१२ बैशाख, काठमाडौं । आन्तरिक उडान भर्ने विमान कम्पनीहरुको प्रतिस्पर्धामा बुद्ध एयरले अरुलाई उछिनेको छ । सन् २०१६ मा सबैभन्दा बढी उडान भर्ने विमान कम्पनीको सुचीमा बुद्ध एयर पहिलो स्थानमा रहेको हो ।
त्रिभुवन विमानस्थलका अनुसार सन् २०१६ मा यस कम्पनीले २३ हजार ९ सय ७९ पटक उडान भरेको छ । सन् २०१५ मा यसले १८ हजार ३ सय ७५ पटक उडान भरेको थियो । सन् २०१५ मा पनि बुद्ध एयर नै सबैभन्दा बढी उडान भर्ने कम्पनीमा रहेको थियो ।
राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल बायुसेवा निगम भने सबैभन्दा बढी उडान गर्ने कम्पनीमा ५ औ स्थानमा रहेको छ । त्रिभुवन विमानस्थलका अनुसार सन् २०१५ मा निगमले २ हजार ८ सय ९ पटक उडान भरेकोमा २०१६ मा २ हजार ५ सय ६० पटक उडान भरेको छ ।
सन् २०१६ मा आफ्नो उडान संख्या बढाए पनि अन्य विमान कम्पनीहरुको तुलनामा सरकारी विमान कम्पनीको बिजनेस सानो देखिएको छ ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी बुद्ध एयरका विमान धेरै र सिट संख्या पनि बढस् भएका कारण यसको बिजनेश अन्यको भन्दा ठुलो भएको बताउँछन् । उनकाअनुसार अहिले बुद्ध एयरसँग ९ वटा विमान छन् । यसमध्ये ४ वटा ७० सिटका, ३ वटा ४७ सिटका र २ वटा १८ सिटका छन् ।
जोशीले भने ‘हामी उडान संख्या मात्रै नभई यात्रुलाई सेवा पुर्यउनेमा पनि सबैभन्दा अगाडि छाैं, आन्तरिक उडानको बजारमा हाम्रंो ५५ प्रतिशत हिस्सा छ ।’
अहिले बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, बिराटनगर, जनकपुर, सिमरा, भक्तपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्ने गरेको छ । माउन्टेन फ्लाइट बाहेक भने यसले शहरी क्षेत्रमा नै उडान गर्ने गरेको छ । पहाडी क्षेत्रमा यसको उडान छैन । शहरी क्षेत्रमा उडान गर्ने र सिट संख्या पनि बढी भएका कारण यसको बिजनेश हिस्सा ठुलो भएको देखिन्छ ।
सबैभन्दा बढि उडान भर्ने विमान कम्पनीहरुको दोस्रो सुचिमा यती एयरलाइन्स रहेको छ । यसका ६ वटा विमान छन् । सबैको सिट संख्या २९ मात्रै छ । त्रिभुवन विमानस्थलका अनुसार यती एयरलाइन्सले सन् २०१६ मा १८ हजार १ सय ९० पटक उडान भरेेको छ । सन् २०१५ मा भने यसले १४ हजार १ सय ८४ पटक उडान भरेको थियो ।
बुद्ध एयर र यती एयरलाइन्सको तुलनामा अन्यले आफ्नो बिजनेश बढाउन नसकेको देखिन्छ । सन् २०१५ मा २ हजार ५ सय १७ पटक उडान भरेको गोमा एयरले सन् २०१६ मा २ हजार ५ सय ९५ पटक मात्रै उडान भरेको छ ।
आन्तरिकमा धेरै उडान गर्ने विमान ५ विमान कम्पनी
विमान कम्पनी | उडान संख्या सन् २०१५ | उडान संख्या सन् २०१६ |
---|---|---|
बुद्ध एयर | १८३७५ | २३९७९ |
यती एयरलाइन्स | १४१८४ | १८१९० |
तारा एयरलाइन्स | ४८४९ | ६२८२ |
गोमा एयर | २५१७ | २५९५ |
नेपाल एयरलाइन्स | २८०९ | २५६० |
नयाँ विमान थप्ने होड
यसरी निजी कम्पनीहरु अहिले आन्तरिक उडान गर्ने विमान संख्या पनि थप्न लागिपरेका छन् । केहीले नयाँविमान ल्याइसके भने केही ल्याउने सोचमा छन् ।
नयाँ विमान कम्पनीको रुपमा श्री एयरलाइन्सले पनि आफ्नो सेवा थाल्न लागेको छ । हालैमात्रै यसले एउटा विमान ल्याइसकेको छ भने अर्काे छिट्टै ल्याउन लागेको छ । तीनवटा विमान ल्याएसँगै यसले उडान भर्ने योजना बनाइरहेको छ ।
समिट(गोमा) एयरलाइन्सले हालै मात्रै दुईवटा जहाज थपेको छ । यससँगै समिटका ६ वटा विमान भएका छन् । यसको उडान दुर्गम क्षेत्रमा केन्दि्रत रहेको छ ।
सौर्य एयरलाइन्सले पनि हालै एउटा विमान थपेको छ । यसपछि सौर्यका दुईवटा विमान भएका छन् । बुद्ध एयरलाइन्सले केहि समयअघि एउटा जहाज थपेको थियो, जसले उडानसमेत सुरु गरिसकेको छ । बुद्धले अझै एउटा विमान थप्न लागेको छ । अक्टोबरमा नयाँ विमान ल्याउने तयारी भइरहेको बजार व्यवस्थापक जोशी बताउँछन् ।
त्यस्तै यती एयरलाइन्सले पनि आउँदो मे महिनाको मध्यतिर नयाँ जहाज ल्याउन लागेको छ । साथै सञ्चालनमा आउने तयारीमा रहेको श्री एयरलाइन्सले अन्य दुई जहाज ल्याउने तयारीमा छ ।
प्रतिक्रिया 4