+
+
Shares

भिन्तुना र्‍यालीसहित नेपाल संवत ११३८ को स्वागत

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ कात्तिक ३ गते १४:३१

  ३ कात्तिक, पोखरा । नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११३८ को स्वागतार्थ पोखरामा शुक्रबार बृहत भिन्तुना र्‍याली निकालिएको छ ।

नेवा खलः कास्कीको आहृवान तथा पृथ्वीचोक कचा खलः, पृथ्वीचोक मिसा पुचः र पृथ्वीचोक ल्याम्हः पुचःको संयुक्त आयोजनामा शुक्रबार पोखरामा न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने र्‍यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । र्‍यालीमा झाँकिसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । पोखरामा नेवारी भेषभुषा लगाएर कार्यक्रममा सहभागि बिरलै मात्र देख्न सकिन्छ । जुन शुक्रबारको भिन्तुना र्‍यालीमा देखिएको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए ।

आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्धेश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।

र्‍यालीमा नेवारबाहेक गुरुङ, मगर, थकाली, तामाङ, हृयोल्मो, क्षेत्री, ब्राहृमणलगायतका जातीय संघसंस्थाहरुको संस्थागत सहभागीता रहेको थियो ।

पोखराको सभागृहचोकबाट शुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भीमसेनटोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो ।

समापन कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाल सम्वत राष्ट्रिय सम्वत भएको र यो सबै नेपालीको भएको बताए । उनले भने,’संखधर साख्वाले नेवारको मात्र ऋण मोचन गरेका होइनन्, उनले सबै जातजातिलाई ऋण मुक्त गराएका थिए, त्यसैले साख्वा सबै नेपालीको राष्ट्रिय विभूति हुन् र नेपाल सम्वत सबै नेपालीको राष्ट्रिय सम्वत हो ।’

प्रमुख जिसीले नेपाल सम्वतको स्वागतार्थ निकालिएको भिन्तुना र्‍यालीले जातीय सद्भाव कायम राख्न सघाएको बताए ।

जातीय संघसंथाको तर्फबाट बोल्दै तमु धिँ नेपालकी केन्द्रीय अध्यक्ष कर्मा तमुले नेपाल सम्वत नेवारको मात्र नभई सबै जातजातिको भएको बताईन् । उनले नेपाल सम्वतलाई अन्य जातिले पनि अवलम्वन गर्नुपर्नेमा जोड दिइन् ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सहभागीहरुलाई धन्यवाद दिदै जातीय हक, हितको कुरा गर्दा साम्प्रदायीकताको ट्याग भिराउने गरेको गुनासो गरे ।

समापन कार्यक्रममा र्‍यालीमा सहभागी ३३ वटा कचाःखल मध्ये तेर्सापट्टी कचाः खलः प्रथम, कुँडहर कचाः खल द्वितीय, भीमसेनटोल कचाः खल तृतीय र नयाँबजार कचाः खल र रानीपौवा कचाः खलले सान्त्वना स्थान प्राप्त गरे ।

सहभागी मध्ये समावेशी सहभागिता, जातिय पोषाक, अनुशासन र रचनात्मक प्रदर्शनको आधारमा उत्कृष्ट छनौट गरिएको नेवाः खलले जनाएको छ ।

र्‍यालीमा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार तृतीय हुनेलाई २ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस्तै नेवारवाहेक अन्य सहभागी जातिय संघसंस्थालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नेवा खल कास्कीका सदस्य अष्टमान प्रधानाङ्ग र पोखराबाट प्रकाशित हुने भिन्तुना पत्रिकाका सम्पादक उदयबहादुर अमात्यद्वारा लिखित ‘म्ह पूजा विधी’ नामक पुस्तकको विमोचन गरिएको थियो ।

नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्वत चलाएका हुन् ।

सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?