२५ असार, काठमाडौं । साझा पार्टीका नेता रविन्द्र मिश्रले प्रथम चरणको स्थानीय चुनावका बेला आपसमा मिलेर चुनावमा जान विवेकशील नेपाली दलका उज्जल थापालाई बारम्बार आग्रह गरे पनि थापाले मानेनन् ।
विवेकशीलका थापाले रञ्जु दर्शनालाई काठमाडौंको महानगरमा मेयरको उम्मेदवार बनाए । मिश्रको साझा पार्टीले भने पूर्वसचिव किशोर थापालाई मेयरको उम्मेदवार बनायो ।
स्रोतका अनुसार उज्जल थापासँग रविन्द्र मिश्रको आग्रह के थियो भने काठमाडौंमा विवेकशील र साझा पार्टी मिलेर चुनाव लडौं, किशोर थापालाई मेयरमा उठाऔं र रञ्जु दर्शनालाई उपमेयरमा उठाऔं ।
तर, मिश्रले बारम्बार राखेको प्रस्ताव विवेकशीलले मानेन । रञ्जुलाई मेयर र किशोर थापालाई उपमेयर बनाएको अवस्थामा मात्रै मान्न सकिने खालको जवाफ पाएपछि रविन्द्र मिश्रको प्रयास विफल भयो । र काण्ठमाण्डौंमा विवेकशील र साझा पार्टीका बेग्लाबेग्लै उम्मेदवार खडा भए ।
भलै निर्वाचनको अन्तिम घडीतिर आइपुग्दा विवेकशील पार्टीले काठमाडौंको उपमेयरमा साझा पार्टीकी निरुपमा यादवलाई सघाउने घोषणा गर्यो, किनभने उपमेयरमा विवेकशीलले आफ्नो उम्मेदवारी दिएको थिएन ।
पहिलो चरणको चुनाव सकिँदा विवेकशीलकी रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकामा २३ हजारभन्दा बढी मत ल्याएपछि विवेकशील पार्टी थप हौसियो । महानगरमा रञ्जुले २३ हजार मत पाएको प्रचार-प्रसार भइरहँदा महानगरपालिकाका विभिन्न वडाहरुमा विवेकशीलका कार्यकर्ताले पाएको १०० हाराहारीको झिनो मत र जमानत जफतका विषयमा चाहिँ खासै चर्चा भएन ।
अहिले पनि काठमाडौंमा धेरै मानिसहरुले प्रश्न गर्ने गर्छन्- रविन्द्र मिश्रले भनेजसरी रञ्जु दर्शना र किशोर थापाले मिलेर चुनाव लडेको भए उनीहरुले पुरानो राजनीतिको विकल्प खोजिरहेका मतदातालाई न्याय गर्न सक्ने थिए कि ?
तर, आफूलाई वैकल्पिक, सभ्य एवं नयाँ ठान्ने विवेकशील र साझा पार्टीका नेताहरु जुँगाको लडाइँमा रमाए । तँ ठूलो कि म ठूलो भन्ने दम्भका कारण उनीहरुले वैकल्पिक रजानीतिक शक्तिलाई विभाजित अवस्थामै चुनावमा होमे । र, त्यही दम्भका कारण दोस्रो चरणमा उनीहरु अस्थित्वको संकटमा फस्न पुगेका छन् ।
पहिलो चरणमा आफूलाई डा. बाबुराम भट्टराईको नयाँशक्ति भन्दा माथि पुगिसकेको घमण्ड गर्ने विवेकशील पार्टी दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा दयनीय अवस्थामा पुगेको छ ।
काठमाडौंमा रञ्जुको भोटले रमाएको विवेकशील नेपाली दलले दोस्रो चरणको चुनावमा पनि त्यसैगरी भोट पाउने आशामा झापा र मोरङका केही जिल्लामा उम्मेदवार खडा गर्यो । तर, यसको चर्चा नै भएन ।
केराबारीकी सरस्वतीलाई ३६ भोट
रञ्जु दर्शनालाई उठाएर काठमाडौंमा राम्रै भोट बटुलेको विवेकशील नेपालीले मोरङको केराबारी ९ नम्बर वडामा रञ्जुकै उमेरकी युवती सरस्वती आचार्यलाई उम्मेदवार बनायो ।
सरस्वतीको चुनाव प्रचारमा रञ्जु दर्शना काठमाडौंबाट मोरङको केराबारीसम्म पुगिन् । त्यहाँ विवेकशील पार्टीले बजारमा सरसफाइ अभियान पनि चलायो ।
तर, काठमाडौंको किशोर पुस्तामा आकर्षणको केन्द्र बनेर भोट बटुलेकी रञ्जुले केराबारीका युवालाई आकषिर्त गर्न सकिनन् । अन्ततः रञ्जुकी सहयात्री सरस्वती आचार्यले ३६ भोटमा चित्त बुझाउनुपर्यो ।
पहिलो चरणको निर्वाचनमा काठमाण्डौंमा रञ्जु दर्शनाले ल्याएको मतबाट हौसिएको विवेकशील नेपालीले केपी ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा पनि चर्चाका लागि उम्मेदवारी दिएको थियो । र, दमकमा पनि मोरङको केराबारीमा जस्तै चुनाव प्रचारका लागि काठमाडौंबाट रञ्जु दर्शनालाई झिकाइएको थियो ।
तर, दमकका युवाले पनि केराबारीका युवाले जस्तै रञ्जु दर्शनालाई खासै भाऊ दिएनन् । दमकको मेयरमा विवेकशील नेपालीका उम्मेदवार सुवास सुवेदीले ६७ मत मात्रै पाए । उनको जमानत जफत भयो ।
झापामा साझा पार्टी र विवेकशीलका नेता-कार्यकर्ताको संस्कार पनि पुराना पार्टीका नेता-कार्यकर्ताको भन्दा खासै फरक अनुभूति जनताले गर्न पाएनन् ।
दमकमा रविन्द्र मिश्रको साझा पार्टीले अर्जुन बुढाथोकीलाई उम्मेदवार बनाएको भनिएको थियो । तर, साझा पार्टीको उम्मेदवारलाई इटहरी उपमहानगरपालिकामा विवेकशील नेपालीले सघाउने सर्तमा तालमेल गरियो । साझा पार्टीले इटहरीमा विवेकशीलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्यो ।
तर, तालमेल भए पनि दमकमा साझा पार्टीका भनिएका बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिए । पार्टीको निर्णयप्रति विद्रोह गर्दै उम्मेदवार बनेका अर्जुनले २ भोट पाए ।
दमकमा जसले आफ्नै भोट समेत पाएनन्
त्यसो त दमकको मेयर बन्ने दौडमा रहेका १५ जनामध्ये कतिपयले आफ्नै भोट समेत पाएनन् । र, यस्तो दयनीय मत पाउनेहरुको सूचीमा विवेकशील र साझा पार्टीहरु पनि दरिए ।
दमकको मेयरका लागि मैदानमा होमिएका ४ जनाले शून्य मत पाए । त्यस्तै, उपमेयरमा ९ जना उम्मेदवार बनेकोमा एक जनाले शुन्य मतमात्रै पाए ।
दमकको मेयरमा ब्याट्री चिन्ह भएका ओमनाथ बस्नेत, चमेरो चिन्ह भएका देवीप्रसाद गौतम, बिरालो चिन्ह भएका मधु थापा मगर र ज्यावल चिन्ह भएका सुन्दरे देवानले आफ्नै मत समेत आफूलाई हालेनन् ।
त्यसैगरी उपमेयरमा भित्तेघडी चिन्ह भएका प्रकाश नेपालको मत शुन्य आयो ।
सुनसरीमा पनि उस्तै
त्यसो त साझा पार्टीले इटहरी उपमहानगरपालिकामा पनि उम्मेदवारी दिएको थियो ।
इटहरीबाट साझा पार्टीले मेयरमा डा. तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियारलाई उठाएको थियो । उनीहरुलाई विवेकशीलको पनि समर्थन रहेको घोषणा गरिएको थियो । तर, उनीहरुले इटहरीमा डेढ/दुईसय भोटमै चित्त बुझाए ।
निर्वाचनमा पराजय व्यहोरेको विवेकशील पार्टीले यतिबेला २ नम्बर प्रदेशतिर ध्यान दिन थालेको छ । हालै तराईमा आएको बाढीबाट विस्थापनमा परेकाहरुलाई विवेकशीलका कार्यकर्ताले काठमाडौंबाट राहत सामाग्री पुर्याइरहेको रञ्जु दर्शनाले बताएकी छिन् ।
नयाँशक्तिका नेताको बेग्लै गुनासो
यसै सन्दर्भमा हामीले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेतालाई सोध्यौं- ‘तपाईहरुको नयाँशक्ति, रविन्द्र मिश्रको साझा पार्टी र उज्ज्वल थापाको विवेकशील नेपाली सबैले नयाँ वैकल्पिक धार बनाउने भन्नुहुन्छ, तर आपसमा किन मिल्न सक्नुहुन्न ?’
जवाफमा नयाँ शक्तिका एक शीर्ष नेताले भने- ‘उहाँहरुमा हामी मात्रै ठीक हौं भन्ने दम्भ छ । काठमाडौंमा अलिकति मत पाएपछि त झनै दम्भ बढेको छ । बाबुरामको नयाँशक्ति भन्दा हामी माथि पुगिसक्यौं भन्ने उहाँहरुलाई लागेको छ ।’
तर, स्थानीय चुनावको समग्र देशैभरिको मताधार र परिणामलाई हेर्दा एमाले, कांग्रेस र माओवादीपछिको चौथो शक्तिमा नयाँशक्ति-फोरम स्थापित भइसकेको ती नेताले दाबी गरे । उनले आफूहरु वैकल्पिक राजनीतिक शक्तिसँग एकता गरेर अघि बढ्न तयार रहेकोसमेत बताए ।
नयाँ शक्ति पार्टीले कतिपय गाउँपालिकाका साथै धनकुटा नगरपालिकाको वडाध्यक्ष एवं ताप्लेजुङका स्थानीय तहमा समेत जित हात पारेको उनले उदाहरण दिए । तर, धमण्ड गरेर एक्लै हिँड्न खोज्दा विवेकशील र साझा पार्टी भने नयाँ शक्ति पार्टीभन्दा धेरै पछाडि परेको उनले दाबी गरे ।
प्रतिक्रिया 4