Comments Add Comment

नगरको स्वामित्वमा सरकारी बस कम्पनी दर्ता गर्न कम्पनी रजिस्ट्रार मानेन

अब निर्णय मन्त्रिपरिषदबाटै


२ चैत, काठमाडौं । विभिन्न नगरपालिकाहरुको संयुक्त प्रयासमा सरकारी बस कम्पनी दर्ता गर्न कम्पनी रजिष्टर कार्यालयले अस्वीकार गरेको छ । अहिलेको परिस्थितिमा नगरहरुकै निर्णयका आधार कम्पनी खडा गर्न नसकिने भन्दै कम्पनी रजिष्ट्ररको कार्यालयले सरकारको औपचारिक निर्णय मागेको छ ।

स्थानीय विकास मन्त्रालयको अगुवाइमा विभिन्न २२ नगरपालिकाहरुको स्वामित्व रहने गरी स्थापना गर्न लागिएको सब कम्पनी सीधै दर्ता हुन नसक्ने भन्दै कम्पनी रजिष्ट्ररको कार्यालयले मन्त्रिपरिषद्को स्वीकृति मागेको छ ।

अब बस कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको स्थानीय विकास मनत्रालयका उपसचिव जीवनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

मन्त्रिपरिषद्बाट निर्णय हुनासाथ कम्पनी रजिष्ट्ररको कार्यालयमा सरकारी बस कम्पनी दर्ता हुनेछ । सो लगत्तै बस किन्ने प्रक्रिया सोही कम्पनीले अघि बढाउने श्रेष्ठले बताए ।

सरकारले फेरि सार्वजनिक यातायात सेवामा फेरि हात हाल्ने भएको छ । ‘नगर यातायात’ बस कम्पनी खडा गर्ने विषयमा  विभिन्न २२ नगरपालिकाबीच समझादारीपत्रमा हस्ताक्षर भएको छ । यो कम्पनीले सुरुमा काठमाडौंमा ५० वटा ठूला मेट्रो बस चलाउनेछ ।

अर्थ मन्त्रालयले कम्पनी खडा भएपछि तत्काल ५० वटा बस किन्न सकिने गरी स्वीकृति प्रदान गरेको छ । कम्पनीका लागि अर्थ मन्त्रालयसँग १ सय वटा ठूला बस किन्न स्वीकृति मागिएको थियो ।

अर्थ मन्त्रालयले सुरुवातमा ५० वटा बसका लागि भन्दै गाडी खरिदको लागत र कर छुट, कम्पनी सञ्चालनको मोडालिटी र सेयर स्वामित्व, कम्पनी तथा कर्मचारी व्यवस्थापन, भाडादर र आय व्यवस्थापनसहितको विभिन्न विवरण पेश गर्न भनेको छ । सहसचिव श्रेष्ठले कम्पनी दर्ता भएपछि यसले नै आफ्नै बिनियमावली बनाएर काम गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री चुनिएपछि संसदमा गरेको संबोधनमा सरकारी स्तरबाट १ सयवटा ठूला बस किनेर चलाउने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा कार्यान्वयनका क्रममा मन्त्रालयले बस कम्पनी नै खडा गर्ने अन्तिम तयारी गरेको हो ।

प्रचण्डले ६ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरीद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगञ्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिने बताएका थिए ।

सार्वजनिक यातायात सुधार्ने अपेक्षा

सरकारले काठमाडौं महानगरपालिकासहित उपत्यका र उपत्यका बाहिरका ठूला नगरपालिकाको स्वामित्वमा रहनेगरी बस कम्पनी खडा गर्न लगेको हो । अब सरकारले उपलब्ध गराउने ठूला बसलाई सोही कम्पनीले सञ्चालन गर्नेछ । श्रोत जुटाएर कम्पनीले थप बस पनि किन्ने छ र सेवा विस्तार गर्नेछ ।

पहिलो चरणमा ‘नगर यातायात’ कम्पनीले उपत्यकाभित्रै ठूला मेट्रो बस चलाउनेछ । त्यसपछि उपत्यकाबहिर पनि बस चलाउन गृहकार्य भइरेको स्थानीय विकस मन्त्रालयले जनाएको छ ।

नेपालमा  अहिले सार्वजनिक यातायात विश्वकै सबैभन्न्दा कमजोर र गुणस्तरहीन देखिएको छ । थोत्रा र साना सवारीको बिगबिगी त छँदैछ, सिन्डिकेट राखेर कम उमेरका चाकलले असुरक्षित रुपमा सार्वजनिक सवारी चलाइँदैछ । अब यसलाई अन्त्य गर्न र ब्यवसायीलाई पनि ठूला बस चलाउन प्रोत्साहन गर्न कम्पनीले प्रतिस्पर्धी भएर काम गर्नेछ ।

यो योजना सफल भएमा सडमा निजी क्षेत्रको सार्वजनिक यातायातको एकाधिकार समाप्त हुनेछ । यसबाट स्वस्थ प्रतिस्पर्धा सिर्जना हुुनका सबै ठूला बसका कारण ट्राफिक व्यवस्थापन पनि सहज हुने सरकारको विश्वाश छ ।

यसमा स्थानीय निकायलाई सक्रिय रुपमा सहभागी गराउने तयारी छ । यस्तो कम्पनी खडा गरेर बस खरीद गर्न काठमाडौं महानगरपालिकासहित २२ नगरपालिकाले पनि सहमति जनाएका छन् ।

प्रक्रियामै बस कम्पनी 

मन्त्रालय स्रोतकाअनुसार यसरी ठूला बस चलाउन खोलिने कम्पनीको सेयर नगरपालिकाहरुलाई दिइनेछ । प्रारम्भमा सयवटा न्युनतम् १० करोड रुपैयाँको पुँजी राखेर कम्पनी खडा गरँदैछ ।

कम्पनीका काठमाडौं महानगरपालिकाले ५१ प्रतिशतसम्म सेयर पूँजी लगाउने भएको छ । महानगरपालिकाले साझा यातायतमा पनि ३० ठूला बसका लागि सेयर लिएको थियो । थप बस किन्न ५ करोड रुपैयाँ पनि साझालाई महानगरपालिकाले दिने तयारी गरेको छ ।

कम्पनी खडा गर्नका लागि आवश्यक तयारी गर्न स्थानीय विकास मन्त्रालयले कार्यदल बनाएको थियो ।

कार्यदलले काम पूरा गरेकाले बिहीबार कम्पनीमा सेयर राख्ने सबै नगरपालिकाले कम्पनी खडा गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन्। यसअनुसार केही हप्ताभित्रै सरकारी स्तरको यातायात कम्पनी दर्ता हुनेछ ।

बस खरीद प्रक्रिया अघि बढेपछि उपत्याकाका सबै नगरपालिकाले आफ्नो नगर क्षेत्रमा एक-एक वटा स्तरीय बसपार्क खडागर्ने सहमति पनि भएको छ । यसले ठूला बसको पार्किङमा पनि सहजता आउने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment