Comments Add Comment

तपाईंको घरमा पानी ल्याउने ट्यांकरमा निलो स्टिकर छ ?

स्टिकर प्रणाली लागू गर्दै खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारी

१२ बैशाख, काठमाडौं । तपाईंको घरमा पानी ल्याउने ट्यांकरमा कस्तो रंगको स्टिकर छ भनेर हेर्ने गर्नुभएको छ ? यदि छैन भने आजैबाट हेर्नुहोस् । किनकी ट्यांकरमा टाँसिएको स्टिकरको रंगअनुसार तपाईंले पानीको प्रयोगमा ध्यान दिनुपर्ने हुन्छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यही बैशाख ५ गतेबाट खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्री वितरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ । हालसम्म काठमाडौंमा पानी बोक्ने करिब डेढसय ट्यांकरहरुको पानी परीक्षण गरी पानी अनुसारको स्टिकर प्रदान गरिएको छ ।

कुन रंगको स्टिकरको पानी कस्तो ?

खानेपानीको शुद्धता जाँचेर बोर्डले ट्यांकरमा निलो, पहेंलो र हरियो स्टिकर लगाउँछ । निलो स्टिकर लगाएको ट्यांकरको पानी नउमालीकन सिधै पिउन मिल्छ । निलो स्टिकर लगाइएको ट्यांकरको पानी फिजिकल, केमिकल र माइक्रोबाइलोजिकल तिनै हिसाबले उपयुक्त मानिन्छ ।

पहेलो स्टिकर भएको पानी उमालेरमात्र पिउन मिल्छ । यस्तो पानी नउमाली पिएमा स्वास्थ्यमा समस्या देखिन सक्छ । पहेंलो स्टिर लगाएको ट्यांकरको पानी पिउनबाहेक अन्य कामको लागि भने प्रयोग गर्न सकिन्छ ।

पानीको परीक्षण गर्दा फिजिकल र केमिकलमात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्रा कम रहेछ भने त्यस्तो ट्यांकरलाई पहेंलो स्टिकर प्रदान गरिन्छ ।

हरियो स्टिकर प्रयोग भएको ट्यांकरको पानी पिउन मिल्दैन । त्यो पानी हात मुख, धुन, शरीर सफा गर्न र भाँडा माझ्नमात्र प्रयोग मात्र सकिन्छ । पानीको परीक्षण गर्दा माइक्रोबाइलोजिकलको हिसाबले उपयुक्त छ तर फिजिकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्यांकरलाई हरियो स्टिकर दिइन्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बाट सञ्चालित अधिकांश ट्यांकरहरुले निलो स्टिकर पाएका छन् ।

पानी भर्ने र खसाल्ने स्थानमा परीक्षण

पानी बोक्ने ट्यांकरहरुले सञ्चालन अनुमति लिनका लागि निवेदन दिँदा अनिवार्य रुपमा पानीको स्रोत र स्थान खुलाउनुपर्छ । पानीको ट्यांकरहरुले दिएको निवेदनको आधारमा बोर्डले सम्बन्धित ठाउँमा गएर पानीको स्रोत परीक्षण गर्दछ । पानीको स्रोतमा गएर परीक्षण गरी बोर्डले स्टिकर दिएपछि मात्र ट्यांकरहरुले पानी भर्न पाउँछन् । ट्यांकरहरुले उक्त पानी कुन स्थानमा लगेर खसाल्न हो त्यो कुराको समेत खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी दिनुपर्ने हुन्छ । बोर्डले त्यहि अनुसार पानी वितरण गर्ने ठाउँमा गएर पनि ट्यांकरमा रहेको पानीको परीक्षण गर्दछ ।

खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई पानी बोक्ने ट्यांकरहरुको पानी परीक्षण गरी पिउनयोग्य भएको प्रमाणस्वरुप स्टिकर लगाउन निर्देशन दिएका थिए । उनले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परीक्षण हुन नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको, सर्वसाधारणसँग जथावाभी मूल्य लिएको गुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको शाहीले बताए ।

ट्यांकरमा स्टिकर छैन भने उजुरी गर्नुस्

स्टिकर प्रणालीमा समावेश नभएका पानीका ट्यांकरबाट पानी वितरण गरेको भेटिए खानेपानी मन्त्रालयको टोल फ्री नम्बर १६६००१४२१११ मा आम नागरिकले जानकारी गराउन सक्छन् । यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन । गुनासो वा उजुरी आए तत्काल छानविन गरी कारवाही प्रक्रियामा ल्याइने खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले बताए ।

ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परीक्षण हुन नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको, सर्वसाधारणसँग जथावाभी मूल्य लिएको गुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको शाहीले बताए ।

शुद्धतामा सम्झौता हुँदैनः मन्त्री शाही

उनले पानीको शुद्धता कायम राख्न र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन उक्त विधि अवलम्बन गर्न निर्देशन दिएका छन् ।

‘गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन्,’ उनले भने, ‘स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए तुरुन्त कारवाही हुन्छ ।’

मन्त्री शाहीले भने, ‘अनुगमन र परीक्षणलाई प्रभावकारी बनाएर जनतालाई सहुलियत दरमा शुद्ध पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । यसमा कसैसँग सम्झौता हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment