Comments Add Comment

एमालेले भन्यो- माओवादीले गडबडी गर्ने सूचना निर्वाचन अधिकृत र प्रहरीलाई पहिले नै दिइएको थियो

तत्काल पुनः मतगणना गर्न र मतपत्र च्यात्नेलाई कानुनी कारवाही गर्न माग

१५ जेठ, चितवन । नेकपा एमालेले माओवादी पक्षबाट कुनै पनि बेला भरतपुरको मतगणनास्थलमा अप्रिय घटना हुन्छ भन्ने सूचना दिँदा दिदै निर्वाचन अधिकृत र प्रहरी प्रशासनले बेवास्ता गर्दा माओवादी कार्यकर्ताले पतपत्र च्यात्ने मौका पाएको दावी गरेको छ ।

एमाले चितवनले सोमवार पत्रकार सम्मेलन गरी मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई कानुनी कारवाही गरी तत्काल मतगणना सुचारु गर्न माग गरेको छ । एमाले जिल्ला अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले मतगणना भइरहेको बेला माओवादीका जिल्ला अध्यक्षले नै कर्मचारीमात्र बस्ने ठाउँमा पुगेर मतपत्र खोसेर च्यातेको आरोप लगाए ।

पोखरेलले भने-मतगणनास्थलमा माओवादीले केही गडबडी गर्दैछन् भन्ने सूचना हामीले सम्बद्ध पक्षलाई दिएका थियौं । अचानक मध्यरातमा छापामार शैलीमा मतपत्र च्यातियो । तत्काल पुनः मतगणना हुनुपर्छ । यो सत्ताको आडमा गरिएको अपराधिक कर्म हो ।

च्यातिएको मतपत्र अलग राखी बाँकी मतपत्रहरु तत्काल गणना हुनुपर्ने माग एमालेले निर्वाचन आयोग समक्ष राखेको छ । पार्टीको मागलाई निर्वाचन आयोगले कुनै सुनुवाई नगरेको प्रति एमालेले आपत्ति जनाएको छ ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालको पराजय निश्चित भैसकेपछि योजनाबद्ध ढंगबाट मतगणनास्थल भित्र प्रवेश गरी मतपत्र च्यातिएको आरोप लगाए ।

एमालेले माओवादीको माथिल्लो निर्देशनमै छापामार शैलीमा उक्त पार्टीका द्रोण शिवाकोटी, मधु न्यौपाने र दिलिप पौडेल लगायतका मतगणना प्रतिनिधिहरुले कर्मचारीको हातमा रहेको र भुइमा थुपारिएका मतपत्र आफ्नो हातमा लिई च्यातेको बताएको छ ।

एमालेले विज्ञप्तिमा भनेको छ- सरकारको नेतृत्वमा रहेको दलका प्रतिनिधिले सुनियोजित रुपमा मतपत्र च्यात्ने कार्य गरेका छन् । हामीले बेला बेलामा सुरक्षा निकाय र निर्वाचन अधिकृतलाई जानकारी दिदा बेवास्ता गरियो । त्यसलाई गम्भिरतापूर्वक नलिई सुरक्षाको तयारी नगर्दा यस्तो घटना हुन पुग्यो ।

मतपत्र च्यातेको भन्दै आइतवार राती नै मतगणनास्थलबाट प्रहरीले वाईसीएलका जिल्ला अध्यक्ष मधु न्यौपाने र द्रोण शिवाकोटीलाई पक्राउ गरेको थियो । एमालेले च्यातिएको अवस्थाका मतपत्रको बारेमा सञ्चारकर्मीहरुलाई भित्र गएर भिडियो खिच्न समेत निर्वाचन कार्यालयले रोक लगाउनुले घटना नियोजित भएको आशंका गरेको छ ।

घटना हुनसक्ने सूचनाका आधारमा पूर्व जानकारी गराउँदा पनि उचित सुरक्षा व्यवस्था नअपनाउनु, पटक-पटक मतगणना अवरोध गरिनु, ढिलासुस्ती गरिनुका पछाडि राज्य सत्ताको सुनियोजित योजना मुताविक गरिएको एमाले चितवनका अध्यक्ष पोख्रेलले आरोप लगाए ।

माओवादीले १९ नम्बर वडाको गणना सकिँदा अपेक्षित मत पाउन नसकेपछि हार्ने निश्चित भएर मतपत्र च्यातेको आरोप एमालेले दोहोर्‍याएको छ । माओवादी नेताहरुले मतपत्र च्यात्न थालेपछि त्यसको प्रतिवाद गर्न खोज्दा प्रहरीसँग भनाभनका क्रममा पक्राउ परेका एमाले कार्यकर्ता गंगा लामा भने रिहा भइसकेको एमालेले जनाएको छ ।

दिउँसो १ बजे बिरोध सभा गर्ने

सुरक्षा घेराकावीच मतगणनास्थलमा नै मतपत्र च्यातिएको बिरोधमा एमालेले आज दिउँसो १ बजे भरतपुरको चौविसकोठीदेखि पूल्चोकसम्म बिरोध र्‍याली र सभा गर्ने भएको छ । मतगणना कार्य यथाशीघ्र सञ्चालन गर्न माग गर्दै सभा गर्न लागिएको एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment