Comments Add Comment

बच्चा हुर्काउने माल्भिका मेथडः स्मार्ट आमाको चाइल्ड केयर

काठमाडौं । उनलाई देख्दा लाथ्यो, अविवाहित कलिली कन्या हुन् ।

निलो गाढा जम्स सुटमा ठाँटिएर फ्यानहरुले घेरिएकी ती सुन्दरीलाई देख्दा विवाहित भएको कसले भन्ला र ?

पहिलोपल्ट देख्ने र भेट्नेलाई उनी एक सन्तानकी आमा हुन् भनेर पत्याउन गाह्रै पर्ला ।

हजूर, उनी अर्थात् सदावहादर सुन्दरी माल्भिका सुब्बाको हामी चर्चा गरिरहेका छौं । सेल्फी खिच्ने भीड छिचोल्दै हामीले यी ‘स्मार्ट आमा’सँग बच्चाकै लालनपालनबारे बात मार्‍यौं ।

स्मार्ट आमा

पूर्वमिस नेपाल माल्भिकासँग आमा हुनुको खास अनुभव छ । उनले प्रसव वेदना सहेकी छन् । नवजात शिशुलाई दुध चुसाएकी छन् । बच्चाको स्याहार-सुसार गरेकी छन् । बच्चासँगै खेलेकी छन् । रमाएकी छन् । र, कहिल्यै नअघाउने क्षण साटेकी छन् ।

माल्भिकाका छोरा १८ महिनाका भए । छोराको न्वारान गरिएको छ, जाहिर रियो सुब्बा श्रेष्ठ । बडो अनौठो नाम ।

‘जाहिरचाहीं रियाजको उल्टो हो । रियोचाहीं मेरो बाबाको नाम,’ उनले भनिन्, ‘घरमा उसलाई रियो भनेर बोलाउँछु ।’

बच्चा जन्माइसकेपछि महिलाको सौन्दर्यमा पहिलेजस्तो चमक कायम रहँदैन भन्ने गरिन्छ । बच्चालाई स्तनपान गराएपछि शारीरिक सुन्दरता गुम्छ पनि भनिन्छ । बच्चा हुर्काउनुपर्ने भएकाले कतिपय महिलाले आफ्नो करिअरलाई बिट मारेका उदाहरण पनि छन् ।

माल्भिका यस्ती उदाहरण हुन्, जसले विवाहपछि पनि आफ्नो सौन्दर्यको आभालाई कायमै राखिन् । काखमा बच्चा भएर पनि उनले आफ्नो पूर्ववत् दिनचर्या जारी राखिन् । करिअरलाई पहिलेकै रुपमा अगाडि बढाइन् ।

पाँच फिट ६ इन्च अग्ली उनको सुडौल शरीर अझै उस्तै छ । आमा भइसकेपछि पनि उनी सार्वजनिक कार्यक्रममा सहभागी भइरहेकी छन् । देश-विदेश चहारिरहेकी छन् । हङकङ पुगिन्, बेलायत गइन् । अब अमेरिका जाँदैछिन् ।

‘जति टाढा गयो, बच्चाको मोह उति बढ्छ, त्यस्तो बेला भाइबरबाट बच्चासँग जोडिन्छु,’ उनले भनिन्, ‘भिडियो च्याट गर्छु र भिडियोमा बच्चा खेलेको हेर्छु ।’

आमाको दूध

स्मार्ट या एक्टिभ बन्ने नाममा माल्भिका आमाको कर्तव्यबाट भने चुकिनन् ।

सुरुका चार महिना उनले छोराका लागि आफ्नो सम्पूर्ण समय दिइन् । त्यसपछि भने छोरा हजुरआमाको काखमा खेल्न थाले । अचेल माल्भिका दिनभर काममा जान्छिन् तर जतिसुकै व्यस्त भए पनि उनी साँझबिहान बच्चाझैं हुन्छिन् ।

माल्भिकाले आठ महिनासम्म बच्चालाई आफ्नै दुध चुसाइन् । ‘आठ महिनापछि दूध सुक्यो,’ उनले भनिन्, ‘त्यसपछि उसले खान पनि मन गरेन, अन्य पौष्टिक पदार्थ खुवाउन थालियो ।’

पौष्टिक आहार

दूध छुटाएर बच्चालाई ‘सेर्लेक्स’ दिन थालियो । लिटोमा अभ्यस्त गराइयो । १० महिनाको भएपछि जाउलो ख्वाउन सुरु गरियो । अहिले उनको खास खान्की जाउलो हो ।

तर, जाउलोले मात्र आवश्यक पोषण नपुग्ने भएकाले माल्भिका छोरालाई साँझबिहान खानामा अण्डा, लिटो, उसिनेको स्याउ र गाँजर दिन्छिन् । जाडोमा सुन्तला ख्वाउँछिन् ।

‘छोरालाई सुरुमा एभोकाडो खाने बानी गराइयो । चिनी, नुन, मसलामा भने लोभ्याइएको छैन,’ उनले भनिन् ।

पर्याप्त निद्रा

बालकलाई पर्याप्त निद्रा चाहिन्छ । उनीहरुलाई कम्तिमा आठ घण्टा सुत्नैपर्छ । यो कुरामा माल्भिका सजग छन् । त्यसैले राति नौ, साढे नौ बजेतिरै रियोलाई सुताउने गरिएको छ ।

बिहान पाँच बजे बाबुको आँखा खुलिसकेको हुन्छ । त्यतिबेला उनी दूध खान खोज्छन् । कहिले दूध खाँदाखाँदै सात बजेसम्म निदाउँछन्, कहिले भने उठेर खेल्न थाल्छन् । बच्चाको सुत्ने र उठ्ने तालिका पनि सकेसम्म नियमित छ ।

‘सुत्नुअघि ढाड मसाज गर्नुपर्छ, गीत गाइदिनुपर्छ, कथा भनिदिनुपर्छ । मस्त निदाउँछ,’ माल्भिकाले भनिन्, ‘पेट दुखेको छ वा सञ्चो छैन भने मात्र सजिलै सुत्दैन ।’

माटोमा लडीबुडी

रियोलाई माटोसँग खेल्न भने छुट छ । बच्चालाई यसरी स्वच्छन्द किसिमले लडीबुडी खेल्न दिनुपर्ने र त्यसले बच्चाको प्रतिरक्षा क्षमता बढाउने माल्भिकाको राय छ ।

‘उसलाई धूलोको एलर्जी छ,’ माल्भिका भन्छिन्, ‘त्यसैले धूलो, माटोमा खेलाउँदा अलि बढी केयरचाहीं गर्नुपर्ने हुन्छ ।’

बालबालिका जाडोमा बिमारी पर्छन् । काठमाडौंमा धुलो, धुँवाले बढी सताउँछ । र, बेलाबेलामा रुघाखोकी, घाँटी घ्यारघ्यार हुनेजस्ता समस्या आउँछन् । रियो पनि यसभन्दा फरक छैनन् । एक सय दुई डिग्री ज्वरो आयो भने उनी घरमै उपचार गर्छिन् । त्यसभन्दा बढी भयो भनेचाहीं अस्पताल लैजान्छिन् ।

स्कुलको तयारी

बच्चालाई स्कुलमा अभ्यस्त गराउनु आमाको अर्को चुनौती हो । आमाको मोहपासमा बाँधिएका बच्चाहरु स्कुल जानुपर्दा कहालिएर रुने गर्छन्, जान मान्दैनन् । घर परिवारमा हुर्किएका बच्चा बाहिरी दुनियाँमा सजिलै घुलमिल हुँदैनन् ।

‘सुरुमा उसलाई अरु साथीहरुसँग घुलमिल हुन गाह्रो हुन्छ,’ माल्भिकाले भनिन्, ‘त्यसैले विस्तारै बानी गराउनुपर्छ ।’

माल्भिकाले अपनाएको र सुझाएको उपाय यस्तो छ-

सुरुमा बच्चालाई लिएर आफू पनि स्कुल जाने । स्कुलमा केही दिन बच्चासँगै समय बिताउने र खेल्ने । यसरी विस्तारै उनीहरु त्यहाँको वातावरणमा रमाउन थाल्छन् ।

सुरुका दिनमा बच्चालाई एक वा दुई घण्टा मात्र स्कुलमा राखिदिने । यसले गर्दा स्कुलप्रति उनीहरुमा वितृष्णा जाग्न पाउँदैन ।

‘१८ महिनामा डे केयर सेन्टरमा हाल्ने सोच थियो,’ माल्भिकाले भनिन्, ‘तर, अझै उसका लागि बेला भएको छैन भनेर हामीले केही समय पर्खिएका छौं ।’

अहिले नै रियोका लागि स्कुलका पुस्तकहरु ल्याइएको छ । र, उनलाई अक्षर चिनाउने गरिएको छ ।

असल संस्कार

रियोलाई अहिलेदेखि नै धर्म-संस्कारबारे अभ्यस्त गराइएको छ । उनलाई हजुरआमा, हजुरबुवासँगै पूजापाठमा सरिक गराइन्छ । चाडपर्वहरु सेलिब्रेट गराइन्छ, विधिपूर्वक ।

‘यसरी सानैदेखि सही संस्कार दिन सकियो भने बच्चाहरु पथभ्रष्ट हुँदैनन्,’ माल्भिकाले भनिन् ।

रियोले कहिलेकाहीं जिद्दी गर्छ, खासगरी खेलौनाका लागि । बच्चाले जे माग्यो, जे चाह्यो, त्यो सबै पूरा गरिदिनुपर्छ भन्ने छैन ।

‘बच्चालाई चाहेको होइन, उसलाई आवश्यक भएको कुरा परिपूर्ति गरिदिने हो,’ माल्भिकाले भनिन्, ‘कतिपय कुरामा कन्ट्रोल पनि गर्नुपर्छ ।’

बच्चालाई सानैदेखि संघर्ष गर्न र श्रमप्रति विश्वास गर्न पनि सिकाउनुपर्ने माल्भिकाको सल्लाह छ ।

‘बच्चालाई सुख दिने सबैको मन हुन्छ । तर, त्यति धेरै सुख पनि दिनुहुँदैन, जसबाट उसले दुःख नै अनुभव गर्न नपाओस् । बच्चाले सुख मात्र होइन, दुःख पनि बुझ्नुपर्छ । श्रमको महत्व र मूल्य पनि बुझ्नुपर्छ,’, उनले भनिन् ।

आफूलाई सानो छँदा आमाले त्यस्तै कुरामा अभ्यस्त गराएकाले आज यो स्थानसम्म आइपुगेको उनको बुझाइ रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment