+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
50/2 (7.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

बाढीबाट चितवनमा १८ करोडको क्षति

सुवास पण्डित सुवास पण्डित
२०७४ भदौ ९ गते १२:३९

९ भदौ, चितवन । २७-२८ साउनको भीषण बाढी र डुबानका कारण जिल्लाको कृषि तथा पशुपंक्षी क्षेत्रमा करिब १८ करोडको क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार त्यस क्षेत्रमा करिब १५ करोडको क्षति भएको छ । यस्तै, पशुपंक्षीमा करिब तीन करोडको नोक्सानी भएको पशुसेवा कार्यालयले जनाएको छ ।

बाढी र डुबानबाट धान, माछा, केरा, तरकारी, मौरीको घार, मह, कुलो, इनार, च्याउमा बढी प्रभाव परेको छ । वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठका अनुसार माडी इलाकाका किसानले बढी क्षति बेहोर्नुपरेको छ ।

एक हजार ६ सय २३ बिघा ११ कठ्ठामा लगाइएको कृषि उपजमा बढी क्षति भएको श्रेष्ठले जानकारी दिए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

माछापालनमा बढी क्षति

सबैभन्दा ठूलो क्षति माछापालनमा परेको छ । माछापालक कृषकको सात करोड २८ लाख ६५ हजार रुपैयाँबराबरको नोक्सानी भएको श्रेष्ठले जानकारी दिए । अधिकांश माछापोखरी डुबानमा परेका थिए । तीमध्ये केही भत्किएको र पुरिएको नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेले बताए ।

संघले भने १५ करोडभन्दा बढीको क्षति भएको बताएको छ । ‘माछाका भूराहरु बगाएको छ, पोखरी नै धेरै पुरिएका छन्,’ संघका सदस्य लुलाराज तामाङले भने । जिल्लामा एक हजार ६३ जना व्यावसायिक माछापालक छन् । तीमध्ये ७५ प्रतिशतले क्षति बेहोर्नुपरेको पाण्डेले बताए ।

मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार माडी नगरपालिकाका गर्दी, गोपालनगर, गौरीनगर, खरकट्टा, कृष्णपुर, बगईलगायत स्थानमा करिब २५ हेक्टर माछापोखरीमा पूर्ण रुपमा क्षति पुगेको छ । भरतपुर महानगरका चन्ऽनगर, शारदानगरलगायत स्थानमा करिब सात हेक्टर माछापोखरीमा बढी क्षति भएको छ ।

रत्ननगर नगरपालिकाको लालपर्सा, सेरी, टाँडी र पञ्चकन्याका माछा पोखरीमा पनि क्षति पुगेको छ । खैरहनी नगरपालिकाका कुमरोज, गबई र कठारमा आठ हेक्टर तथा राप्ति नगरपालिकाका भण्डारा र पिप्लेका पोखरी पनि डुबानमा परेका छन् ।

जिल्लामा पाँच सय ७४ हेक्टरमा दुई हजार दुई सय २३ वटा माछापोखरी छन् ।

यस्तै, धानखेतीमा पाँच करोड ४८ लाख ९६ हजार रुपैयाँ क्षति पुगेको छ । किसानहरुले क्षतिको विवरण कार्यालयमा बुझाए पनि राहतबारे अन्योल कायम छ । सरकारले त्यसबारे केही नबताएको वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले बताए ।

पशुपंक्षीको क्षति दुई करोड ७४ लाख

पशुपंक्षीपालक कृषकको दुई करोड ७४ लाख ४३ हजार रुपैयाँबराबरको नोक्सानी भएको छ ।

पशु सेवा कार्यालयका अनुसार कुखुरा र कुखुराजन्य उत्पादनमा बढी नोक्सानी बेहोर्नु परेको छ । ब्रोइलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्सतर्फ ८८ लाख ४४ हजार र स्थानीय जातका कुखुरा तीन लाख तीन हजारको क्षति भएको छ । बाढीका कारण ११ वटा गाई मरेका थिए ।

यस्तै, आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस दुई सय २४, चोकर एक सय ९० बोरा र दाना सात हजार चार सय ५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा. डिल्लीराम सेढाईंले जानकारी दिए । बाढीबाट १३ वटा खोर/गोठ नष्ट भएका छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?