Comments Add Comment

रामेछापलाई लालकिल्ला बनाउन वामपन्थी गठबन्धनलाई बागीको चुनौति

कांग्रेसका नयाँ र एमाले-माओवादीका पूराना अनुहारबीच प्रतिस्पर्धा

  • बाम गठबन्धनका उम्मेदवारहरू क्रमसः शान्ति पाैडेल (प्रदेश क), श्याम कुमार श्रेष्ठ (प्रतिनिधिसभा) र कैलाश ढुंगेल (प्रदेश ख)

७ कात्तिक, रामेछाप । ०५१ सालको मध्यावधि चुनावमा तत्कालीन जलस्रोत राज्यमन्त्री लक्ष्मण घिमिरेलाई पराजित गरेर एमालेका देवशंकर पौडेल रामेछाप १ को सांसद बने ।

कम्युनिस्ट पार्टीका संस्थ्ाापक महासचिव पुष्पलाल, शहीद गंगालाल र पहिलो साहित्यिक शहीद सुब्बा कृष्णलालको गृहजिल्ला भएकाले रामेछापलाई तीन लालको जिल्ला पनि भनियो, एक समयमा ।

यसपटक पुष्पलालका अनुयायी एमाले र माओवादी गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस एक्लै वामपन्थीको सामना गर्दैछ । ०४८ सालयताका हरेक चुनावमा फरक पार्टीले जित्दै आएको रामेछापले यसपटक कस्तो परिणाम दिने हो ? उम्मेदवारी मनोनयनसँगै आ-आफ्ना अड्कलबाजी सुरु भएका छन् ।

वामपन्थीका पूराना, कांग्रेसका सबै नयाँ

यस पटकको निर्वाचनमा जिल्लामा माओवादी केन्द्र र एमालेबाट पूरानै नेताहरु चुनावी मैदानमा देखिएका छन् । कांग्रेसले भने वामपन्थीसँग भिड्न नयाँ अनुहार र युवा उम्मेदवार खडा गरेको छ ।

वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्यामकुमार श्रेष्ठ यसअघि साविक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी शेरबहादुर देउवाले गृह राज्यमन्त्रीको जिम्मेवारी खोसेपछि विनाविभागीय राज्यमन्त्रीकै रुपमा चुनावमा गएका छन् ।

भागबण्डामा २ वटा प्रदेशसभा सदस्यको टिकट पाएको एमालले १ नम्बर बाट शान्तिप्रसाद पौडेललाई चुनाव लडाएको छ । उनी एमाले जिल्ला अध्यक्ष हुन् । पौडेल यसअघि नामाडी गाविस अध्यक्ष र जिविस सदस्य बनिसकेका नेता हुन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी पाएका एमाले नेता कैलाश ढुंगेल एमालेका पूराना नेता हुन् । ०४६ को परिवर्तनपछि दुई पटक जनमोर्चासँगको तालमेलमा एमालेलाई छाडेबाहेक हरेक चुनावमा उनी एमालेको तर्फबाट उम्मेदवारा बनेका छन् ।

तर, उनले यसअघि संसद र संविधानसभा निर्वाचनमा पराजय बेहोर्नु परेको थियो । ढुंगेल ०५४ सालमा जिविस सभापति थिए भने अहिले दूग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।

कांग्रेसले युवालाई ल्यायो

यसपटकको निर्वाचनमा कांग्रेसले युवालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाका लागि महाधिवेशन प्रतिनिधि कान्छाराम तामाङ उम्मेदवार बनेका छन् । उनी ०७० को संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिए ।

‘क’ श्रेणीका ठेकेदार तामाङ खर्च गर्न नडराउने नेताका रुपमा परिचित छन् । कान्छारामले जिल्लामा विभिन्न स्थानमा एम्बुलेन्स वितरण गरी परिचित भएका छन् । जिल्लामा विरामी परेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पुर्याएर पनि उनी मतदातामाझ परिचत छन् ।

  • कांग्रेसका उम्मेदवारहरू क्रमसः रत्न कार्की (प्रदेश क), कान्छाराम तामाङ (प्रतिनिधसभा) र जीतबहादुर मगर (प्रदेश ख)

प्रदेशसभा सदस्यमा पनि कांग्रेसले दुवै जना युवा उम्मेदवार खडा गरेको छ । प्रदेशसभातर्फ क्षेत्र १ बाट नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष रत्न कार्की उम्मेदवार बनेका छन् । कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्कीलगायत दाबेदार रहेको उक्त क्षेत्रमा सबैलाई पाखा लगाउँदै टिकट लिएर उनी चुनावमा होमिएका छन् ।

यसैगरी, प्रदेश सभाको २ नम्बरबाट टिकट पाउने कांग्रेस नेता जीतबहादुर मगर पनि युवा नेता हुन् । उनी ध्रुव लामा, झनक श्रेष्ठलगायत नेताहरुलाई पन्छाउँदै चुनावी मैदानमा आएका छन् । दुवै नेता अहिलेसम्म कुनै लाभको पदमा पुगेका छैनन् ।

वाम गठबन्धनमा असन्तुष्टि

वामपन्थी गठबन्धनका साझा उम्मेवारविरुद्ध माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पूर्वसभासद लक्ष्मी गुरुङ, माओवादी केन्ऽका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक मैनकुमार मोक्तान र जिल्ला सचिवालय सदस्य हेमन्त पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठविरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले बागी उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् । गएको संविधानसभा निर्वाचनमा भने प्रत्यक्ष उम्मेदवार बनेर पराजित भएकी थिइन् ।

प्रतिनिधिसभा सदस्यका लागि माओवादीभित्र श्याम श्रेष्ठ र युवराज चौलागाईंबीच प्रतिस्पर्धा चलेको थियो । अन्तिम घडीमा श्रेष्ठले टिकट पाएपछि चौलागाईं पक्ष असन्तुष्ट बनेको छ । बागी उम्मेदवारी दर्ता गराउन चौलागाईंसहितको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । यसबाट पनि माओवादीभित्रको विवाद निकै पेचिलो रहेको प्रष्ट हुन्छ ।

यस्तै, प्रदेशसभातर्फ १ मा हेमन्त पौडेल ‘निकास’ बागी उम्मेदवार बनेका छन् । त्यहाँ एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल उम्मेदवार छन् । प्रदेशतर्फको २ नम्बरमा मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा एमाले नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् ।

एमालेभित्रै पनि ढुंगेललाई बारम्बार टिकट दिइएकामा असन्तुष्टि देखिएको छ । बहुदलयताका हरेक चुनावमा कैलाशबाहेक अरुले उम्मेदवार बन्न नपाएको आक्रोश कार्यकर्तामा तीव्र देखिएको छ ।

प्रदेशसभामा यसपटक ढुंगेल समूहकै प्रभावशाली नेता रत्न गौतमले टिकट पाउने निर्णय भइसकेको अवस्थामा स्थायी कमिटीका केही नेताले कैलाशलाई नै अघि बढाउन अध्यक्ष केपी ओलीलाई दबाब दिए । यस्तै, केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकी र युवा नेता ज्ञानकुमार श्रेष्ठ पनि टिकटका आकांक्षी थिए ।

केही कार्यकर्ताले असन्तुष्टि जनाएकामा नेता ढुंगेलले पार्टीमा सबैलाई सन्तुष्ट बनाउन नसकिने बताउँदै पार्टी निर्णय सबैलाई मान्य हुने प्रतिक्रिया दिए । माओवादी नेताहरुले पनि तोकिएको समयमा मनोनयन फिर्ता लिने उनले आशा व्यक्त गरे ।

पाँच चुनावलाई फर्केर हेर्दा

पहिलो संविधानसभा निर्वाचनमा दुई वटै निर्वाचन क्षेत्रका कांग्रेस र एमालेलाई ठूलो मतान्तरले हराई विजयी भएको माओवादी दोस्रो संविधानसभामा भने २ नम्बरमा मात्र विजयी भएको थियो । यी दुवै चुनावमा एमाले जिल्लाभर तेस्रो स्थानमा थियो ।

तर, स्थानीय तह निर्वाचनमा एक नगरपालिकासहित पाँच वटा स्थानीय तह र बहुमत वडाहरु जितेर एमाले तेस्रोबाट पहिलो शक्ति बन्यो । माओवादीले दुई गाउँपालिका जित्यो भने कांग्रेसले एउटा नगरपालिकामा चित्त बुझाउनुपर्‍यो ।

हालसम्मका संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेले दुई र कांग्रेसले दुई पटक जित्दा माओवादीले एक पटक जितेको छ । ०४८ सालमा कांग्रेसका लक्ष्मण घिमिरेले जित्दा दोस्रो भएका एमालेका देवशंकर पौडेलले ०५१ मा घिमिरेलाई हराए । ०५६ मा एमालेका कमल सुनुवारले पुनः कांग्रेसका लक्ष्मण घिमिरेलाई नै हराएका थिए ।

२०६४ सालमा माओवादीका तारानारायण श्रेष्ठले कांग्रेसका आङटावा शेर्पालाई हराएको बदला शेर्पाले ०७० मा माओवादीकी लक्ष्मी गुरुङलाई हराएर लिए । यसपटक उक्त क्षेत्रमा प्रदेशतर्फ एमालेका शान्ति पौडेल र कांग्रेसका रत्न कार्कीबीच प्रतिस्पर्धा हुँदैछ ।

क्षेत्र नम्बर २ मा भने अहिलेसम्म २ पटकबाहेक सबै चुनाव वामपन्थीले जितेका छन् । ०४८ सालमा एमालेको समर्थनमा तत्कालीन जनमोर्चाका कमल चौलागाईंले जितेका थिए भने ०५१ मा वाम तालमेल नभएपछि कांग्रेसका पद्मशंकर अधिकारीले एमालेका कैलाश ढुंगेल र जनमोर्चाका कमल चौलागाईंलाई हराए ।

२०५६ मा एमालेले पुनः जनमोर्चाका अमिक शेरचनलाई समर्थन गरे पनि कांग्रेसका रामहरि ढुंगेलले जिते । ०६४ सालमा माओवादीका डिल्लीमान तामाङले एमालेका कैलाश ढुंगेललाई हराए । ०७० मा माओवादीकै श्याम श्रेष्ठले एमालेका ढुंगेललाई नै हराए । यसपटक पुनः चौथो पटक ढुंगेल प्रतिस्पर्धामा छन् भने उनको प्रतिस्पर्धा कांग्रेसका जितवहादुर मगरसँग हुँदैछ ।

यस्तो छ स्थानीय तहको मत

पाँच महिनाअघि सम्पन्न स्थानीय तहको चुनावमा लोकपि्रय मतका आधारमा एमालेले जिल्लाभरिबाट ३२ हजार ६ सय ६ मत पाएको छ । कांग्रेसले २७ हजार चार सय ८५ मत पाएको छ भने माओवादी केन्द्रले २४ हजार ८३ मत ।

यो मन्थली नगरपालिकाबाहेक अन्य स्थानीय तहका प्रमुख उम्मेदवारले पाएको मत हो । मन्थली नगरपालिकाका भने तीन वटा वडा प्रदेश क्षेत्र नम्बर ‘क’ मा पर्ने भएकाले वडाध्यक्षको मतका आधारमा निकालिएको छ ।

उक्त क्षेत्रमा एमालेले उमाकुण्ड, लिखु र गोकुलगंगा गाउँपालिका जितेको छ । रामेछाप नगरपालिकामा एक सय मतले पराजित भएको एमालेले जम्मा १७ हजार एक सय ८३ मत पाएको छ । माओवादीले उक्त क्षेत्रमा कुनै पनि स्थानीय तह नजिती आठ हजार पाँच सय ६४ मत पाएको छ ।

दुवै मत जोड्दा वामपन्थी गठबन्धनको २५ हजारभन्दा माथि हुन्छ भने कांग्रेस एक्लैको १३ हजार दुई २७ । एमाले एक्लै कांग्रेसभन्दा करीब चार हजार मतले अगाडि रहेकामा माओवादीको केही मत थपिँदा पनि एमालेलाई यो प्रदेश जित्न सहज देखिन्छ ।

प्रदेशसभातर्फको ‘ख’ क्षेत्रका खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकाका ६ वडासमेत जितेको एमालेले उक्त क्षेत्रबाट स्थानीय तह चुनावमा १५ हजार चार सय तीन मत पाएको छ । सुनापाति र दोरम्बा गाउँपालिकाका साथै मन्थली नगरपालिकाका केही वडा जितेको माओवादीले १५ हजार पाँच सय १९ मत पाएको छ ।

दुवै वामपन्थीको मत जोड्दा उक्त क्षेत्रमा ३० हजारभन्दा माथि हुन्छ । यद्यपि, माओवादी र एमाले दुवै पार्टीमा उम्मेदवारका कारण असन्तुष्टि रहेकाले कुनै पनि स्थानीय तह नजिती १४ हजार मत पाएको कांग्रेसले त्यसैमा खेलेर जित्न सकिने आशा राखेको छ ।

  • प्रतिनिधिसभामा बागी उम्मेदवार माअोवादी पूर्व सभासद लक्ष्मी गुरूङ

बागीले प्रचण्डसँगै वार्ता गर्ने

वामपन्थी गठबन्धनका लागि सबैभन्दा ठूलो चुनौति माओवादीका वागी उम्मेदवार बनेका छन् । पूर्वसभासद लक्ष्मी गुरुङ, जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य मैनकुमार मोक्तान नै विद्रोही भएपछि जिल्ला तहबाट यो विवाद समाधान हुने देखिँदैन ।

उनीहरुलाई प्रभावशाली युवा नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार तामाङ, पूर्वसभासद डिल्लीमान तामाङ, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङलगायतको साथ छ । विद्रोही उम्मेदवारहरुले केन्द्रीय हेडक्वार्टर र प्रदेश हेडक्वार्टरसँग मात्र वार्ता हुने बताइरहेका छन् । विद्रोही माओवादीलाई एमालेका असन्तुष्ट नेताहरुको पनि साथ रहेको स्रोतले जनाएको छ ।

यदि मोक्तानले उम्मेदवारी फिर्ता लिएनन् भने गाल्बापारि वामपन्थी गठबन्धनका साझा उम्मेदवारलाई प्रवेश निषेध गर्ने तयारी उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment