Comments Add Comment

कञ्चनपुर गोलीकाण्डका दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री

गौतमलाई शहिद घोषणा गर्ने र बालबच्चालाई पढाउने बचन

प्रधानमन्त्रीसँग सातनम्बर प्रदेशको टोली । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय सीमा सुरक्षा बल -एसएसबी)को गोली प्रहारबाट मृत्यु भएका कञ्चनपुरका गोविन्द गौतमलाई शहिद घोषणा गर्ने बताएका छन् । यस घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको भन्दै उनले घटनाको अनुसन्धान गरेर आवश्यक कारवाहीका लागि कुटनीतिक पहल भएको जानकारी दिए ।

नेकपा माओवादी प्रदेश नम्बर ७ को शुक्रबार ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् ।

‘कञ्चनपुर घटनाको विषयमा परराष्ट्र मन्त्रालयबाट विज्ञप्ती आएको छ । गृह मन्त्रालयबाट पनि यो विषयमा आफ्नो धारणा आइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो देश सार्वभौम राष्ट्र भएकाले घटनालाई निन्दनीय भनेका छौं । यसको भ्रत्र्सना गरेका छौं । घटनाको अनुसन्धान गरेर आवश्यक कारवाहीका लागि कुटनीतिक पहल भएको छ ।’

गौतमका बालबच्चालाई सरकारले पढाउने

गृहमन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर मित्र राष्ट्र भारतका सीमा रक्षकहरुले आवेगमा आई गोली चलाउँदा सरकार स्तब्ध भएको व्यहोराको विज्ञप्ति निकालेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मृतक गोविन्द गौतमलाई शहिद घोषणा गर्ने र पीडित परिवारलाई १० लाख राहत दिने बताए । साथै गौतमका बालबच्चालाई पठनपाठनको व्यवस्था सरकारले गर्ने बचन समेत प्रधानमन्त्री प्रचण्डले दिए ।

‘हामीमाथि हुने कुनै हस्तक्षेप स्वीकार्य छैन,’ प्रचण्डले भने, ‘मृतकलाई सम्मान गर्ने कुरामा सरकारको कुनै कन्जुस्याईं हुँदैन । पोष्टमार्टम गरेर सम्मानपूर्वक अन्तेष्टी गरिनेछ ।’

उनले घटनाको विषयमा स्थानीय अधिकारीहरुसँग छलफल भइरहेको र घटनालाई सामान्यीकरण गर्ने प्रयास भइरहेको पनि बताए । उनले भने, ‘अनावश्यक उत्तेजना फैलाएर केही हुँदैन । आवेगले मात्र समस्याको समाधान हुँदैन । हामी जनताको राष्ट्रिय भावनालाई सरकार उच्च सम्मान गर्छौं ।’

सीमामा गएर तनाव बढाउनुभन्दा संयमित भएर विरोधका कार्यक्रम राख्न उनले सुझाव दिए ।

आज पनि तनाव कायमै

नेपाल भारत सीमाको आनन्द बजारमा कलभर्ट निर्माणको विषयमा बिहीबार दुबैपक्षबीच झडप भएको थियो । एसएसबीले नेपाली भूमिमै प्रवेश गरेर गोली चलाउँदा स्थानीय ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा माओवादी केन्द्रले सात नम्बर प्रदेश बन्द आह्वान गरेको छ भने काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

सीमा क्षेत्रमा शुक्रबार पनि तनावको स्थिति छ । एसएसबीले शुक्रबार पनि नेपालतर्फ लक्षित गरी ९ राउण्ड हवाईफायर गरेको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment