Comments Add Comment

माग्ने बुढा, साइला र तक्मेको भाइटीका

आज भाइटीका । तिहारको अन्तिम दिन । यतिबेला ‘साइला’ परदेशमा छन् । चिन्नुभयो नै होला, साइला अर्थात गौरव पहारी । ‘होलिडे’ फिल्मका लागि उनी बेल्जियममा छन् । उनका साख्खै दिदीबहिनी छैनन् । उनीजस्तै रित्तो छन्, माग्ने बुढापनि । एउटै आमाको दुध चुसेका चेली छैनन्, उनको । यता तक्मे बुढा चाहि चेलीका धनी छन् । उनीसँग दुई बहिनीहरु छन् । अब लागौं, उनीहरुको भाइटीका अनुभवतर्फ ।

तक्मे बुढाको खल्लो सरप्राइज

केहि बर्षअघिको कुरा हो । विल्सन बिक्रम राई कार्यक्रमको सिलसिलामा मलेसियामा थिए । भाइटीकाको दिन उनले घर पुग्ने मेलोमेसो मिलाए । तर, कसैलाई थाहा नदिई सुटुक्कै । उनले गरेपनि त्यसै । बहिनीहरु योगिता र बीनीताको सामुन्ने अप्रत्यासित दाजु प्रकट हुँदा के होला ? त्यो पनि भाईटीकाको दिन ।

तर, त्यस्तो केही भएन । बहिनीहरु पनि के कम ? पुरा तयारीमा रहेछन् । दाई आउनुअघि नै उनीहरुले सायपत्री फूलको माला उनेर राखेका थिए । ‘मैले होइन उनीहरुले पो सरप्राइज दिए’ भन्दै तक्मे गजबले हाँसे ।

सानो छँदा बहिनीहरुले उनलाई भाईटीकामा स्यान्डो उपहार दिन्थे । तक्मेको भाषामा ‘अहिले त्यो बढेर टिसर्ट’ भएको छ । त्यसताका बहिनीलाई दक्षिणा दिनका लागि बुवाआमाकै मुख ताक्नुपथ्र्यो । हुन त देउसी खेलेर पनि दुई/चार पैसा जम्मा गर्थे । तर, रातभर ‘देउसिरे’ भनेर कमाएको पैसा त्यसै बहिनीहरुलाई दिन उनलाई लोभ लाग्थ्यो । पैसा सुटुक्कै खल्तीमा लुकाउथे र भाइटीकाका लागि बुवालाई पैसा माग्थे ।

सानो छँदा बहिनीको पैसा चाहि उनले उडाइदिएछन्, डाइस खेलेर । बहिनीलाई मामाले दिनुभएको पैसा । तक्मेले बहिनीलाई लोभ देखाएर मागे । र, डाइसको दाउमा राखे । जति पैसा राख्यो, त्यसो दोब्बर, तेब्बर र्फकने आसा गरेका थिए । उल्टै भएको पनि रित्तियो ।

साइलाको कथा

‘सुन साइला’ फेम गौरवका आफ्नो साख्खै दिदीबहिनी छैनन् । उनी चर्चित अभिनेता टीका पहारीका जेठा छोरा । अरु दुई भाई छन् । यद्यपी उनको भाइटीका खल्लो हुँदैन । अहिलेसम्म त्यस्तो अनुभव गरेका छैनन् । किनभने उनलाई भाइटीका ख्वाउनका लागि अरु तीन बहिनी छन्, सानीआमाकी छोरीहरु ।

अक्सर तिनै बहिनीहरुको हातबाट गौरबले भाइटीका लगाउने गरेका छन् । सुभेक्षा केसी, पल्लवी सिंह, श्रेया सिंह भन्डारीले गौरवको निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । गलामा सायपत्रीको माला । ‘उनीहरुले मलाई बहिनीको अभाव महसुष हुन दिएका छैनन्’ गौरवले भने, ‘मेरो कुनै भाइटीका खल्लो छैन ।’

ति बहिनीहरु, जोसँग उनी एउटै आँगनमा हुर्किए । एउटै स्कुलमा पढे । सानैदेखि बहिनीहरुको सामिप्यताले उनलाई चेलीको अभाव भएन ।

त्यसबेला भाइटीकामा गौरवको निधार खाली भयो, जतिबेला उनी पढ्नका लागि भारत पुगेका थिए । त्यसबाहेक पनि कहिले कहिं उनी भाइटीकामा घरबाहिर हुन्छन् । ‘अब त बानी परिसक्यो’ गौरव भन्छन्, ‘टीका नलगाउँदा पनि खासै नमज्जा लाग्दैन ।’

सानो छँदा बुवाआमाले पैसा मागेर चेलीलाई दक्षिणा दिन्थे । त्यसबेला उनले कति रुपैयाँ दिएका थिए, अहिले ठ्याक्कै हेक्का छैन ।

माग्नेबुढाको भाइटीका

माग्ने बुढा पनि चेलीहरुको सवालमा भाग्यमानी होइनन् । यद्यपी ‘अभागी’ भन्न पनि चाहँदैनन् । आफ्नै कोखको दिदीबहिनी नभएपनि उनलाई भाइटीका लगाइदिनको कमी हुँदैन । कहिले एकजना, कहिले दुईजना, कहिले तीनजनाले भाइटीका लगाइदिन्छ ।

कहिले कहिं सानी बहिनीहरुले टीका लगाइदिन्छन् । उनीहरुको खास ढंग पुग्दैन । दायाँ घुम्नुपर्नेमा बायाँ घुम्छन् । कहिले ओखर फुटाउन बिर्सन्छन् । ‘आखिर जे भएनी रमाइलो हो नि’ माग्ने बुढा भन्छन् ।

सानो छँदा उनी देउसीभैलो खेलेर पैसा जम्मा गर्थे । त्यसबेला भट्याउने काम उनैले गर्थे । देउसीमा भट्याउनेको पैसा पनि बढी नै हुने । फेरी भट्याउनेले सेलरोटी, चामल बोक्न नपर्ने । एकदम हाइसञ्चो हुन्थ्यो । रातभर भट्याएर कमाएको पैसा खर्च गर्नका लागि नजिकै बजार थिएन । पछि बजार गएर किन्ने योजना त बनाउथे तर, त्यो कहिल्यै पुरा हुँदैनथ्यो । अर्थात आफुले कमाएको पैसा चेलीलाई दक्षिणा दिनुपर्ने । ‘केहि पैसा त बुवाले दिनुहुन्थ्यो’ उनले थपे, ‘त्यसमै आफ्नो पनि पैसा मिसाउनुपथ्र्यो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment