Comments Add Comment

सुरु भयो निःशुल्क मृगौला प्रत्यारोपण, दिपकलाई ६० वर्षीया आमाले दिइन् नयाँ जीवन

३ बैशाख, काठमाडौं । नेपाल मानव अंग प्रत्योरोपण केन्द्र, भक्तपुरले आइतबारबाट निःशुल्क मृगौला प्रत्यारोपण सुरु गरेको छ ।

पहिलो दिन पोखराका ३० वर्षीय दिपक गुरुङ्गको मृगौलाको निःशुल्क प्रत्यारोपण गरिएको छ । दिपकलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्गले मृगौला दान गरेकी थिइन् ।

त्यसैगरी, काठमाडौ, नाङ्गलेभारेकी २६ वर्षीया लक्ष्मी ढकाललाई उनकी ४८ वर्षीया आमा चन्दि्रका ढकालले मृगौला दान गरेकी छन् । दुबैको मृगौलाको निःशुल्क प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले भोलि एक, पर्सि दुई र बुधबार एक गरी यस हप्ता छ प्रत्यारोपन गर्ने जनाएको छ ।

बैशाख १ गते देखि देशभर मृगौलाको निःशुल्क प्रत्यारोपण गर्ने सरकारको निर्णय अनुसार केन्द्रले सेवा सुरु गरेको कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

अब मृगौला प्रत्यारोपण बापत शुल्क तिर्नु पर्दैन । तर, मृगौला प्रत्यारोपण गर्नु अघि हुने चेकअप तथा विभिन्न टेष्टको भने विरामीले तिर्नु पर्नेछ ।

‘अब विरामीले मृगौलाको प्रत्यारोपण गर्दादेखि अस्पतालबाट डिस्चार्ज नभएसम्म कुनै शुल्क तिर्नु पर्ने छैन’ डा. श्रेष्ठले अनलाइनखबरसित भने, ‘यसको लागि केन्द्रले आजै अस्पतालले कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यीय ‘मृगौला प्रत्यारोपन सेवा सञ्चालन र व्यवस्थापन समिति’ समेत गठन गरिसकेको छ ।’

केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य मन्त्रालयका तर्फबाट एक नेफ्रोलोजिष्ट तथा केन्द्रका प्रशासन विभागका कर्मचारी सदस्य रहने व्यवस्था छ ।

मृगौला प्रत्यारोपण गर्न चाहने व्यक्तिले समितिमा निवेदन दिनु पर्नेछ र, त्यस अनुसार निःशुल्क उपचारको व्यवस्था हुनेछ । यसरी केन्द्रले निःशुल्क मृगौला प्रत्यारोपण गरेवापत लागेको रकम सरकारद्धारा शोधभर्ना गरिने व्यवस्था छ ।

नेपाल मानव अंग प्रत्यारोपन केन्द्रले गत आर्थिक वर्षमा मात्र ११६ जनाको मृगौलाको सफल प्रत्यारोपण गरेको थियो । केन्द्रले चालु आर्थिक वर्षमा उक्त संख्या १५० को हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको छ ।

 

वीर र शिक्षण अस्पतालमा प्रत्यारोपण सुरु

मानव अंग प्रत्यारोपन केन्द्र बाहेक वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि निःशुल्क मृगौला प्रत्यारोपण सुरु भएको छ ।

सामान्यतया नेपालमा एउटा मृगौला प्रत्यारोपन गरेको चार लाख रुपैयाँसम्म पर्ने गर्छ भने भारतमा ३० देखि ४० लाख रुपैयाँसम्म पर्ने गरेको छ ।

मृगौलाको निःशुल्क प्रत्यारोपण सुरु भएसँगै प्रत्यारोपणका लागि आवश्यक पर्ने औषधिदेखि अपरेशन लगायतका सबै उपचार निःशुल्क हुनेछ ।

निःशुल्क प्रत्यारोपनको सेवा लिनेलाई मृगौलाको क्रश म्याचिङ्गका लागि थप ५० हजार रुपैयाँ दिने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रत्यारोपण पश्चात्त एक वर्षसम्म औषधि तथा उपचारका लागि एक लाख रुपैयाँ पनि दिइने कानुनी व्यवस्था गरिएको स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए ।

प्रत्यारोपणका लागि स्वास्थ्य मन्त्रालयले चैत २५ गते निःशुल्क मृगौला प्रत्यारोपन सम्बन्धि निर्देशिका ०७३ जारी गरिसकेको छ, जसमा प्रत्यारोपण सेवा लिने प्रकि्रया र मापदण्डहरु उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment