
२० बैशाख, काठमाडौं । बहुदल र निर्दलबीच जनमत संग्रह हुँदा ०३७ सालमा काठमाडौं लगनटोलका १६ वर्षीय किशोर विद्यासुन्दर शाक्य लहलहैमा लागेर बहुदलको पक्षमा हिँडे । खानदानी नेवार परिवारका छोरा राजनीतिमा लाग्नु, त्यो पनि निरंकुश पञ्चायत विरुद्ध, यो त सम्भव नै थिएन । तर, कम्युनिस्ट पार्टीका मान्छेहरुको संगतले उनलाई पुस्तौनी ब्यापार व्यवसायबाट राजनीतितर्फ धकेल्यो ।
धकेलिँदा धकेलिँदै विद्यासुन्दर शाक्य आज देशको राजधानी काठमाडौं महानगरको मेयरका मुख्य दाबेदार बनेका छन् । आम राजधानीबासीका लागि विद्यासुन्दर नयाँ अनुहार भए पनि काठमाडौंको भित्री नेवारी बस्ती र एमाले पंक्तिमा उनी स्थापित नेता हुन् । कुनै राजनीतिक, आर्थिक र चारित्रिक विवादमा नआउनु नै उनका लागि मेयरको उम्मेदवार बन्ने मुख्य सम्पत्ति बन्न पुग्यो ।
एमाले बाहिरका मान्छेले विद्यासुन्दर काठमाडौंको मेयरको उम्मेदवार बन्दै गर्दा उनको बायोडाटा खोज्दै थिए । केशव स्थापित जस्ता चर्चित र जीवनराम जस्ता खेल क्षेत्रबाट स्थापित नेताको बीचबाट एकाएक विद्यासुन्दर काठमाडौंको मेयरमा सर्वसम्मत रुपमा अघि सारिँदा एमाले बाहिर आश्चर्य नै भयो ।
शालीन व्यक्तित्व, तीनपटक लगातार वडाध्यक्ष भएका र काठमाडौंको विकास निर्माणका निरन्तर सहभागिता शाक्यको विशेषता हो । सघन नेवार बस्तीको अगुवा हुनु र पार्टीमा कहिल्यै विवादित नहुनु उनको उम्मेदवारीका सबल पक्ष हुन् ।
तर, आम मतदाताबीच परिचित नहुनु, पार्टीको केन्द्रीयस्तरको नेता नहुनु र तटस्थ जनमत आकषिर्त गर्ने शैली नहुनु उनका दुर्बल पक्ष हुन् ।
को हुन् विद्यासुन्दर ?
एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा प्रस्तुत भएका विद्यासुन्दर शाक्य काठमाडौँकै लगनटोलमा जन्मिएका हुन् । । वि.सं. ०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरे । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य ०३६ देखि राजनीतिमा लागेका हुन् ।
उनी तत्कालीन नेकपा म्ाालेमा आवद्ध भएपछि ०४३ सालको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवारका रुपमा वडाध्यक्ष निर्वाचित भए । २६ वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधिको भूमिका उपस्थित भएका शाक्यले त्यसयता लगातार ०४९ र ०५४ को स्थानीय चुनावमा पनि २१ नम्बर वडाबाट वडाध्यक्ष जिते ।
उनको जीवनको संयोग नै हो कि अहिलेसम्म उनी जुन चुनावमा उम्मेदवार बने ती सबैमा जितेका छन्, चाहे पार्टी बाहिरको होस् वा भित्र । निरन्तर लाग्ने तर छलकपट नगर्ने स्वाभावकै कारण उनले टिकट पाउँदा पार्टीभित्र मेयरको दाबी गरिरहेका अरु आकांक्षीले सहजै उनलाई स्वीकार गरेर चुनाव प्रचारमा हिँड्न तयार भए ।
मेयर नपाए स्वतन्त्र उम्मेदवार बन्न सक्छन् वा अर्को पार्टीबाट उम्मेदवार बन्न सक्छन् भन्ने अड्कल काटिएका केशव स्थापितले विद्यासुन्दर आफूपछिको अब्बल नेता भन्दै महानगरको विकासका लागि उनको बिजय अनिवार्य रहेको घोषणा गरिदिए । केशव स्थापितले विद्यासुन्दरलाई जुरुक्कै बोेकेर हिँडेपछि काठमाडौंमा एमालेको चुनावी अभियानले गियर लिएको जिल्ला अध्यक्ष कृष्ण राई बताउँछन् ।
तीनपटक वडाध्यक्ष भएबाहेक उनी पार्टीभित्र तल्लो तहदेखि नै उठेका नेता हुन् । युवा संघको राजधानीबिाट अघि बढेका शाक्य एमालेको नगर कमिटी हुँदै जिल्ला कमिटी सचिव छन् अहिले । शाक्यको विशेषता के हो भने उनी संगठनमा भित्री काम गर्छन् र भित्री नेवारी बस्तीका गुठीहरुमा पकड राख्छन् । जुन गुठीबाट कसलाई भोट दिने भन्ने सामुहिक निर्णय हुन्छ ।
विद्यासुन्दरको महानगर सपना, जसलाई उनी विपना बनाउन चाहन्छन्
सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरको उम्मेदवार बनेको शाक्यको भनाइ छ । शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर होइन, देखिने महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अनलाइनखबरकर्मीसँग भेट हुँदा उनी काठमाडौंको झोँछेका स्थानीय नेवाःसमुदायका अगुवाहरुसँग चुनावी गफगाफ गर्दै थिए । नेपाल भाषामा उनले आफ्नो योजना सुनाउँदै भने-अब काठमाडौंको परम्परागत नेवाः संस्कृति र पहिचान जोगाउँदै सम्पूर्ण देशबासीले गर्व गर्न सक्ने वृहत्तर शहर बनाउनु छ । जसमा बाहिर र भित्रको मानसिक बिभाजन अन्त होस् ।
त्यसपछि अनलाइनखबरसँग कुरा गर्दै उनले काठमाडौंको विकासको भिजन सुनाए ।
केशव स्थापितको भिजनलाई पनि उनले ग्रहण गरेका छन् । उनले भने-केशव स्थापित मेयर हुँदा काठमाडौंको सडक बिस्तार, माइतीघर मण्डला र रत्नपार्क जस्ता गर्व गर्न लायक काम भए । स्थापित र हाम्रो टिमले त्यो बेला शुरु गरेको कामलाई निरन्तरता दिँदै अब महानगरबासीले गर्व गर्ने शहर बनाउनेछौं ।
मेट्रो रेल, मोनो रेल र स्मार्ट यातायात
महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न उनले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना उनले महानगरबासीसमक्ष प्रस्तुत गरेका छन् । आफूले जितेमा ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने योजना सुनाएका छन् ।
राजधानीमा मेट्रो रेल सञ्चालनका लागि आफूले जित्नेवित्तिकै डीपीआर तयार पार्ने र दुई वर्षभित्र मेट्रो रेल निर्माण गरिसक्ने महत्वाकांक्षी योजना अघि सारेका छन् ।
तर, विश्वका बिभिन्न देशको भ्रमण गरिसकेका उनी भन्छन्- यो महत्वाकांक्षी होइन, हामीले गर्न सक्ने योजना हो । गरेर देखाउँछौं, नत्र महानगरबासीले ५ वर्षपछि हामीलाई दण्डित गरे हुन्छ ।
शहरभित्र दिनको २० घण्टा सार्वजनिक यातायात सञ्चालन गर्ने र कुनै पनि स्थानमा ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी सार्वजनिक यातायात व्यवस्था मिलाउने उनको दाबी छ । साइकल लेन, अपांग मैत्री फुटपाथ र स्मार्ट पार्किङ प्रणालीको भिजन उनले अघि सारेका छन् ।
सिस्नेरीको पानीः क्लिन द सिटी अभियान
काठमाडौंको खानेपानी समस्या समाधान गर्न उनले मेलम्ची बाहेक सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्ने र अन्य स्रोतहरुको व्यवस्थापन गर्ने वृहत्तर योजना बनाएका छन् । त्यस्तै अहिलेको भवन निर्माण मापदण्ड परिवर्तन गरी उचित क्षतिपूर्तिसहित हाउस पुलिङ एकीकृत बस्ती विकास गर्ने उनले योजना अघि सारेका छन् ।
काठमाडौंलाई कसरी स्मार्ट सिटी बनाउने भन्ने योजना उनले लिखितरुपमा नक्सासहित तयार पारेका छन् । महानगरको नागरिक भएकोमा गर्व महशुस गराउन महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गरिने उनले बताएका छन् ।
काठमाडौंको धुँवाधुलो र प्रदुषणबाट पीडित भएका महानगरबासीलाई विद्यासुन्दर शाक्यले आफ्नो योजना यसरी अघि सारेका छन्- क्लीन द सिटी’ अभियानको थालनी गरिनेछ ।
नयाँ योजना र कार्यक्रमसहित काठमाडौँलाई धूलो र धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहर निर्माण गरिनेछ ।
८० वर्ष माथिकालाई १२ हजार भत्ता
एमालेका उम्मेदवार शाक्यले ८० वर्षमाथिका जेष्ठ नागरिकलाई वाषिर्क १२ हजार रुपैयाँ महानगरपालिकाको तर्फबाट अलग्गै जेष्ठ नागरिक भत्ता उपलव्ध गराउने योजना अघि सारेका छन् । त्यस्तै जेष्ठ नागरिक, अपांग र बालवालिकालाई सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न विशेष कार्डको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4