२६ जेठ, गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको जिर्णाेद्वार तोकिएको समयमा नहुने भएको छ । मन्दिरको जिर्णोद्वार चालू वर्षभित्रै सक्ने लक्ष्य राखिए पनि निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएको हो ।
मन्दिरको अहिले दोस्रो तलाको काम भइरहेको जिर्णाद्वार समितिले जनाएको छ । ‘पहिलो तलाको काम सकेर दोस्रो तलाको काम गरिरहेका छौ,’ समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने, ‘०७४ सालमा स्ट्रक्चर तयार गरिसक्छौ र अलिकति फिनिसिङ बाँकी रहन्छ ।’
प्राविधिक कठिनाइका कारण सुनको जलप लगाउने काम लक्ष्य अनुसार हुन नसक्दा तोकिएको समयमा जिर्णाेद्धार कार्य सम्पन्न नहुने उनले बताए ।
‘मंसिरसम्म स्टक्चर तयार गरिसक्छौं तर छानामा तामा बिछ्याएर सुुनको जलप लगाउने काममा केही ढिलाइ हुन सक्छ,’ श्रेष्ठले भने, ‘आइतबारदेखि माथिल्लो गाह्रोको काम शुरु गर्ने तयारी गरिएको छ । काठमाडौंबाट कामदार बोलाइसकेका छौ, मौसमले साथ दिए एक महिनामा गाह्रो लगाउने काम सकिन्छ ।’
माथिल्लो तलाको टुँडाल र झ्याल राख्न केही महिना लाग्ने उनले बताए । संरचना निर्माण भएसँगै ‘कम्पाउण्डिङ’ को काम हुने बताइएको छ ।
अहिले मन्दिरअगाडिको चौतारामा भगवतीको प्रतिमा स्थापना गरी पूजाको व्यवस्था मिलाइएको छ ।
भूकम्पअगाडि दक्षिण पश्चिमतर्फ करिब ६ इन्च ढल्किएको मन्दिर भूकम्पले थप एक फुट ढल्काएपछि जिर्णाद्वार थालिएको हो । नाकावन्दी र काठ अभावका कारण केही महिना जिर्णाेद्वारको काम प्रभावित बनेको थियो । तर, अहिले भने कुनै समस्या नभएको समितिले जनाएको छ । मन्दिर जिर्णोद्वारका लागि आवश्यक रकम अभाव नरहेको श्रेष्ठले बताए । जिर्णोद्वारका लागि करिव १३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4