Comments Add Comment

स्क्रवटाइफसः किर्नाले सार्ने खतरनाक रोग !

विगत तीन वर्षदेखि मनसुन एवं मनसुन पश्चात महामारीको रुपमा देखापर्ने संक्रामक रोगहरु औलो, डेङ्गु, लेप्टो स्पाईरोसीस, चीनकगुन्या, ईन्सेफ्लाईटीसमध्ये स्क्रव टाईफस संक्रमण पनि एक हो । स्क्रवटाईफस पुरानै रोग भए पनि नेपालमा नौलो रुपमा देखा परेको हो । गत वर्ष नेपालमा ४९ वटा जिल्ला स्क्रवटाईफसबाट प्रभावित भएका थिए । ति जिल्लामा ८ सय जना रोगीहरुमा स्क्रवटाईफस यकिन भएको थियो, जसमध्ये १४ जनाको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

हामीले दुइ वर्षअघि सात नम्बर प्रदेशमा स्क्रवटाईफसको बढ्दो प्रकोपबारे अस्पतालमा आधारीत अनुसन्धान गरेका थियौं । त्यो अनुसन्धानको रिपोर्ट ‘मेडिकल जर्नल अफ् सिएमसि’मा समेत प्रकाशीत गरेका थियौ । हालसम्म प्रदेश नम्बर सातका कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, अछाम र दार्चुला गरी सात जिल्लाहरु स्क्रवटाईफसले प्रभावित छन् । एआरटी क्लिनिक, सेतीका अनुसार केहि समयअघि एचआईभी संक्रमीत रोगीको स्क्रवटाईफसबाट मृत्यु भैसकेको छ ।

स्क्रवटाईफसको महामारी एवं समयमा रोगको निदान र अत्यन्त सरल, सर्वसुलभ उपचार नहुँदा उत्पन्न हुने जटीलता हामीले विगत तिन वर्षदेखि भोग्दै आएका छौं । सरोकारवालाहरु यस रोगको निदान, उपचार, रोगथाम र जनचेतना मूलक कार्यक्रमहरुको संचालनमा ढिलाई कदापी गर्नु हुँदैन ।

 स्क्रवटाईफस 

यो ओरीएन्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाईने किर्ना (माईटस)लाई संक्रमणमा पार्दछ । ती संक्रमित किर्नाहरु मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् । यी संक्रमीत किर्ना बोकेका मुसा, जनावरहरु मानिसको सम्पर्कमा आएपछि  मानव शरीमा टाँसीएर टोक्ने गर्छन् । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीहरुमा संक्रमीत किर्नाहरु प्रसस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रवटाईफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवती स्क्रवटाईफस संक्रमीत छन् भने गर्भाशय शिशुहरुमा अंगभंग हुने संभावना हुने भएकोले यस सम्बन्धी परामर्श दिनु पर्दछ ।

लक्षण

शुरुमा अत्यधिक ज्वरो आउने, टाउको, हात र खुट्टाहरु दुख्ने । प्रायजसो निरन्तर ज्वरो आईनैरहने । ज्वरो आएको पाँचौं दिनमा शरिरमा नचिलाउने राता विविराहरु देखा पर्छन् । ति बिबिराहरु पेट, छाती र पछि खुट्टा र हातहरुमा फैलिन्छन् । एक हप्ताभित्र यो रोगको सटिक निदान र उपचार नभएमा शरीरका अंगहरु संक्रमण भएर फेलर हुन्छन् र रोगीको मृत्युसमेत हुन्छ । सबैभन्दा पहिलो चरणमा रोगीको मृगौला, कलेजो फेलर हुन्छ । प्रायः  रोगीहरु शक -रक्त संचार प्रणाली) फेलर भै अस्पताल आउने गर्छन्,  त्यतीन्जेल रोगीले धेरै प्रकारका औषधी सेवन गरीसकेका हुन्छन् । यसले पछि फोक्सो, मस्तिष्कमा समेत असर पार्ने गर्दछ । विकट पहाड, तराईका ग्रामीण भेगबाट चिकित्सकको सम्पर्क र परामर्शमा आउने प्रायः रोगीहरुको अवस्था जटिल हुने गर्दछ ।

निदान

रोगको प्रारम्भिक निदान गर्ने एउटै उपाय रक्त परिक्षण स्क्रवटाईफस आईजीएम हो । प्रदेशमा बढ्दो प्रकोपको संभावना रहे पनि यो रक्तपरिक्षण प्राईभेट ल्यावहरुबाहेक कुनैपनि सरकारी संस्थामा उपलब्ध छैन । एलिजा पद्धतीबाट प्रारम्भिक रिपोर्टलाई एकिन गर्ने व्यवस्था सरकारी केन्दि्रय प्रयोगशाला काठमाडौंमा छ ।

यो रोगको उपचारको लागि रक्तपरिक्षण गरि निदान गर्नुपर्छ नै भन्ने छैन । दिनहुँ आउने सयौं रोगीहरुमाथि यो परिक्षण साध्य छैन । यो खर्चिलो पनि छ ।  एक पटक परिक्षण गरेको एक हजारदेखि १५ सय रुपैयाँसम्म लाग्छ । यस्तो परिक्षणको भारी गरिब रोगीमाथि थप्नु हुँदैन । लाक्षणिक उपचार नै रक्त परिक्षणको एउटै विकल्प हो ।

हेल्थपोष्टदेखि अस्पतालसम्म अति आवश्यकीय सुचांकमा पर्ने निःशुल्क डोक्सीसाईक्लिन अथवा एजिथ्रोमाईसिन अथवा क्लोराम फेनिकलको २४ घण्टे सेवनले ज्वरो क्रमीक रुपले घटेको अवस्थामा स्क्रवटाईफस ज्वरो निदान गरिन्छ । तसर्थ प्रत्येक कडा खालका ज्वरोका विरामीहरुलाई प्रयोग गर्ने अन्य एन्टिवायोटीकसहित स्क्रवटाइफसविरुद्धको निःशुल्क एक औषधी प्रेषण गर्नैपर्ने निर्देशन सम्बन्धीत निकायबाट हुनुपर्छ । यो निर्देश्ान छिटो र छरितो माध्यमबाट मातहतका संस्थाहरुमा अविलम्ब रुपले सर्कुलर गरिनुपर्छ ।

सावधानी

यो रोग विरुद्ध खोप छैन । यो रोग प्रायः ग्रामिण भेगका कृषी पेशामा संलग्न समुदायमा अत्यधिक देखिने भएकोले नाङ्गो हात र खुट्टा लिएर घाँसपात, झाडीमा नजानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा काम गर्दा पुरैहात र खुट्टालाई छोप्ने गरी लुगा लगाउनुपर्छ । खुट्टामा लाम्चो बुट जुत्ता लगाउने हो भने यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यस्तै शहरी क्षेत्रमा बसोबास गर्नेलाई म्यूरीन टाईफस -यसको लक्षण, उपचार, स्क्रवटाईफसजस्तै हुन्छ) बाट बच्न झिंगाको सम्पर्क र टोकाईबाट बच्नुपर्छ ।  प्रभावित क्षेत्रमा जनचेतनामूलक स्वास्थ्य शिक्षाको प्रचार र प्रसारमा समयमै ध्यान दिनु पर्दछ ।

व्यवस्थापन

प्रत्येक यकिन गर्न नसकिने कडा खाले ज्वरोको आराम्भमा अन्य औषधीबाहेक स्क्रवको औषधी दिन अनिवार्य गर्ने र यसको परिपत्र जारी गर्नुपर्छ ।  जीवन र मरणको दोसाँधमा रहेका रोगीहरु पहाडी जिल्लाका अस्पतालहरुबाट पठाइएका हुन्छन् । स्क्रवटाइफसका लक्षण र रोगीका अन्य लक्षणहरुको ठिक ठिक पहिचान हुनुपर्छ । रोगीहरुमा सामान्य ज्वरोदेखि पेटको आकस्मीक शल्यक्रिया गर्नुपर्ने दुखाई (अक्यूट एब्डोमेन) हुनसक्छ । मृगौला, कलेजो, फोक्सो, रक्तसंचार अवरुद्ध हुन थालेका रोगीहरु परामर्शको लागि आउन सक्छन्  । अतः चिकित्साकर्मीमा रोगको पहिचानमा व्यवधानहरु हुनुभएन । तत्काल स्क्रवटाईफस र यसको जटीलताबारे  हेल्थपोष्टलेखि  प्रदेशका सम्पूर्ण अस्पतालमा अभिमूखीकरण शिविरको तत्काल व्यवस्था गरिनुपर्छ ।

(कायस्थ राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment