Comments Add Comment

सडक कुकुरका धाइआमाहरु, जो आफ्नो छाक कुकुरसँग बाँड्छन्

खाँट्टी डग लभरहरुको कथा

काठमाडौं । कहिलेकाहीं यसरी पनि सोचौं न । सडक पेटीमा सुतिरहेका बेला कसैले हामीमाथि एसिड खन्याइदिन्छ । भोको पेट लिएर भौंतारिरहेका बेला जिउमा भकभक उम्लिरहेको पानी पोखिदिन्छ । बिसञ्चो भएर यसै विश्राम गरिरहेका बेला ढुंगाले बजार्छन् । हामीलाई देख्नासाथ सबै डराउँछन् । घिनाउँछन्, तर्सन्छन् र तर्कन्छन् ।

यस्तो अवस्थामा हामी कति असुरक्षित अनुभव गछौं ? हीनताबोध र अपमानले कति खुम्चिन्छौं ? तनाव र आक्रोशले कति भित्रभित्रै जल्छौं ? भोक र तिर्खाले कति व्याकुल हुन्छौं ?

यस्तै पीडा, व्यथा, भोक, अभाव, त्रास र हीनताबोधको एकमुष्ठ प्रहार खेपिरहेका छन्, सडकका कुकुरहरु । हामी उनीहरुको यो संवेदना अनुभूत गर्दैनौं । उनीहरुको मनोदशा बुझ्दैनौं । बरु, बिनाकसुर जोडले लात बजाछौर्ं र ‘गतिलै काम’ गरेझैं अहंकारले फुल्छौं । मख्ख पछौं ।

तर,
त्यही कुकुर हो, जसले हामीलाई सुरक्षा दिन्छ । त्यही कुकुर हो, जो हाम्रो घरको शोभा बन्छ । त्यही कुकर हो, जो हाम्रो एक्लोपनमा साथी बन्न आइपुग्छ । त्यही कुकुर हो, जसले आफ्नो ज्यानलाई दाउमा राखेर हामीलाई जोखिमबाट बचाउँछ ।

उसलाई हामी ठूला आपराधिक घटनाको अनुसन्धानमा लगाउँछौं, दैवी प्रकोपमा उद्धारका लागि खटाउँछौं ।

तैपनि,
हामी ठान्छौं । कुकुरले टोक्छ, झम्टिन्छ, चिथोर्छ । आखिर किन ?

यस्तै जिज्ञासा लिएर हामी केही भुक्तभोगीकहाँ पुग्यौं । उनीहरुले ठोकुवा गरे, कुकुर आक्रामक/हिंस्रक हुँदै होइन । बरु, उसले स्नेह खोज्छ, सुरक्षा खोज्छ, सम्मान खोज्छ र सद्भाव खोज्छ ।

सडक कुकुरको अवस्था, मनोदशा, मनोविज्ञान, प्रवृत्ति खोतल्न हामी केही यस्ता पात्रकहाँ पुग्यौं, जो कुकुरको संरक्षणमा तल्लीन थिए । तीमध्ये कति पात्र यस्ता थिए, जसले परिवारबाट विमुख भएरसमेत सडक कुकुरको स्याहार सुसार गरिरहेका छन् ।

कुकुरको सेल्टर पुग्दा

‘स्नेहा केयर्स’ । यस्तै लेखिएको साइनबोर्ड पच्छ्याउँदै जाँदा हामी यस्तो ‘सेल्टरमा’ पुग्यौं, जहाँ सयौं कुकुर थिए । र, ती कुनै पाल्तु कुकुर थिएनन् । सडकबाट उठाइएका बेवारिसे कुकुर थिए ।

गाडीले कुल्चिएर आधा शरीर क्षतविक्षत भएको, एसिड आक्रमणले छाला नराम्ररी जलेको, ढुंगाको प्रहारले गहिरो चोट खेपिरहेको, खुकुरीको तोडले मुख नै काटिएको, एउटा खुट्टा गुमाएको । यति पीडादायी अवस्था त्यहाँ मान्छेहरु हुँदा हुन् त उनीहरुको रोदन, बिलौना, चित्कार सुनिन्थ्यो होला । तर, कुकुरहरु चुपचाप आफ्नो पीडा, व्यथा, वेदना सहेर हामीसँग झुम्मिन आइपुगे ।

‘डराउनु पर्दैन’ तिनै कुकुरको स्याहारसुसारमा खटिएकी स्नेहा श्रेष्ठले हाम्रो मनोदशा बुझेर भनिन्, ‘यिनीहरु मान्छेसँग घुलमिल भइसकेका छन् ।’

स्नेहा, जसले आफ्नै बलबुतामा यतिका कुकुरलाई पालनपोषण गरिरहेकी रहिछन् । उनी त्यहाँ पुग्नसाथ कुकुरहरु यसरी झ्याम्मिएका थिए, जसरी अबोध बालबच्चाले आफ्नी आमाको ममतामयी काख खोज्छन् । स्नेहाले ती कुकुरलाई काखमा लिइन्, प्रेमपूर्वक मुसारिन्, खेलाइन् र अँगालोमा बाँधिन् ।

कुकुरकी धाइआमा

स्नेहाको कुकुरसँग जुन आत्मीयता गाँसिएको देखिन्थ्यो, त्यो आफैंमा रोचक थियो । हामीले सोध्यौं, किन उनी कुकुरप्रति यति स्नेह पोख्छिन् ?

यसको जवाफ उनले आफ्नो पाल्तु कुकुर ‘जारा’को कहानीबाट सुरु गरिन् । त्यसबेला उनीहरुले जारा भन्ने कुकुर पालेका रहेछन् । त्यसअघि पालेका दुई कुकुर आफ्नै हेलचेक्रयाइँले मरेपछि दोस्रो पटक ल्याइएको कुकुर थियो त्यो । जारालाई उनले सकेसम्म हेरचाह गरिन् । खुवाउने, खेलाउने कुनै कुरामा कमि हुन दिइनन् । जारा उनको परिवारकै सदस्यजस्तो भयो ।

कार्यालयबाट घर पुग्दा जारा स्नेहालाई लिन गेटसम्म आउँथ्यो । उनलाई देख्नासाथ पुच्छर हल्लाउँदै कहिले घुर्की लगाउँथ्यो, कहिले यसै फुर्किएर बुरुक्क-बुरुक्क उपि|mन्थ्यो । तर, एकदिन स्नेहा घर फर्किंदा जारा गेटमा थिएन । उनी हतार-हतार जारालाई खोज्न थालिन् । जारा घरभित्र रगतपच्छे लडिरहेको थियो । जारालाई कसैले विष मिसाएको खानेकुरा दिएछन् । जारा मर्‍यो ।

त्यसपछि स्नेहालाई आफ्नो घर एकदम सुनसान लाग्यो । आफ्नै प्यारो सन्तान गुमाउनुको पीडा अनुभूत गरिन् । कतिसम्म भने त्यही कुकुरसँगको वियोगले उनलाई डिप्रेसनको अवस्थामा पुर्‍यायो । त्यसपछि नै हो, स्नेहाले सडक कुकुरको अनुहारमा पनि ‘जारा’को प्रतिरुप देख्न थालेको ।

अब उनको माया सडक कुकुरमा पनि पोखिन थाल्यो । उनले सडकमा बेवारिसे कुकुरहरुलाई खाना दिन थालिन्, स्याहार्न थालिन् । कति घाइते कुकुर उठाएर डग केयर सेन्टरमा पुर्‍याइन् । डग क्लिनिकमा लगेर उपचार गराइन् । तर, कति दिन यसरी साध्य चल्थ्यो ?

एउटा कुकुर भए पो ! दिनदिनै सडकमा अनगिन्ती कुकुर भोकले तड्पिरहेका छन् । अपांग शरीर लिएर घिसि्ररहेका छन् । असह्य पीडाले व्याकुल बनेका छन् । ती सबै आफ्नै प्यारो जाराजस्तै त थिए । र, तिनै कुकुर स्याहार्न, पालनपोषण गर्न उनले जग्गा भाडामा लिएर कुकुरको सेल्टर स्थापना गरिन् ।

जारा एक उत्प्रेरक

‘जब बिहान मेरो आँखा खुल्छ, सबैभन्दा पहिला जारालाई देख्न चाहन्छु । त्यही भएर मैले सिरानीमा जाराको फोटो राखेकी छु,’ स्नेहाले यसो भनिरहँदा उनको काखमा एउटा कुकुर खेल्न आइपुगेको थियो । त्यसैलाई मुसार्दै उनले थपिन्, ‘जाराको फोटो हेरेपछि मात्र पनि मलाई सन्तोष लाग्छ, उत्प्रेरणा जाग्छ ।’

उनलाई लाग्दोरहेछ, जारासँगको त्यो ‘अट्याचमेन्ट’ नभइदिएको भए आज यत्तिका कुकुरले सेल्टर पाउने थिएनन् । यत्तिका सडक कुकुरले उपचार, खानपान, बसोबास पाउँदैनथे । त्यही जारा नै स्नेहाका लागि यस्तो प्रेरक बन्यो, आज सयौं सडक कुकुरले न्यानो आश्रम पाइरहेका छन् । र, पीडामुक्त जीवन बाँच्ने मौका पाइरहेका छन् । भरपेट खान र ‘स्नेह’ पाइरहेका छन् ।

‘मान्छेले जस्तो देखावटी साथ दिएको होइन । कुकुरले वास्तवमै हृदयबाट साथ दिन्छ, जस्तोसुकै परिस्थितिमा पनि ।’

‘मैले डग सेल्टर खोलेर सडक कुकुरलाई स्याहार्न थालेपछि कति मान्छेले शंका गर्छन्, अनेकथरि भन्छन् । मलाई नरमाइलो लाग्छ, एकदमै चित्त दुख्छ,’ स्नेहाले भनिन्, ‘त्यसबेला जारालाई सम्झन्छु, उसको फोटो हेर्छु । मनको सबै पीर हट्छ । अनि, आफ्नो कामप्रति उत्साह जाग्छ ।’

अहिले स्नेहाले जुन कर्म गरेकी छन्, त्यो जाराकै कारण हो । त्यसैले उनी जाराप्रति कृतज्ञ छिन् । भन्छिन्, ‘अहिले त केही टेन्सन भयो भने जाराकै फोटो हेरेर स्ट्रेस फ्रि हुन खोज्छु । कुनै कारणले हतोत्साही भएँ भने जाराको फोटो हेरेर उर्जा जगाउँछु ।’

अर्थात्, जारा एउटा कुकुर मात्र होइन, उनको जीवनकै एक उत्प्रेरक हो ।

कुकुरका एक यस्ता ‘यार’

हामीले भेटेका अर्का पात्र थिए, प्रवीन बज्राचार्य । सानेपास्थित आफ्नै घरलाई डग सेल्टर बनाएर उनी ‘भुस्याहा’ कुकुरसँग खेलिरहेका थिए । कुकुरसँग प्रवीनको घनिष्ठता लोभलाग्दो थियो ।

उनी कुकुरका हितैषी हुन् । यार हुन् । बाटोमा भेटिने कुकुरलाई उनी स्नेहपूर्वक सम्हाल्छन् । खानेकुरा दिन्छन् । तीमध्ये कतिलाई आफ्नै सेल्टरमा ल्याएर पाल्छन् । घुलमिल हुन सिकाउँछन् । आज्ञापालनको तालिम दिन्छन् ।

त्यति मात्र होइन, उनी कुकुरको समवेदना पोख्दै गीत लेख्छन्, गाउँछन् र भिडियो बनाउँछन् । कहिले डग सो गर्ने भन्दै दौडिरहेका हुन्छन्, कहिले डग पार्टीको मेलोमेसो मिलाइरहेका हुन्छन् ।

कुकुरसँगको दोस्ती, आफन्तबाट ‘अछुत’

उनी जन्मजात डग लभर रहेछन् । सानै छँदा घरमा कुकुर ल्याउँदै पाल्ने । घरपरिवारले जति छिछि दूरदूर गरे पनि प्रवीनलाई कुकुरकै सामिप्यता चाहिने । पढ्ने, करिअर बनाउने छोराको यस्तो ताल देखेर आमाबाबुले पनि उदेक मानेका रहेछन् ।

एकदिन प्रवीन आधा दर्जन कुकुर डोहोर्‍याउँदै घर पुगेछन् । त्यही कुकुरसँग खेल्न थालेछन् । तर, घर परिवारले उनको यो ‘हर्कत’ रुचाएनन् । अब प्रवीन घरपरिवारबाटै ‘अछुत’ भए । उनले छोएको कसैले नखाने । उनीसँग नजिकिनै हच्किने ।

कुकुर पालेको देखेपछि छरछिमेक पनि उनीसँग नराम्ररी बिच्किए । कतिले त घाइते कुकुर घरको गेटमै ल्याएर छाडिदिए ।

तर, उनी कतिसम्म कुकुरप्रेमि भने दुनियाँको आरोप झेल्दै घरलाई डग सेल्टर बनाइछाडे । अब त्यो घरमा परिवारका सदस्य आउन छाडे । उनको परिवारले त अहिलेसम्म पाइला टेकेका रहेनछन् ।

हामीलाई चिसो पेय दिन उनले केही थान डिस्पोजेबल गिलास मगाए । उनी भन्दै थिए, ‘यहाँ चिया पकाउने र यहींको गिलासमा दिने गरिएको छैन । मान्छेहरु घिनाउँछन् नि त । कतिले त हामीले छोएको पनि खाँदैनन् ।’

कुकुर-प्रेम

कुकुरसँग नजिक भएपछि प्रवीन आफन्तसँग टाढिए । ‘कुकुर पालेर डिस्टर्ब गरेको’ भन्दै कति छिमेकी उनीसँग झगडा गर्न आए ।

परिवारका लागि उनको काम पटक्कै रुचिकर थिएन । आफन्तहरु उनीसँग विमुख हुँदै गएका थिए । तर, उनी आफन्तका खातिर कुकुर त्याग्न सक्दैनथे । त्यही बाध्यात्मक परिस्थितिले उनी चिन्ताग्रस्त भए । ‘कति पटक त सुसाइड गर्ने सोंच पनि बनाएँ,’ प्रवीनले भने, ‘तर, कुकुरकै मायाले मलाई बचायो ।’

कुकुरको भाषा बुझ्ने

कुकुर बोल्दैन । उसले आफ्नो पीर मर्का सुनाउँदैन । आफ्नो दुःख विलौनाका रुपमा प्रकट गर्दैन । तर, यसो भन्दैमा कुकुरमा संवेदना हुँदैन भन्ने होइन । कुकुर पनि हामीजस्तै खुशी हुन्छन्, रिसाउँछन्, दुःखी हुन्छन्, मख्ख पर्छन्, निरास हुन्छन्, फुर्किन्छन् । तर, कुकुरको यस्तो भाव बुझ्नका लागि कुकुरसँग हेलमेल हुनैपर्छ । प्रवीन यसै भन्छन् ।

‘कुकुरले सबैकुरा अनुभूत गर्छ र आफ्नै ढंगले व्यक्त गर्छ,’ उनी भन्छन्, ‘उसले बोल्न मात्र सक्दैन ।’

कुकुरले जहिले पनि मान्छेको सामिप्यता खोज्ने प्रवीनको अनुभव छ । ‘हामी कुकुरलाई हिर्काउँछौं, लखेट्छौं, भगाउँछौं तर उनीहरु हामीसँग नजिकिन खोजिरहेका हुन्छन्,’ प्रवीन भन्छन्, ‘हाम्रो प्रेम, सामिप्यता खोजिरहेका हुन्छन् ।’

कुकुरलाई जब माया गर्न थालिन्छ, बदलामा उसले पनि माया गर्छ । हाम्रो अनुपस्थितिमा उसले शुन्यता अनुभव गर्छ । कुकुरले चाहन्छ कि हामीले उसलाई खेलाओस्, बोलाओस् ।

कुकुरकी प्यारी बजै

एउटी ज्ञानु देउला थिइन्, कुकुरहरुकी प्यारी बजै । कमलादीस्थित गणेशस्थान मन्दिरमा आश्रय लिएकी थिइन् । उनी मन्दिरका दर्शनार्थीलाई फूलमाला बेच्थिन् । र, दुःखजिलो गरेर कमाएको २/४ रुपैयाँले आफ्नो पेट मात्र होइन, आसपासका दर्जनौं कुकुरहरुको पनि भोक मेट्थिन् ।

प्रवीन सम्झिन्छन्, ‘उहाँकै कमाइले दर्जनौं कुकुर पालिएका थिए । उहाँ जहिले पनि ती कुकुरहरुबाट घेरिएकी हुनु हुन्थ्यो ।’

आफ्नो आर्जनले जे सकिन्छ, त्यही किनेर कुकुरलाई खुवाउँथिन् । तिनै कुकुरसँग मन्दिरको पाटीमा सुत्थिन् । ज्ञानु देउला जता जान्थिन्, कुकुरहरु पच्छ्याउँथे । ‘कहिलेकाहीं डग सोहरुमा हामी उहाँलाई गाडीमा लिन जाने र छाड्न जाने गथ्यौर्ं,’ प्रवीन सम्भिmन्छन्, ‘त्यसबेला हाम्रो गाडीमा कुकुरहरु झुम्मिन्थे, उहाँलाई देखेपछि खुशीले उपि|mन्थे ।’

ज्ञानु देउलाले कुकुरलाई कतिसम्म माया गर्ने भने कसैले कुकुरलाई हिर्कायो, गाली गर्‍यो भने त्यसको प्रतिकार गरिहाल्ने । मानौं ती उनका आफ्नै कोखका सन्तान हुन् । कति गाडीको त उनले ढुंगाले हिर्काएर सिसा नै फुटाइदिएछन्, कुकुरलाई कुल्चियो भनेर ।

ज्ञानु देउलाको मृत्यु भयो । उनको आश्रयमा बाँचेका दर्जनौं कुकुरले अभिभावक गुमाए । उनीहरुको बिचल्ली नहोस् भनेर स्थानीय समाजले ती कुकुरलाई खाने, बस्ने बन्दोबस्ती मिलाइदिए ।

‘तर, अझै पनि ती कुकुरले आफ्नी आमालाई पर्खेर बसेजस्तै लाग्छ,’ प्रवीन भन्छन्, ‘हाम्रो गाडी पुग्नासाथ उनीहरु आमा पनि आइन् कि भनेर होला झ्याम्मिन आइपुग्छन् । आमालाई नदेखेपछि अलि नियास्रो मानेजस्तै गर्छन् ।’

एक खाँट्टी डग लभर

यो शहरमा कुकुरलाई देखिनसहने मात्र छैनन्, हार्दिकतापूर्ण प्रेम गर्नेहरु पनि छन् । जस्तोः जयनारायण सिंह । उनी कुकुरका यस्ता प्रेमि हुन्, जसले आफैंलाई बिर्सिएका छन् । आफ्नो गच्छेले भ्याएसम्म उनी सडक कुकुरलाई खुवाउने र स्याहार्ने गर्छन् ।

प्रवीनका अनुसार जयनारायण जहिले पनि कुकुरप्रति नै चिन्तित हुने गर्छन् । कुकुरले खाए, नखाएको कुरामा बढी ध्यान दिइरहेका हुन्छन् । उनी भेटेजति सडक कुकुरलाई खानेकुरा दिँदै हिँड्छन् । घरमै पनि पाल्छन् । आफ्नो कमाइको अधिक पैसा सडक कुकुरै स्याहारमा खर्चिन्छन् ।

जयनारायण ८७ वर्षका भए । यतिबेला उनलाई अफ्नै स्वास्थ्यको होइन, आफूले पालेका कुकुरहरुको चिन्ता छ । आफ्नो शेषपछि ती कुकुरको बिजोग हुने कुराले उनलाई नराम्ररी बिथोलेको छ । त्यसैले बेलाबेला भन्छन् रे, ‘प्रवीन, म मरिहालें भने यी कुकुरलाई मेरो अभाव हुन नदिनु है !’

बिनाकसुर यातना

नेपाली समाजमा एउटा उखान छ, ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ ।’

यो उखानको भावार्थ फरक होला । यद्यपि, कुकुरको यथार्थ ठीक यस्तै छ । अर्थात्, दुनियाँको कुटाइ, गाली र अपहेलना सहेका कुकुरहरु मान्छे देख्नासाथ डराउँछन्, थर्कमान हुन्छन् । उनीहरु ठान्छन्, ‘अब म कुटिनेछु ।’ त्यसैले उनी रक्षात्मक अवस्था रहन्छन् वा लुरुलुरु भाग्छन् ।

हामीले डग सेल्टरमा भेटेका थुप्रै कुकुर मान्छेले नै घाइते बनाएका थिए । डग सेल्टरकी कर्मचारी भन्दै थिइन्, ‘हरेक महिना एउटा कुकुर एसिड अट्याकको सिकार भइरहेको भेटिन्छ ।’ त्यसपछि हिट एन्ड रन अर्थात् गाडीले कुल्चिएका थुप्रै कुकुर असह्य पीडा झेलिरहेका छन् । कतिलाई तातोपानी खन्याइएको छ । कतिलाई खुकुरीले छप्काइएको छ । यसरी चोटै चोट बोकेर कुकुरहरु कष्टकर जीवन गुजारिरहेका छन् ।

प्रवीनले थुप्रै सडक कुकुरलाई घाइते अवस्थामा भेटेका छन्, त्यसलाई स्याहारेका छन् । सडक कुकुरको नजिक जाँदा कुकुर भाग्छ वा झम्टन आउँछ । किनभने, उसले ठान्छ, पिट्न आएको हो । दुःख दिन आएको हो । त्यसैले कुकुरले आफूलाई रक्षात्मक अवस्थामा राख्छ । आफ्नो बचाउको लागि भुक्छ, झम्टन्छ ।

माया गर्नुहोस् माया दिन्छ

‘यदि त्यही कुकुरलाई बिस्कुट दिएर, फकाएर नजिक भइयो भने उसले केही गर्दैन,’ प्रवीन भन्छन्, ‘मान्छेभन्दा समझदार प्राणी हो यो ।’

कुकुरले सधैं मान्छेबाट स्नेह खोजिरहने उनको बुझाइ छ । स्नेहा श्रेष्ठको अनुभवमा पनि कुकुरलाई माया गरेर उसको विश्वास जित्न सकिन्छ । जब कुकुरको विश्वास जितिन्छ, जीवनभर उसले हाम्रो साथ छाड्दैन । ‘मान्छेले जस्तो देखावटी साथ दिएको होइन,’ स्नेहा भन्छिन्, ‘उसले वास्तवमै हृदयबाट साथ दिन्छ, जस्तोसुकै परिस्थितिमा पनि ।’

अभिनेत्री नम्रता सापकोटा अर्की डग लभर हुन् । उनले कुकुरको मनोविज्ञान राम्ररी बुझेकी छन् । नम्रता भन्छिन्, ‘कुकुरले दुःख, सुख, पीर, खुशी सबै अनुभूत गर्छ । उसले जहिल्यै चाहन्छ, मान्छेले मलाई माया गरोस् ।’

तस्वीरः कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment