Comments Add Comment

सकियो ‘पेपर प्रिन्ट’ लाइसेन्सको युग, देशभर ‘स्मार्ट’को आवेदन खुला


१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको छ । देशभरका अधिकांश यातायात कार्यालयले स्मार्ट लाइसेन्सका लागि आवेदन खुलाएका छन् ।

केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक-दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ । विभागका १४ वटै अञ्चल कार्यालयहरुले लाइसेन्सको आवेदन खुलाएका हुन् ।

अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनबरलाई बताए ।

‘अब पेपर प्रिन्ट लाइसेन्सको युग सकियो, अब सबै प्रयोजनमा स्मार्ट लाइसेन्स नै प्रयोग हुन्छ’ प्रवक्ता पाण्डेले भने,’ नयाँ लाइसेन्स र नवीकारण्को लागि अब देशभर नै स्मार्ट लाइसेन्स जारी हुन्छ ।’

लामो समयदेखि लाइसेन्स वितरण नभएका अञ्चल कार्यालयहरुमा पनि आजबाट लाइसेन्सका लागि आवेदन लिने र लिखित परीक्षा लिने प्रक्रिया थालिएको पाण्डेले बताए ।

‘स्मार्ट लाइसेन्स अब देशभर नै पुग्यो । सबै कार्यालयले अब स्मार्ट लाइसेन्स नै बाँड्छन्’ पाण्डेले भने,’लामो समयदेखि लाइसेन्स वितरण रोकिएका कार्यालयले पनि आजबाट वितरणको प्रक्रिया थालेका छन् ।’ अब नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेले देशभरबाटै स्मार्ट लाइसेन्स पाउनेछन् ।

यसैगरी आजबाट सवारीका लागि नयाँ रुट इजाजतको प्रक्रिया पनि थालिएको छ । कायम भएका रुटमा अनुमति माग्ने नयाँ सवारीलाई अब विभागले प्रक्रिया पुर्‍याएर इजाजत दिने भएको छ ।

‘कायम भएका रुटहरुमा आउने नयाँ सवारीलाई पनि रुट दिन सुरु गरेका छौं’ पाण्डेले भने,’यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन यसले ठूलो भूमिका खेल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment