Comments Add Comment

कालापानीको एउटा गाउँ, जहाँ ६-६ महिनामा बासस्थान बदल्नुपर्छ

हिमाली सुन्दरताको अवलोकन गर्नको लागि आउने हजारौं पर्यटकहरुलाई लाग्दो हो ‘आहा कति आनन्द होला यहाँको जीन्दगी ?’ तर, पाहुनाहरुले सोचे जस्तो छैन यहाँको जीवनशैली ।

हिमाली जीवनशैली, करिब ६ महिनामा बासस्थान परिवर्तनको झण्झट, सीमा झेल्नुपर्ने समस्याहरु यी सबै समस्याबाट पीडित छन् धेरै उत्तरी सीमा क्षेत्रका नागरिकहरु । अनेकौं झण्झट ब्यहोरेर पनि सीमाको रक्षा गरी बसेकाहरुको जीवन शैली कस्तो हुन्छ त ? हामीले यही त्रिदेशीय सीमा क्षेत्रको संगम रहेको एउटा हिमाली स्थानीय तह व्यास गाउँपालिकाको जीवनशैलीको बारेमा उल्लेख गरेका छौं ।

धेरै सम्भावना बोकेर पनि भौगोलिक अवस्थाका कारण सहज छैन त्यहाँको जीवनशैली । लामो समयसम्म सीमान्त बिन्दूमा रहेको त्यो भूमिलाई प्राथमिकतामा राख्न सकेन । कालापानी र लिपुलेककोले काठमाडौं तात्दा पनि त्यहाँका मानिसहरुले भारतीय भूमि हुँदै आफ्नै देशमा जानुपर्जे पीडालाई कहिलै पनि काठमाडौंले समेट्न सकेन । भारतले कति सीमा मिच्यो भनेरभन्दा कति पीडा सीमाबासीहरुले भोगिरहेका छन् भने काठमाडौंलाई चासो भएन । यस्तै छ त्यहाँको जीवनशैली ।

ओत लाग्नकै लागि बनाएको एकतले झाप्रोमा एकातिर अपि हिमालको सगुन र अर्काे तिर नाम्पाले पठाएको सेतो हिमालको पार्सलले छानो भरिएको टिंकर र छानागरुका शौकाहरु एकवर्षभरी आफ्नो घरमा बस्न पनि पाउँदैनन् । ताक्लाकोटलाई शिरमा राखी यी दुई हिमालहरुले हिउँको होली खेल्न थालेपछि शौकाहरुको कला संस्कृति र जीवनयापन सदरमुकाम खलंगा तिर जान्छ । त्यही सदरमुकामबाट नै सुरु हुन्छ चिसो मौसम सकिएपछि उनीहरुको गर्जाे टार्ने व्यापारको श्रृङ्खला । सदरमुकाम खलङ्गाबाट घोडा-खच्चरमा गुँड, मिश्री, सूर्ती, चुरोट लादेर छ्यालेक दोगगांग, टाटा र लिपुलेकको पिलर नम्बर-१ हुँदै जानेहरु फर्किने बेलामा तिब्बत कपडाको चाङ बोकेर फर्किन्छन् ।

यता, तिनै घरका लोग्नेमानिसहरुको पर्खाइमा बसेका आमा र भाउजुहरुलाई खेती किसानी र हस्तकलाका सामग्रीहरु बनाएरै फुर्सद हुँदैन । धेरैका सन्तानहरु विदेशिएका छन् । एक नं वडामा पर्ने ती दुई गाउँका अधिकांशहरु अमेरिका या नर्वे तिर छन् भने अन्य वडाकाहरु कमाईको लागि खाडी र अरु देशमा पनि गएका छन् ।

 

शौकाहरुको व्यस्तता

शौकाहरु एकप्रकारका व्यस्त जातीमध्येको एक पर्छन् । व्यापार व्यवसायमा लाग्दा पनि उनीहरुले आफ्नो धर्म र कर्म छाडेका छैनन् । खेतीपाती गर्दागर्दै समय मिलेसम्म जात्रा र पर्वहरुमा रमाइहाल्ने उनीहरुको बानी छ । घरमा भएकाहरुलाई असार सकिन नपाउँदै यार्सागुम्बा टिप्न जानेहरुको चटारो छ । दमाहा उनीहरुको मौलिक बाजा हो । यहाँको भिन्न जातिहरु शौकाहरु नै हुन् । यसबाहेक ब्राहृमण, क्षेत्री लगायतका अन्यत्र पाइने जाति र संस्कृतिहरु पाउने गरिन्छ । यद्यपि शौकाहरुको भने छुट्टै भाषा, भेषभुषा र संस्कृति छ ।

जनजीवन र पेशा व्यवसाय

जनजीवन एउटै गाउँपालिकामा पनि भिन्न भिन्न हुने गरेको छ । कालापानी क्षेत्रपर्ने तत्कालीन व्यास गाविस र अहिलेको एक नं वडाका स्थानीयको जीवनशैली ६ नं वडाको जीवनशैलीसँग धेरै भिन्न छ । पेशा भिन्न छ र खानपान पनि भिन्न छ ।

कृषि, व्यापार व्यवसाय र पशुपालन नै उनीहरुको मूल व्यवसाय हो । घरका केटामानिसहरु व्यापार व्यवसायमा संलग्न भएपछि केटी मानिसहरुले घरधन्दा र गलैंचा बुन्ने जस्ता कामहरुमा व्यस्त हुने गर्छन् । चौरीहरु पाल्ने, त्यसको छुर्पी बनाउने जस्ता कामपनि घरबस्ने महिलाहरुले गर्ने गर्छन् ।

केटा मानिसहरु तिब्बतबाट कपडा जस्ता सामग्रीहरु लिएर खलंगा र्झछन् । खलंगाबाट नरिवल, टुर्पी आदि बोकेर तिब्बत जान्छन् । अरु वडाकाहरुले आलु, दाउरा, सुन्तला, साग लगायतका तरकारीहरु, गहुँ, मकै आदि उत्पादन गर्छन् । बिक्रीको लागि उनीहरु विदेश जाँदैनन् । सदरमुकामसम्म झार्न पाए बजार पाउँथ्यो भन्ने उनीहरुको भनाई छ । त्यत्तिको लागि पनि उनीहरु भारतीय बाटो हुँदै जानु पर्दथ्यो । तर, अहिले समय बदलिएको छ ।

सडक निर्माणपछि फेरिएको जीवनशैली

झण्डै ६ महिना अघि केन्द्रीय परियोजनामा रहेको दार्चुला-टिंकर सडक खण्डले वडा नं ३ लाई छोएपछि अब सामान बोक्नको लागि भारतीय भूमिहुँदै जानुपर्ने बाध्यता हटेको स्थानीयहरु बताउँछन् । केही सडकहरु ग्राभेल छन् । धेरै सडकहरु कच्ची छन् । तर, पनि जीवन चलेकै छ । ‘पहिले दार्चुलाबाट यहाँ आउनको लागि भारतको धार्चुलाहुँदै आउनु पर्ने बाध्यता थियो । अब त्यो समस्या हट्दै गएको छ ।’ स्थानीय दीपक खाती भन्छन् ‘अहिले हाम्रा उत्पादनहरु बजारमा पुर्‍याउन सहयोग पुगेको छ । उत्पादित सामानहरु वडा नं ३ सम्म ल्याएपछि ट्याक्टरबाट बजारसम्म लैजाने गरेका छौं ।’

शिक्षामा सुधारिँदो अवस्था

त्यो सीमान्त गाउँपालिका शिक्षाको लागि पहिलेदेखि नै हेपिएको क्षेत्र हो । स्थानीय सरकारको अवधारणा नआएसम्म दरबन्दीको अभावमा स्थानीयसँग चन्दा उठाएर स्कूल चलाउनु पर्ने अवस्था रहेको त्यहाँ अहिले पनि शिक्षाको अवस्था त्यस्तो धेरै सुधि्रएको छैन । अहिले गाउँपालिकाको बलबुतामा २ वटा माध्यमिक विद्यालय खुलेका छन् । जबकी ८३९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो गाउँपालिकामा १० हजारभन्दा धेरै जनसंख्याको बसोबास छ । सरकारले स्थानीय सरकारको अवधारणा ल्याएपछि अहिले माध्यमिक शिक्षकहरुले नियमित गाउँपालिकाको तर्फबाट १५ हजारको दरमा पैसा पाउने गरेका छन् । अरु शिक्षकहरुले १२ हजारको दरमा गाउँमा नै रोजगारी पाउने गरेका छन् । यस्तो भएपछि अहिले गाउँ छाडेर गएका दर्जनौं युवाहरु समेत गाउँमा नै फर्किन थालेको गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले जानकारी दिए ।

अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढाउनको लागि सबै ठाउँमा अँग्रेजी माध्यमबाट अध्यापन गराउने गरिएको छ । अहिले शिक्षाको लागि विभिन्न संघसंस्थाहरुले समेत सहयोग गर्ने गरेका छन् । सामुदायिक विद्यालयमा नै धेरै सुविधा र गुणस्तर थपिएपछि त्यहाँ अहिले निजीभन्दा सामुदायिक विद्यालयमा नै आकर्षण बढ्न थालेको गाउँपालिका बताउँछ ।

बुढाथोकीका अनुसार अहिले गाउँपालिकामा जम्मा २ वटा मात्रै निजी विद्यालयहरु छन् । गाउँपालिकाको खर्चमा चल्ने अहिले २६ वटामा सामुदायिक विद्यालयहरु छन् । जसमा माध्यमिक तहका हिमालय मावि र सम्पाल मावि गरी दुईवटा मात्रै छन् ।

स्वास्थ्यमा स्थानीय तहको जेनतेन प्रयास

विशेषज्ञताको त कुरै छाडौं व्यास गाउँपालिकाका मानिसहरुले एमबिबिएस गरेका चिकित्सकहरुको अनुहार हेर्नको लागि पनि सदरमुकाम र्झनुपर्ने बाध्यता छ । गाउँपालिकामा अहिले एचएसम्मले सेवा दिने गरेका छन् । भालाकोट लगायत केही ठाउँहरुमा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुबाट नै स्वास्थ्य सेवाहरु प्रदान हुँदै आएको छ । धेरै मानिसहरु बिरामी हुँदा अस्पतालभन्दा पनि धेरै धामीझाँक्रीहरुकोमा जाने गर्छन् । यद्यपि त्यो प्रथा पछिल्लो समय कम हुँदै आएको प्रमुख बुढाथोकी बताउँछन् । सरकारले दिने गरेको निःशुल्क औषधिहरु सहज रुपमा पाउने गरेको गाउँपालिकाको दाबी छ ।

भारतीय बिजुली, त्यतैको आस

गाउँपालिकाका अनुसार व्यास गाउँपालिका वडा नं ३ सिना र वडा नं ४ सुन्सेराका बासिन्दाहरुले सोलारको प्रयोग गर्ने गरेका छन् । वडा नं ५ द्यौलाकोट र वडा नं ६ हुतीका बासिन्दाहरु पूर्ण रुपले भारतीय बिजुलीको प्रयोग गर्न बाध्य छन् । त्यतैबाट बिल आउँछ । उनीहरु त्यतै गएर पैसा तिर्ने गर्छन् । तर, ती दुबै वडाका सबै परिवारले अहिले बिजुली बालेका छन् । तर, सबै भारत सरकारकै तर्फबाट ।

पर्यटनमा सम्भावनाको चाङ

कैलाश सरोवर जान हिँडेका शिवले थकाई मारेको ठाउँ भनेर चर्चित रहेको यो ठाउँमा सांस्कृतिक एवं वातावरणीय महत्वका ठाउँहरु छन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको वेदलाई चार खण्डमा विभाजित गरेका एवं महाभारतको रचना गरेका व्यास ऋषिले साधना गरेको गुफा यही गाउँपालिकामा परेको विश्वास छ । जुन हाल सोही गाउँपालिकाको वडा नं १ मा ‘व्यास गुफा’को नामबाट परिचित छ । यस बाहेक यही गाउँपालिका कैलाश मानसरोवरको प्रवेशद्वार समेत रहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले जानकारी दिए । यार्सागुम्बाको सबैभन्दा महत्वपूर्ण ठाउँको रुपमा रहेको यो गाउँपालिका त्रिदेशीय नाका समेत हो ।

अर्काेतर्फ प्राकृतिक सौन्दर्यको हिसाबले अपिनप्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका वडा २ को राप्ला भन्ने ठाउँमा रहेको शिवताल, ६ हजार ८ सय मिटरभन्दा माथिको जेठी बहुरानी भन्ने हिमाल, वडा नं ३ मा पर्ने तातोपानी, तम्बाकु झरना आदि ठाउँ पर्यटकीय हिसाबले आकर्षक ठाउँहरु हुन् ।

व्यास गुफाको लागि बाहृय पर्यटकहरु कम मात्रामा आउने गरेका छन् । एकदमै हिमाली भेगहरु हुन् । त्यहाँ चैतदेखि असोजसम्म मात्रै हो । वडा नं एकको मात्रै मानिसहरु तल र्झछन् ।

जात्रा पर्वहरु

जात्रापर्वहरुमा सबैभन्दा ठूलो मेला यहाँ शिवरात्रिमा लाग्ने गर्छ । रानीथानको मेला पनि यहाँको महत्वपूर्ण ठाउँहरु हुन् । यही ठाउँ हो जहाँ कैलाश मान सरोवर जाने क्रममा पार्वतीले विश्राम गरेको भन्ने विश्वास छ ।

त्यस्तै, वडा नं ५ मा रहेको दूर्गाको एउटा मन्दिरमा रहेको विशाल ऐतिहासिक तामाको ताउलो छ । त्यो देवी देवताको पालामा हुने विभिन्न भोजहरुमा प्रयोग गर्नको लागि बनाएको भन्ने किंवदन्ती छ । जसमा देवता र राक्षसहरुबीच त्यही पाउनको लागि पनि युद्ध भएको थियो भन्ने गरिन्छ । त्यो ताउलो कति पुरानो हो भने मिति यकीन गरिएको छैन । तर, यो परापूर्वकालदेखिको हो भन्ने सबैको विश्वास छ । धामी झाँक्रीहरुले आगन्तुकलाई वरदान दिने मालिकार्जनु मन्दिरको जगेनी जात्रा पनि यो क्षेत्रको महत्वपूर्ण सांस्कृतिक कार्यक्रमहरु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment