२३ असोज, काठमाडौं । भरत रम्तेलको मोटरसाइकल वर्कशप छ, नयाँ बानेश्वरको शान्तिनगर चोकनजिकै प्रयागमार्ग चोकमा । उनी सोमबार अपरान्ह आफ्नै युआर मोटरसाइकल वर्कशपमा पल्सर बाइक मर्मत गर्दै थिए । उनको वर्कशपकै अगाडि एउटा जीपमा ईंटा प्रहार गर्दै एक युवक ओमशान्ति चोकतिर दौडिए ।
किन गाडीमा ढुंगा हानेको होला भनेर हेर्दाहेर्दै पटाका पड्केको जस्तो अवाज आयो । आवाजतिर फर्किंदा गाडीको अगाडि सीटमा बसेका व्यक्तिको टाउको गोली लागेर लत्रिसकेको थियो । बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीको सिसा क्षतविक्षत भएको थियो भने गोलीले अगाडिकोे सिसामा दुईवटा दुलो पारेको थियो ।
ढुंगा हान्ने व्यक्ति र गोली हान्ने व्यक्ति अलग-अलग बाटोतिर दौडिए । गाडीका चालकले आत्तिएर रुँदै फोन लगाउन थाले । वरिपरि पसलका व्यक्तिहरु जम्मा भएर चालकलाई अस्पतालतर्फ गाडी मोड्नू भन्दै कराउन थाले । त्यतिञ्जेल घरका मान्छे पनि अर्को गाडी लिएर आइपुगे ।
करीव ५/७ मिनेट चलेको यो अत्यासपछि पत्ता लाग्यो, गाडीभित्रै गोली लाखेर लत्रिसकेका व्यक्ति सोही टोलका बासिन्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन रहेछन् ।
दुई गोली लागेर अत्यधिक रक्तश्राव भइसकेको अवस्थामा गौचनलाई अर्को गाडीमा राख्न नमिल्ने भएकाले सोही गाडीमा सिभिल अस्पतालतर्फ लगियो ।
अस्पताल पुर्याएको केहीबेरमै खबर सनसनी बन्यो- गोली लागेका शरद गौचनको मृत्यु भयो ।
घर र घटनास्थलको दूरी
एक मिनेटभित्र गाडीमा अगाडिबाट गाडीमा ढुंगा हान्ने र छेउबाट लगत्तै गोली हान्ने दुवै घटना गराएर मास्क लगाएका दुई आक्रमणकारी फरार भइसकेका थिए । त्यो क्षण सम्झिँदै रम्तेलले अनलाइनखबरसँग भने- के भएको हो भन्ने सोच्न नपाउँदै गौचन ढलिसकेका थिए ।
अपरान्ह ३ बजे शान्तिनगर चोकस्थित घरबाट बाहिर निस्किएका निर्माण व्यवसायी गौचनमाथि ३ सय मिटर दूरी नकट्दै आक्रमण भएको थियो । गौचनको घर भएको ओम शान्ति चोक र हत्या भएको प्रयागमार्ग चोकबीचको दूरी मुस्किलले तीन सय मिटर पनि छैन ।
सर्वोच्चका न्यायाधीशको घर छेउमै गोली चल्यो
यी दुई चोकको बीचमा अर्थात गोली लागेको चोकमा पुग्न २० मिटरजति अगाडि सर्बोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घर छ । उनको घरमा नेपाल प्रहरीको एउटा डफ्फा सुरक्षामा खटिएको छ । गोली चलेका बेला पोष्टको ड्युटीमा थिए प्रहरी जवान-टेकबहादुर शाही ।
अनलाइनखबरकर्मीसँग कुरा गर्दै शाहीले भने- म पोष्टमा थिएँ । अरु साथीहरु भित्र क्यारेमबोर्ड खेल्दै थिए । एक्कासी पटाका पड्किएको आवाज आयो । लगातार दुईपटक पड्किएपछि पटाका होइन जस्तो लाग्यो । हामी दौडिएर चोकमा पुग्दा मान्छेको भीड जम्मा भइसकेको थियो, गोली लागेका व्यक्ति लल्याकलुलुक भएर मुन्टो तल झरिसकेको थियो ।
अनिष्ठको आवाजमा भुके कुकुर
गोली चलेको आवाजसँगै टोलका कुकुर भुकेपछि अनिष्ठको आभास भयो सियोन व्युटी पार्लरकी माया राईलाई । उनको बुझाइमा पटाका पड्किँदा यसरी विश्मयकारी ढंगले कुकुर भुक्ने गर्दैनन् । जुन ढंगले कुकुर भुके, त्यसले उनीहरुलाई घटनास्थलतिर दौडायो ।
गौचनको गाडीमा ढुंगा हान्ने व्यक्ति कात्यायानी चोकतिर भागेको देखेका रम्तेलले गोली हान्ने व्यक्ति ओमशान्ति चोकतिर भागेको बताए । गोली हान्ने व्यक्तिले गुलाबी रंगको ज्याकेट लगाएको थियो । ढुंगा हान्नेले कालो रंगको ज्याकेट लगाएको उनले बताए ।
गाडीको अगाडि सिसामा ढुंगा-ईटा प्रहार भएपछि सबैको ध्यान त्यतै मोडियो । त्यही बेला गुलाबी ज्याकेट लगाउने व्यक्तिले पिस्तोलबाट दुई गोली प्रहार गरेको थियो । गाडीको अगाडि सीटमा बसेका गौचनको पेटमा गोली लागेपछि उनी अचेत भइसकेका थिए ।
पाँचबाटोमा भयो आक्रमण
गौचनको घर अगाडि शान्तिनगर चोकमा ठूलो चौर र खाली जग्गा छ । त्यहाँबाट ओमशान्ति चोक, शान्तिनगर गेट र प्रयागमार्ग हुँदै खरिबोट जाने तीनवटा बाटा छन् ।
आखिर आक्रमणकारीले घर अगाडि उनीमाथि आक्रमण नगरी प्रयागमार्ग नै किन रोजे ?
निकै योजनावद्ध ढंगले गरिएको गौचनको हत्या लामो तयारीपछि भएको बुझ्न सकिन्छ । घरै अगाडि उनीमाथि आक्रमण नगरी प्रयागमार्गको अप्ठेरो र व्यस्त चोकमा हमला गरिएको छ । आक्रमणकारीले भाग्नका लागि ५ वटा सहायक सडक र एउटा गल्ली रहेको चोक छनौट गरेको देखिन्छ ।
आक्रमणमा कसको संलग्नता ?
यो आक्रमणका पछाडि कसको हात छ ? प्रश्न अनुत्तरित नै छ । तर एउटा कुरा प्रष्ट छ- यसमा ठेक्कापट्टाको लामो रीसइबी, टेण्डर लिने र दिलाउने कुरामा लाभ नपाउने समूहको हात रहेको हुन सक्छ ।
महासचिव हुँदादेखि नै गौचनले ठूला ठेक्काहरुको हात पारेपछि पेशेवर गुण्डाहरुले उनीसँग डाहा गरेको हुन सक्छ । गौचनसँग असन्तुष्ट त्यही समूहले निकै लामो योजना र ठूलो रकम सुपारी दिएर पेशेबर शुटर मार्फत यो घटना गराएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना लगत्तै शरदको घरमा प्ुगेका उनका नातेदार तथा माओवादी नेता अमिक शेरचनका दाजु डीबी शेरचनले ठेकेदारहरुले नै उनको हत्या गराएको आरोप लगाए । उनले भने- ‘हामीलाई यस्तो आभाश पहिले नै भइसकेको थियो, प्रष्टै छ, यसमा ठेकेदारहरुकै हात छ ।’
गौचन हत्याको जिम्मेवारी मनोज पुन समूहले लिएको अपुष्ट हल्ला पनि सोमबार सम्साँझै चल्यो । प्रहरीलाई हवाला दिँदै कतिपयले रमेश बाहुनको समूहलाई पनि यसमा जोडेका छन् । यद्यपि यी हल्लाहरु अनुसन्धानबाट पुष्टि हुन बाँकी आशंकाहरु मात्रै हुन् ।
जसले गरेको भए पनि गौचन हत्यामा पेशेवर सार्प सुटरहरुको प्रयोग गरिएको प्रारम्भिक आशंका प्रहरीले गरेको छ, तिनीहरुलाई भारतबाट सुपारी दिएर ल्याइएको पनि हुन सक्छ । अन्यथा क्षणभरमा दिनदहाडै व्यस्त शहरमा गोली चलाएर उनीहरु उम्कन सक्ने कल्पना गर्न सकिँदैनथ्यो ।
हेरौं, अब प्रहरीले केही दिनमा घटनाको रहस्य उजागर गर्ला ।
प्रतिक्रिया 4