोस्, सँगै बसेर उपाय खोजौं भन्नुभएको हुनाले हामी गएका हौं ।

तर, कमल थापालाई त केपी ओलीले प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेको चर्चा थियो नि ? एमालेबाट अब टाढिनुभएको हो ?

ओलीजीले उठाएको विषयसँग हामी नजिकै छौं । हाम्रो चाहना त के छ भने एमालेलाई पनि सरकारमा ल्याउने र मधेसवादी दललाई समेत सहमतिमा ल्याएर राष्ट्रिय सरकार बनाई चुनावमा जाने ।

राप्रपाले यो सरकारमा नजाने भनेको थियो, पार्टीबाट निर्णय नगराई किन सरकारमा गएको ?

पार्टीभित्र छलफल भएरै हामी सरकारमा गएका हौं । साथीहरुको निर्देशन अनुसार नै यो निर्णय भएको हो । कि त सरकार छाड्नुपर्‍यो, कि दह्रो उपस्थिति हुनुपर्‍यो भन्ने हाम्रो पार्टीका सबै साथीहरुको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment