Comments Add Comment

बिराटनगर महानगरमा कांग्रेसको जित, भीम पराजुली बने मेयर

उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्की विजयी

२५ असार, बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका छन् । शनिबार मध्यरातमा सकिएको मत गणनामा मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार पराजुली र इन्दिरा कार्की विजयी भएका हुन् ।

मेयरमा विजयी पराजुलीले २३०३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढकालले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेश यादव १४९५८ मतका साथ तेस्रो स्थानमा आएका छन् ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले १०५३६ मत पाइन् । चौधरीलार्इ एमालेले सघाएको थियो  ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ ।

चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।

भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन । अर्को कान्छो नगरपालिकामध्येको वीरगञ्ज महानगरपालिकामा भने चुनाव हुनै बाँकी छ ।

बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । तर, एक्लै मैदानमा उत्रिएका कांग्रेस उम्मेदवार पराजुलीलाई गठबन्धन गर्नेहरुलेसमेत हराउन सकेनन् ।

महानगरका वडाहरुमा पनि कांग्रेस नै हावी भएको छ । कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

मेयरमा विजयी बनेपछि पराजुलीले बिराटनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment