१ भदौ, रौतहट । २९ साउनमा परोहा ३ लौकाहाकी २७ वर्षीया शर्मिलादेवी यादवलाई सुत्केरी व्यथाले च्याप्यो । उनका पति चन्द्रकिशोर र परिवारजनले दुःखाई कम हुने औषधि दिए । तर, व्यथा झनै बढेपछि उनलाई राजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लाने तयारी गरे ।
चिकित्सकले दिएको समय भने तीन सातापछि थियो । हतारमा परिवारजनले भारतीय नम्बर प्लेटको जिप ल्याए र अस्पतालतिर लागे । नयाँ सदस्यको आगमन हुने खुशीमा थिए, सबै । शर्मिला तेस्रो सन्तानलाई जन्म दिँदै थिइन् ।
घरबाट निस्केको केहीबेरमै उनलाई लागेको व्यथा उनीसहित परिवारका ६ सदस्यको काल बनेर आयो । स्वास्थ्य केन्द्र पुग्न दुई सय मिटर मात्र बाँकी रहँदा राजपुरको दमार चोकमा पूर्वतर्फबाट उर्लिएको बाढीमा उनीहरु चढेको जिप डुब्यो । गाडीमै छटपटाउँदै उनीहरुको ज्यान गयो ।
जीपमा शर्मिला, उनका पति चन्द्रकिशोर, छोरी आरुषी, आमा सुमित्रादेवी, काकी ललितादेवी, काकाको छोरा सरोज र राजन थिए । घटनामा राजन मात्र बाँचेका छन् । मृतक सबैका अभिभावक रामसेवक बेसहारा बनेका छन् ।
घटना भएको चार दिन बितिसक्दा पनि उनका आँखाका डिल ओभाएका छैनन् । पाँच वर्षकी नातिनी सञ्जुले घरिघरि आमाबुवा भाइ लिएर कहिले फर्किन्छन् भनेर सोधिरहन्छिन् । उनीसँग कुनै जवाफ छैन ।
गुहार माग्दा पनि कसैले मद्दत गरेनः राजन
राजन यादव’नहरको बाटो पानीले भरिएको थियो, हेर्दा सबैतिर सम्म देखिन्थ्यो । राति ११ बजे नै सडक बगाइसकेको रहेछ,’ राजनले घटना सम्झिए, ‘स्थानीय बासिन्दाले बाटोमा टर्च बालेको देखिन्थ्यो तर कसैले अगाडि सडक बगेको बताइदिएनन् । गाडी विस्तारै अगाडि बढिरहेको थियो, प्रहरी चौकीभन्दा ५० मिटर पर पुग्दा अचानक डुब्न थाल्यो ।’
सुरुमा गाडीको अगाडिको भाग पानीमा डुबेको र त्यही बेला आफूले ढोका खोलेको राजनलाई याद छ । उनी चालक सँगैको सिटमा बसेका थिए ।
‘अगाडिको ढोका खोल्नासाथ गाडी फेरि भासियो । म छततिर पुगें र चालक शम्भु यादवले दिएको बाँस समातेर बाहिर निस्किएँ,’ उनले भने, ‘चालक सबैभन्दा पहिले बाहिर निस्केका थिए ।’
दुवै मिलेर टर्च बालिरहेका स्थानीय बासिन्दा र नजिकको प्रहरी चौकीलाई मद्दतका लागि गुहारे तर न त प्रहरी आयो, न त स्थानीय बासिन्दा नै । राजन दौडिँदै चौकीमा पुगे तर इन्चार्जले कुनै चासो दिएनन् । आत्तिँदै घरमा खबर गर्न गए ।
प्रहरीले चालक शम्भुलाई नियन्त्रणमा लियो तर उनले पहिले गाडीमा भएका मानिस बाहिर निकालौं भन्दा प्रहरी तयार भएनन् । चालक यादवले भने, ‘मैले प्रहरीलाई सहयोग गर्नुपर्यो गाडीमा ६ जना डुबेका छन् भनें तर प्रहरीले मलाई नै नियन्त्रणमा लिएर राख्यो ।’
उनका अनुसार स्थानीय बासिन्दा र प्रहरीले चाहेको भए उनीहरुलाई बचाउन सकिने थियो । गाडी भित्रबाट आफूहरुलाई बचाउन गुहारका शब्द पनि नसुनिएको होइन । कसैले वास्ता नगरेपछि गाडीभित्रै छटपटाउँदै उनीहरुको मृत्यु भयो ।
ब्रहृमज्योति उच्च माविका शिक्षकसमेत रहेको मृतक चन्द्रकिशोरको परिवारका ६ सदस्य एउटै घटनामा मारिए । उनका पिता रामसेवकले २९ साउनमा तीन वटा चिता बनाए । एउटामा ललितादेवीलाई राखियो, अर्कोमा सरोज र तेस्रो चितामा चन्द्रकिशोर, शर्मिला, सुमित्रा र आरुषीलाई राखेर दाहसंस्कार गरियो ।
पीडित परिवारको बुझाइमा कहालीलाग्दो घटनाको दोषी स्थानीय प्रहरी हुन् । बाटो बाढीले बगाइसक्दा पनि कुनै संकेत नराख्नु र उद्धारका लागि बोलाउँदा वास्ता नगर्नु नै उक्त घटनाको कारण भएको उनीहरुको ठम्याइ छ ।