Comments Add Comment

म्यादी प्रहरी बन्नेहरुको भिड (तस्वीरसहित)

२७ असोज, भैरहवा । रुपन्देहीको तिलोत्तमा नपा-१ शंकरनगरकी ३४ वर्षीया कल्पना क्षेत्री म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् ।

यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी क्षेत्रीले अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आहृवान गरिएको म्यादी प्रहरी भर्नाका लागि उनी दरखास्त फारम लिएर धकेलाधकेल हुने लाइनमा उभिएर आफ्नो आवदेन दर्ता गराइन् ।

आवदेन दर्ता गरेर परिक्षा प्रवेश पत्र कुरेर बसिरहेकी उनले अगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने अठोटका साथ आफुले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवदेन दिएको बताइन् ।

बेरोजगारी र घरायसी समस्याको कारण पनि आफुले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताइन् ।

१८ वर्षीय एक छोरा र १९ वर्षीय एक छोरीको जिवनयापन चलाउँदै आएकी उनले महिलाले पनि प्रत्येक कार्य गर्न सक्ने र प्रहरी संगठनमा आवद्ध भएर ज्ञान आजर्न गर्ने राम्रो अवसर रहेको कारण आफूले यस अवसरलाई छुटाउन नचाहेको उनी बताउँछिन् ।

त्यस्तै लुम्बिनी क्षेत्रको जोगडाकी ३५ वर्षीया निर्मला चौधरीको दम्पतिले नै म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवेदन दिएका छन् ।

चौधरीका श्रीमानले यस अघि स्थानिय निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरिसकेको कारण उनको प्रेरणाबाट प्रभावित भएर आफूले पनि आवदेन दिएको चौधरी बताउँछिन् ।

३ छोरीलाई अध्यापन र एउटा सानो छोरालाई हेरचाह गर्दै आएकी उनले भनिन् यस अघिको निर्वाचनमा श्रीमान म्यादी प्रहरीमा हुनुहुन्थ्यो र मैले पनि केही गर्नसक्छु भनेर म्यादी प्रहरी भर्ना हुनका लागि आवदेन दिएकी छु ।

यस्तै म्यादी प्रहरीमा भर्ना हुनका लागि शुद्धोधन गाउँपालिका ७ भगलापुरबाट युवा युवतीहरु २५ जनाको टोली नै भैरहवा आएर जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् ।

उनीहरु भन्छन् रोजगारी छैन घरमा बसेर के गर्नु बरु म्यादी प्रहरीमा भर्ना भएपनि केही रकम पनि आजर्न हुन्छ र केही ज्ञान पनि आर्जन गर्न पाइन्छ भने हामीहरु आवदेन दिन आएका छौँ ।

प्रहरी बन्ने इच्छा रहेको कारण पनि आफुमध्ये धेरैजनाले म्यादी प्रहरीमा आवदेन दिएको उनीहरु बताउँछन् ।

असोज महिना सकिन लागेपनि भैरहवाको प्रचण्ड गर्मीमा रुपन्देहीका बिभिन्न ग्रामीण तथा शहरी क्षेत्रबाट म्यादी प्रहरी भर्ना हुनका लागि युवा युवतीहरु तछाडमछाड गरेर लाइनमा लाम लागेका छन् ।

प्रहरीलाई पनि लाइन व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । प्रहरीको अन्यत्र पोष्टबाट समेत थप मद्दतका प्रहरीको टोली जिल्ला प्रहरी कार्यालयमा खटिएका छन् ।

कार्यालयमा शुक्रवार दिउँसो सम्म २ हजार बढी आवदेकले आवेदन दर्ता गराएको र आवदेन दर्ता गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

आवदेन दिनेहरुमा मुख्यत बेरोजगारी, पूर्व म्यादी प्रहरीको आर्कषण, प्रहरी बन्ने इच्छुक, प्रहरीसगँ काम गर्ने अवसर लगायतका कारणले म्यादी प्रहरीमा आवेदन दिनेहरु चाप बढेको उनले बताए ।

देश भरिबाट ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी आवश्यक रहे पनि रुपन्देहीमा कति हुने अहिले सम्म कुनै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आवदेन दर्ता गराउनका लागि असोज ३० गते सम्मको म्याद रहेको छ ।

५५ दिनको कार्यअवधि रहने म्यादी प्रहरीहरुलाई नेपाल प्रहरीका जवान सरह आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँको दरले ५५ दिनको लागी पारिश्रमिक, राशन र स्थानिय भत्ता उपलब्ध गराईनेछ प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसको साथै निर्वाचनमा खटिने म्यादी प्रहरीलाई सात दिनको लागी प्रतिदिन २ सय ५० रुपैयाका दरले भत्ता र सात दिनकै लागी प्रत्येक दिन २ सय ५० रुपैयाँका दरले खाजा/खाना खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment