१ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारबाट लामा दूरीमा चल्ने सार्वजनिक सवारीका लागि विभिन्न नयाँ नियमहरु ल्याएको छ । दुर्घटना बढेको निश्कर्ष निकाल्दै आजैदेखि बीपी राजमार्गमा रातिको समयमा सार्वजनिक सवारी चलाउन नदिने भएको छ ।
यो राजमार्गमा रातको समयमा बढी दुर्घटना भएकाले बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सार्वजनिक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनबरलाई बताए ।
नेपालथोक-भीमान सडक खण्ण्डमा यो ब्यवस्थालाई कडाइ गर्न लागिएको हो । रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दूर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएकाले यस्तो नियम ल्याइएको हो ।
यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ ।
अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी आए ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना लगाउनेछ ।
अहिले यात्रु खोज्न बसपार्कबाट छुटेका बस चक्रपथ घुमेर बस्ने गरेका छन् । यसले ट्राफिक जामको समस्या बढाएको निश्कर्ष ट्राफिक प्रहरीको छ ।
अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागका प्रवक्ता डा. पाण्डेले लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँ-ठाउँमा जाम हुने समस्या बढेकाले यो ब्यवस्था गरिएको बताए ।
नियम नमान्ने सवारी साधनलाई अजदेखि नै कारबाही सुरु गरिएको पाण्डेले बताए ।
प्रतिक्रिया 4