Comments Add Comment

नेपाल आइडलबाट ‘आउट’ भएपछि विद्या भन्छिन्- संगीतबाट कहिल्यै आउट हुन्नँ


२१असार, काठमाडौं । एपी वान टेलिभिजनमा प्रशारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ अहिले चर्चामा छ । थुप्रै आशालाग्दा गायन प्रतिभाहरु यस शोबाट प्रस्फुटन भइरहेका छन् ।


विद्याले आफ्नो गायन र नेपाल आइडलको अनुभव उनले अनलाइनखबरसँग सेयर गरेकी छिन् । प्रस्तुत छ, विद्याको अनुभूति उनकै शब्दमाः
देशका विभिन्न स्थानमा लिइएको अडिसनबाट १ सय ५० जना युवा-युवती छनोट भएका थिए । उनीहरुबाट छानिएर अहिले १२ जना प्रतिस्पर्धीहरु बाँकी छन् । यस क्रममा सम्भावना बोकेका केही प्रतिभाहरु प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनीहरु मध्येकी एक हुन् विद्या तिवारी । उनी टप १८ को लडाईंमा हारेर गत साता शोबाट बाहिरिएकी हुन् ।

संगीतमा मेरो सानैदेखि रुची थियो । सरकारी जागिरे मेरो बुवा संगीतप्रेमी हुनुहुन्छ । उहाँको आवाज कुनै प्रोफेसनल गायकको भन्दा कम छैन । बुवाकै गुण सायद ममा सर्‍यो ।

म करिब ११ वर्षकी छँदा हेटौंडामा दोस्रो ‘नेपाली तारा’को अडिसन भएको थियो । मैले बुवासँग सो अडिसनमा भाग लिने इच्छा व्यक्त गरेँ । बुवाले एउटा गीत गाएर सुनाउन भन्नुभयो । मैले गाएँ, जहाँ छन् बुद्धका आँखा । उहाँ मेरो गायनबाट अचम्मित नै हुनुभयो र तुरुन्तै मलाई अडिसनमा जाने अनुमति दिनुभयो ।

मैले अडिसन दिएँ र छानिएँ पनि । तर, पछि काठमाडौं गइनँ । सानो उमेर र पढाई छुट्ने कारणले गर्दा ।

पछि प्लस टु पढ्दै गर्दा मैले ‘खोजी प्रतिभाको’ मा अडिसन दिएँ । त्यसमा पनि छनोट भएँ । तर, फेरि पनि काठमाडौं गइनँ, किनकी मेरो परीक्षा नजिकै आएको थियो ।

इन्ट्री कार्ड पाउँदाको क्षण

प्लस टु सकेर म काठमाडौं आएँ । काठमाडौं आउनुका तीन उद्देश्य थिए । पहिलो ब्याचलर पढ्ने, दोस्रो संगीत सिक्ने र तेस्रो विदेशको लागि ‘ट्राई’ गर्ने ।

तर काठमाडौं आएको केही समयमै मैले विदेश जाने मोह त्यागिदिएँ र संगीतमै आफ्नो भविष्य खोज्ने निश्चय गरेँ । पहिले रेडियो नेपालमा र पछि प्रमोद प्रसाई गुरुकहाँ संगीत सिक्न थालेँ । ब्याचलर पढ्नलाई एभरेस्ट कलेजमा भर्ना भएँ । अहिले बिबिएस अन्तिम वर्षमा पढिरहेकी छु ।

केही समय पहिले मिडियाहरुमा नेपाल आइडलको प्रोमो र विज्ञापन आउन थाल्यो । सुरुमा त कस्तो, के हो भन्ने लाग्यो । तर पछि इन्टरनेसनल फ्रेन्चाइज हो भनेपछि कौतुहलता जाग्यो । गुरुले पनि भाग लिन सल्लाह दिनुभयो ।

काठमाडौंमा भएको अडिसनमा भाग लिन एक्लै पुगेँ । ‘सम्हालिन्छ मन’ बोलको गीतको लागि तयारी गरेकी थिएँ । पाश्चात्य शैलीको यो गीतलाई म क्लासिकल टच दिएर गाउने अभ्यास गरेकी थिएँ । मलाई मेरा गुरुले यसमा सहयोग गर्नुभएको थियो ।

तर, अडिसनका लागि लाइन बस्दाखेरी निकै दोधार भयो । यो गीत गाउँदा जजहरुले कतै ‘ओरिजिनल’ गीतलाई तोडमोड गरेको भनेर नकारात्मक रुपमा लिनुहुने पो हो कि भन्ने लाग्यो । अरु सबै प्रतियोगीहरुले हुबहु ओरिजिनल गीत जस्तै गाउन प्रयास गरिरहेका थिए । तर मैले सोचेँ, ‘नो रिस्क नो गेन’ ।

मेरो पालो आयो । र, मैले आफूले सोचेकै स्टाइलमा ढालेर सो गीत गाएँ । जजहरुले सुरुमा त अत्याउनुभयो । यति राम्रो गीतलाई किन बिगारेको भनेर रिसाए झैं गर्नुभयो । न्हू बज्राचार्य दाइले सोध्नुभयो, ‘यदि मोनालिसाको तस्वीरमा कसैले बाहिरबाट रंग छर्किदियो भने कस्तो देखिन्छ ?’

मैले तत्कालै जवाफ दिएँ, ‘ब्यूटिफुल देखिन्छ ।’

उहाँहरु तीनै जना हाँस्नुभयो र मलाई राम्रो गाएको भन्दै इन्ट्री कार्ड दिनुभयो ।

०००
अडिसन राउन्डबाट सेलेक्ट भएपछि क्लोज क्याम्पमा बसियो । सुरुमा करिब एक सय ३५ जना जति थियौं होला । हामीलाई गौशालाको थ्रीस्टार पशुपति भिजन होटलमा राखियो ।

त्यहाँ आफूखुशी हिँडडुल गर्न पाउँदैनथ्यौं । दिनभरीको सेड्युल हुन्छ, त्यसैमा चल्नुपर्छ । प्रतियोगीले खाने-लाउने, बस्ने, हिँडडुल गर्ने, औषधोपचार गर्ने लगायत सम्पूर्ण खर्च आयोजकले नै गर्छ । प्रतियोगीहरु कुन ड्रेसअपमा, कस्तो लुक्समा प्रस्तुत हुने भन्ने ड्रेस डिजाइनर, मेकअप आर्टिस्ट र हेयर डिजाइनरको हातमा हुन्छ । म आउँदा लामो कपाल थियो, निल डेभिड सरले काटेर छोटो बनाइदिनुभयो । कसरी बोल्ने, कसरी हिँड्ने र गाउँदा कसरी पर्फम गर्ने भन्ने सबै सिकाइन्छ । नेपालमा यत्तिको गुणस्तरको गायन प्रतियोगिता सायद पहिले भएको थिएन होला ।

क्लोज क्याम्पमा बस्दा धेरै रमाइलो भयो । सबैजना साथीहरु रंगीन मिजासका थिए । हाँसो-ठट्टा खुब चल्थ्यो । सबैभन्दा बेसी हसाउँथे असरफ अलीले । उनी भएपछि माहोल नै अर्कै हुन्थ्यो । हामी सबैको दुरुस्त क्यारिकेचर गर्थे । उनी पनि मसँगै आउट भए । म आउट हुँदा भन्दा असरफ आउट हुँदा धेरैलाई खल्लो लागेको हुनुपर्छ ।

‘आउट’हुँदा पछुतो छैन

अडिसन राउन्डपछि थिएटर राउन्ड भयो । त्यसमा मैले ‘खुल्ला आकाशमा’ बोलको गीत गाएँ । यो गीतबाट मैले अत्यधिक प्रशंसा पाएँ । जजहरुबाट पनि र सपोर्टरहरुबाट पनि । यसबाट मेरो कन्फिडेन्स निकै बढ्यो ।

यो गीत गाएपछि मलाई धेरैले मेरो स्वर पाश्चात्य शैलीको गीतमा म्याच हुने रहेछ भन्ने प्रतिक्रिया दिनुभयो । तर, मलाई भने जुन जनरको गीत पनि राम्ररी निभाउन सक्छु भन्ने घमण्ड थियो । टप १८ को प्रतिस्पर्धामा मैले आफ्नो भर्सटाइल क्षमतालाई प्रुफ गर्ने बिचार गरेँ ।

सो राउण्डमा धेरैजसोले पप गीत नै गाइरहनु भएको थियो । मैले चाहिँ मेलोडियस र स्याड गीत रोजेँ । मेरो छनोटमा पर्‍यो, पुरानो फिल्मी गीत ‘के सोचेँ मैले के भयो अहिले’ ।

हुन पनि मैले के सोचेको थिएँ के भयो ! मैले गाएको गीत जजहरुले मन पराउनुभयो र फरक धारको गीत गाएकोमा धन्यवाद पनि दिनुभयो । तर, भोटिङमा म पछि परेँ । र, यही चरणबाट आउट भएँ ।

आउट भएपछि मलाई धेरैले गलत गीत चयन गरेको भनेर कमेन्ट गरिरहनुभएको छ । सायद पप गीत नै छानेको भए म सेलेक्ट हुन पनि सक्थेँ होला । तर, मलाई यसमा कत्ति पनि पछुतो छैन ।

कालीप्रसादको संगीतमा गाउने धोको 

शोबाट निस्कँदा मलाई आफ्नै परिवारबाट छुट्टिएजस्तै भइरहेको छ । म सबै जनासँग घुलमिल भएकी थिएँ । सबैलाई मिस गरिरहेकी छु । त्यसमा पनि निशान भट्टराई, मेनुका पौडेल, सुजाता पाण्डे, प्रताप दासलाई बढी मिस गर्छु ।

सुजाता र मेनुका मेरा रुममेट थिए । मेनुकाबाट त म धेरै इन्स्पायर्ड छु । उनी आँखा नदेखे पनि हामीभन्दा टाठी र फुर्तिली छिन् । केही काम गर्न पनि अरुको सहारा चाहिँदैन । आफैं मोबाइलमा फेसबुक चलाउँछिन् । स्वर उनको निकै तगडा छ । बोल्न पनि उत्तिकै फरवार्ड ।

त्यहाँ धेरैजसोले मलाई दिदी भन्थे । प्रताप दासलाई त भाइ नै बनाएकी छु । मभन्दा ठूला पनि हुनुहुन्थ्यो । उहाँहरुले मलाई सिकाउनुहुन्थ्यो ।

जजहरुले पनि मलाई धेरै माया गर्नुभयो । मैले गाएका सबै गीतहरुमा उहाँहरुले एकदम पोजेटिभ कमेन्ट्स दिनुभएको थियो । उहाँहरु तीन जनामध्ये मेरो फेभरेट कालीप्रसाद दाइ हुनुहुन्छ । भविष्यमा उहाँको संगीतमा गीत गाउने ठूलो धोको छ । यद्यपि यो कुरा मैले उहाँलाई भन्न सकिनँ ।

‘आई लभ यू’ भन्नेहरू धेरै 

नेपाल आइडलमा भाग लिएर मैले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि भनेको फ्यान फलोइङ हो । सुरुमा नेपाल आइडलको प्रोमो फाल्दा त्यसमा मेरो अडिसन समावेश गरिएको थियो । त्यसयता नै मैले अत्यधिक रेस्पोन्स पाउन थालेँ । मेरो आवाज धेरैले मन पराउनुभयो । फेसबुकमा एक दिनमै सयौं फ्रेन्ड रिक्वेस्टहरु आउन थाले । त्यसपछि मैले फेसबुक पेज खोले । यति छोटो समयमै मेरो पेजमा १० हजार लाइक पुगिसकेको छ ।

मलाई फेसबुकमा धेरै म्यासेज आउँछन् । सबैले हौसला दिइरहनु भएको छ । ‘आई लभ यू’ भनेर पनि धेरै आउँछन् । तर, यसलाई मैले प्रेम प्रस्तावको रुपमा लिएको छैन । उहाँहरुले मेरो गायनलाई प्रेम गर्नुभएको हो भन्ने लाग्छ । सबैलाई धन्यवाद भन्छु ।

नेपाल आइडलबाट आउट भएपछि अत्यधिक म्यासेजहरु आइरहेका छन् । सबैले दुःख व्यक्त गर्नुभएको छ र संगीत क्षेत्रबाट टाढा नरहन आग्रह गर्नुभएको छ । म सबैलाई आश्वस्त गराउन चाहन्छु कि नेपाल आइडलबाट बाहिर निस्के पनि संगीतबाट म कहिल्यै बाहिर निस्किने छैन । यो त मेरो सांगीतिक यात्राको आरम्भ मात्रै हो । धेरै टाढा जानुछ मैले ।

नेपाल आइडलमा भाग लिँदा मैले टाइटल नै जित्छु भन्ने महत्वाकांक्षा लिएको थिइनँ । मैले केवल एउटा प्लेटर्फम खोजिरहेकी थिएँ । आफ्नो आवाज पब्लिकलाईर् सुनाउन चाहिरहेकी थिएँ । जुन उद्देश्य पूरा भयो ।

कम्तिमा टप टेनसम्म पुग्न सक्छु भन्ने आत्मविश्वास चाहिँ थियो । तर, प्रतिस्पर्धा एकदम टफ छ । सबैजना एक से एक छन् । को आउट हुन्छ र को माथि पुग्छ भन्न सकिँदैन । टप १८ मा पुग्नु पनि मेरो निम्ति ठूलै उपलब्धि हो ।

मसँग एउटा गीत तयार छ, जुन चाँडै नै रेकर्ड गराउनेछु । म आफूलाई भर्सटाइल सिंगरको रुपमा चिनाउन चाहन्छु । कुनै एउटा दायराभित्र बाँधिन चाहन्न । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाउन सक्छु भन्ने आत्मविश्वास छ ममा ।

०००
म सबै प्रकारका गीत सुन्छु । नेपाली, अंग्रेजी, हिन्दी, रक, पप, क्लासिकल सबै गीतहरु । नेपालका गायक-गायिकाहरुमा मलाई नारायण गोपाल, तारादेवी, अरुणा लामाहरुको गीत अत्यधिक मन पर्छ ।

मेरो सबैभन्दा मन पर्ने नेपाली गीत हो, नारायण गोपालले गाउनुभएको ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला…।’ त्यस्तै अरुणा लामाको ‘फूललाई सोधेँ’ र माइतीघर फिल्मको ‘नमान लाज यसरी’ पनि मेरा प्रिय गीतहरु हुन् ।

म जतिबेला पनि संगीत सुन्न मन पराउँछु । यात्रामा रहँदा सँधै कानमा एयरफोन घुसारेर हिँड्छु । अरु त अरु, पढिरहँदा पनि मलाई गीत बजाउनै पर्छ । म वर्षात्मा रुझेझैं संगीतमा रुझ्न चाहन्छु ।

२०७४ असार २१ गते १२:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment