+
+
Shares

उपत्यकामा हैजाको प्रकोपः ६५ प्रतिशत पानीको नमुना संकलनमा हैजाको जीवाणु

कसरी बच्ने हैजाको प्रकोपबाट ?

ऋचा अर्याल ऋचा अर्याल
२०७४ असार २१ गते १२:३४

वर्षायाम सुरु भएसँगै यस वर्ष ललितपुरमा तीन जनामा हैजाको संक्रमण देखिएको छ । ललितपुरको सातदोबाटो, चापागाउँ तथा खुमलटारका ३ वर्षीय बालकसहित २२ वर्षीया युवती र ६५ वर्षीया महिलामा हैजाका जीवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेलले बताए ।

गत वर्ष उपत्यकामा १७९ जनामा हैजाको जीवाणु भेटिएकोमा त्यसमध्ये ललितपुरका ११९ जनामा हैजाका संक्रमण भएको पाइएको थियो । त्यस्तै, काठमाडौंमा ३१ जनामा, भक्तपुरमा १ जनामा, धादिङमा ६ जना, काभ्रेमा १ जना, सप्तरीमा ३ जनामा तथा ठेगाना नखुलेको ८ जनामा हैजाको संक्रमण देखिएको थियो ।

‘यस वर्षको सुरुवातसँगै तीन जनामा हैजा देखिएको छ । तर, हैजाकै कारण यस वर्ष कसैको पनि मृत्यु नहोस् भन्नका लागि हामीले विशेष सर्तकता अपनाएका छौं’, जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख पौडेलले भने ।

हैजाको नियन्त्रण तथा रोकथामका लागि हाल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौं, ललितपुर तथा भक्तपुर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), ट्याङ्कर व्यवसायी लगायतका सरोकारवाला निकायसित छलफल जारी राखेको छ ।

त्यसैगरी, हैजाबाट हुन सक्ने मानवीय क्षति कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयहरुले, एनजीओ, आईएनजीअाे लगायतका सरोकारवाला निकायसित मिलेर र्‍यापिड रेस्पोन्स टिम समेत गठन गरिसकेको छ । ललितपुरको हकमा हैजाको संक्रमण भएका व्यक्तिको प्रभावकारी उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरले पाटन अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल लगायत अस्पतालहरुलाई समेत आग्रह गरेको छ ।

‘गत वर्षको जस्तै यस वर्ष पनि हैजाबाट कसैको ज्यान नजाओस् भन्नेमा हामी विशेष सतर्क छौं । यसको नियन्त्रण तथा रोकथामका लागि महाशाखाले केयूकेल तथा पानी उद्यमीहरुसितको छलफल समेत अघि बढाएको छ’, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माले भने ।

उपत्यकामा वितरण गरिने पानी विभिन्न स्रोतबाट आउने हुदाँ पनि दिसा मिसिएको पानी नियन्त्रण गर्न तथा समस्याका पहिचान गर्नमा कठिनाई हुने गरेको उनले बताए ।

त्यसैगरी, उपत्यकामा उचित ढलको व्यवस्था नहुदाँ पनि खानेपानीको पाइपमा ढल मिसिनाले पनि उपत्यकामा हैजाको संक्रमण देखिने गरेको डा. शर्माले बताए ।

६५ प्रतिशन पानीको नमुना संकलनमा हैजा गराउने जीवाणु 

जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरको एक तथ्यांक अनुसार यस वर्ष ललितपुरमा पानीको नमुना संकलनका क्रममा ६५ प्रतिशत पानीमा कोलिफर्म भेटिएको छ । यो संख्या गत वर्षको तुलनामा कम हो ।

कार्यालय अनुसार गत वर्ष पानीको नमुना संकलनका क्रममा १८० पानीको जाँच मध्य तीन वटामा हैजाका जीवाणु भेटिएको थियो । ललितपुुरस्थित बंगलामुखीको ढुङ्गेधाराबाट आउने पानी सुनाकोठी तथा ललितपुर सुन्धारास्थित ओपु बहालमा त्यहाँका स्थानीय युवा क्लबले बेच्न राखेको पानीमा कोलिफर्म भेटिएको थियो ।

त्यसबाहेक, पानीको नमुना संकलनमध्ये १५६ वटामा हैजा गराउन सक्ने कोलिफर्म भेटिएको थियो भने जम्मा २५ वटा पानी मात्र खान योग्य पाइएको थियो ।

‘ललितपुरमा पानीको स्रोत धेरै छ । अनुगमन पनि धेरै भएका छन्’, जिल्ला जनस्वास्थय कार्यालय ललितपुरका ल्याब टेक्निसियन शंकर पौडलले अनलाइनखबरसित भने, ‘त्यसबाहेक अहिले केयूकेएलले सातदोबाटो, चापागाउँ लगायतका सुनाकोठी जाने बाटोमा खानेपानीको पाइप बिछ्याउने काम जारी राखेको छ । खानेपानीको पाइप बिछ्याउँदा पानीमा ढल मिसिएको र त्यस्ता पानी नउमाली खाएकोले पनि ललितपुर क्षेत्रमा हैजाको संक्रमण बढी देखिएको हुनसक्छ ।’

त्यसबाहेक, काठमाडौं उपत्यकामा सप्टी ट्यांकी र इनारबीच खासै दूरी नहुनाले पनि हैजाको प्रकोप बढ्ने गरेको उनले बताए ।
भने, ‘भवन मापदण्ड अनुसार सेफ्टी ट्यांकी र इनारबीच कम्तीमा पनि ३० मिटरको दूरी जरुरी छ । तर, काठमाडौं उपत्यकामा भने त्यो लागू भएको पाइँदैन । जसका कारण हैजाको संक्रमण पछिल्लो समय बढी हुने गरेको पाइएको छ ।’

के हो हैजा ? कसरी सर्छ ?

इपिडिमियोलोजी शाखाका अनुसार दिसा मिसिएको पानी अथवा खाना खानाले हैजा लाग्ने गर्छ ।  हैजा विशेषगरी भिव्रियो नामक ब्याक्टेरियाका कारण हुने गर्छ । यो संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ ।  दुषित पानी तथा खानाबाट समेत यो मानिसमा सर्छ ।

लक्षण 

यसको संक्रमण भएमा बिरामीलाई चौलानी जस्तो पातलो दिसा हुने, तारन्तार पखाला लाग्ने, बान्ता हुने, मांसपेशी बाउँडिने, शरीरमा पानीको मात्रा न्यून हुने, मानिस बेहोश हुने, पानी कम भएर मिर्गाैला फेल भई मानिस मर्न समेत सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष २८ हजार देखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् । इपिडिमियोलोजी शाखाका अनुसार नेपालमा भने हैजाकै कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनुनपरेको तथ्यांकमा उल्लेख छ ।

कसरी बच्ने ?

१. बासी, झिंगा भन्केको र सडेगलेका खानेकुरा नखाने ।

२. खाना खानुअघि राम्ररी साबुन-पानीले हात धुने ।

३. पानी शुद्धीकरण गरेर मात्र पिउने । यसका लागि पानी उमाल्ने अथवा एक लिटर पानीमा पीयूष नामक औषधी तीन थोपा वा अन्य क्लोरिन प्रयोग गरेर पनि शुद्धीकरण गर्न सकिन्छ ।

४. जारकै पानीमा समेत कोलिफर्म, ई.कोली लगायत जीवाणु देखिने हुँदा जतासुकै बेच्न राखिएको जार तथा बोतलको पानी नखाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?