Comments Add Comment

विद्यासुन्दरज्यू ! यो खुलामञ्च हो कि डम्पिङ साइड ?

सार्वजनिक जमिनको अतिक्रमण हुँदा महानगर मौन

१६ भदौ, काठमाडौं । राजधानीमा रहेका महत्वपूर्ण सार्वजनिक स्थलहरु मिचिने र अतिक्रमण हुने क्रम तीव्र बनेको छ । यस्तै अतिक्रमणको चपेटामा परेको छ राजधानीको मुटुमा रहेको खुल्लामञ्च ।

खुलामञ्चको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी काठमाडौं महानगरपालिकाको हो । तर, सभा/सम्मेलनका लागि निर्माण गरिएको स्थलमै सवारी साधन पार्किङबारे महानगर नै बेखबर छ ।

पञ्चायतकालमा समेत संरक्षण हुँदै आएको यो सार्वजनिक स्थलमा अहिले कुनै पनि राजनीतिक पार्टीले सभा सम्मेलन गर्दैनन् । बरु रत्नपार्क र माइतीघरमा यातायात अवरुद्ध पारेर दलका कार्यक्रमहरु हुने गरेका छन् । तर, तिनै दलहरुले सम्हालेको महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाउने कुनै पहल गरेको छैन ।

संरक्षणका लागि महानगरको सचेतता नदेखिँदा खुलामञ्च दिनप्रतिदिन कुरुप बन्दै गएको छ । मञ्च अघिल्तिरको खुला चौरमा पार्किङ गरिएका सवारी साधनको भीड देखिन्छ । तर, महानगरलाई यसबारे जानकारी नै छैन ।

महानगरका सहायक प्रवक्ता नमराज ढकाल भन्छन्, ‘हामीले त्यो क्षेत्र सभा सम्मेलनका लागि व्यवस्था गरेका हौं । त्यहाँ खुला पार्किङ गर्न मिल्दैन ।’

ढकालको भनाइ जेसुकै भए पनि न्युरोड, महाबौद्ध र भोटाहिटीतिर किनमेलमा जानेहरुले खुलामञ्चलाई सवारी साधनको पार्किङ क्षेत्रका रुपमा प्रयोग गरिरहेका छन् ।

यो दृश्य करिब आठ महिनायताको हो । र, खुलामञ्चलाई पार्किङ स्थल बनाउने ट्राफिक प्रहरी महाशाखाका तत्कालीन डीआईजी (हाल एआईजी) मिङ्मार लामा हुन् ।

‘हामीले कसैलाई पनि पार्किङ गर्ने औपचारिक अनुमति दिएका छैनौं,’ महानगरको नगरप्रहरी प्रमुख विष्णु जोशी भन्छन्, ‘लामाले न्युरोड र बौद्धमा सवारी आवागमन गर्नैै गाह्रो भयो भन्दै पार्किङ गराउन सुरु गर्नुभएको हो ।’

जब कि, खुलामञ्चको संरक्षण र सञ्चालनको दायित्व ट्राफिक प्रहरीको नभई महानगरपालिकाको हो ।

हुँदाहुँदा अब त खुलामञ्चलाई सामान लोड अनलोड गर्ने स्थलसमेत बनाइन थालेको छ । मञ्चभित्रै फुटपाथमा पसल गर्नेहरुका सामान थुपारिएको छ । नगर प्रहरीले फुटपाथका व्यापारीलाई लखेट्छ, उनीहरुका सामान भने खुलामञ्चमा राख्न दिइएको छ ।

महानगरले लगाएको तारबार र गेटहरु भताभुंग भइसकेका छन् । तिनको मर्मतमा महानगरको चासो शुन्य देखिन्छ ।

मञ्च संरक्षणका लागि महानगरपालिकाले एक नगर प्रहरी खटाएको छ । तर, मञ्चका धारा तोडफोड गरिएका छन्, ढोकामा चुकुलसमेत छैन । शौचालय भताभुंग छ भने यत्रतत्र फोहोरको डंगुर छ ।

मञ्च अघिल्तिरको चौरमा सवारी साधनको चक्काको डाम र हिलो देख्दा लाग्छ, यो कुनै धुले सडकको खण्ड हो, जसमा वषर्ायाममा हिलो जम्छ र हिउँदमा धुलोको डंगुर हुन्छ । आमसभा या सम्मेलनका लागि खुला मञ्च कुनै अवस्थामा पनि तयारी देखिँदैन ।

खुलामञ्च प्रयोगका सन्दर्भमा ट्राफिक र नगर प्रहरीबीच दुई वटा मौखिक सहमति भएको छ, सभा/सम्मेलनका बेला खाली गर्ने र खाली समयमा पार्किङ गर्ने । उक्त मौखिक सहमतिले खुलामञ्चलाई नै कुरुप बनाइरहेको बारे दुवै प्रहरी बेखबर देखिन्छन् ।

विगतमा खुलामञ्चमा पार्किङ गरिएका सवारी धनीलाई ट्राफिक प्रहरीले सय रुपैयाँ जरीवाना लिन्थ्यो । अहिले निःशुल्क पार्किङ स्थल बनेको छ ।

उक्त क्षेत्र बसपार्कमा परिणत भएको छ ।

मतदाताबाट अनुमोदित भएर आएका जनप्रतिनिधिले समेत खुलामञ्चको दुर्दशा देखेका छैनन्, शायद । देखेका हुन्थे त त्यस्तो दुर्गति रहिरहने थिएन होला ।

महानगरका सहायक प्रवक्ता ढकाल अहिले खुलामञ्चको निर्माण र मर्मतको कुनै योजना नरहेको बताउँछन् ।

 

त्यस क्षेत्रमा भूमिगत पार्किङ निर्माणको योजनासमेत नभएको होइन । महानगरका पूर्वकार्यकारी अधिकृत रुद्रसिंह तामाङले त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको बताएका थिए ।

र, सार्वजनिक-निजी साझेदारीमा निर्माण थालिने घोषणा गरेका थिए । उनी महानगरबाट सरुवा भएसँगै उक्त योजना अगाडि बढेन ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार पञ्चायतकालमै निर्माण भएको हो, खुलामञ्च । जोशी भन्छन्, ‘सैनिकमञ्च सेनाहरुको उपयोगका लागि मात्रै भयो भनेर जनताका लागि कार्यक्रम गर्न यसको निर्माण भएको थियो ।’

पञ्चायती व्यवस्था सुरु हुनुअघि खुला चौरको लगभग बीच भागमा रहेको खरीको बोट आसपासमा सैनिकहरुले परेड खेल्थे । सैनिक मञ्च टुँडीखेलमा भने सर्वसाधारणको पहुँच नभएकाले हालसम्म जोगिएको छ । खुलामञ्च भने सरकारी निकायको लापर्वाहीको शिकार बन्दै गएको छ ।

खुलामञ्चका केहि तस्वीर हेर्नुस्

 

 

सबै तस्वीरः मिलन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment