Comments Add Comment

प्रदीप गिरीका प्रतिस्पर्धीः पूर्वउपप्रधानपञ्चदेखि वडा सदस्यसम्म

सिराहा १ मा प्रदीप गिरी कति सुरक्षित ?

२० कात्तिक, लहान । प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरी १८ वर्षपछि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएपछि सिराहामा चुनावी रौनक फेरिएको छ । मधेस आन्दोलनको उद्गम थलो मानिने लाहानलाई समेत समेटिएको सिराहा क्षेत्र नम्बर १ मा गिरी चुनाव लड्दैछन् ।

१८ वर्षअघि ०५६ सालमा एमालेका धर्मनाथ साहसँग सिरहा ५ मा पराजित भएयता गिरी प्रत्यक्ष चुनाव लडेका थिएनन् । ०४८ सालदेखि लगातार ५ पटक कांग्रेस नेता पद्मनारायण चौधरीले प्रतिस्पर्धा गरेको क्षेत्रमा यसपटक गिरीको प्रवेश भएको छ ।

सिराहाका ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिले धेरैको चासो क्षेत्र नम्बर १ मै किन पनि छ भने एमालेका युवा नेता गंगाप्रसाद यादव र पूर्वमन्त्री तथा फोरम नेता राजलाल यादवसँग कांग्रेस नेता गिरीको त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । प्रदीप गिरीको घर पनि यही क्षेत्रमा रहेकाले प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

लहानका कारण हरेक आन्दोलनमा चर्चाको शिखरमा रहने सिराहाको क्षेत्र नम्बर १ मा प्रायः संसदीय चुनावमा कांग्रेसका पद्मनारायण चौधरीले जित्दै आएका थिए । तर, स्थानीय चुनावमा लहानसहित यो क्षेत्रका केही स्थानीय तहमा एमालेले जितेको छ । एमालेमा माओवादी पनि थपिएका कारण यहाँको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ ।

विगतका चुनावमा सिराहाको अन्य क्षेत्रबाट चुनाव लडेका आएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई बलिया उम्मेद्वारका रुपमा कांग्रेसले सिरहा क्षेत्र नम्बर १ मा उतारेको छ । सधैं चुनाव लडेका चौधरी यसपटक समानुपातिकमा बसेका छन् । वामपन्थी र मधेसवादी गठबन्धनबाट दुवै उम्मेदवार यादव भएकाले जातीय मत विभाजनको फाइदा लिने दाउमा कांग्रेस देखिन्छ ।

यसअघि सिराहाको दुई नम्बर क्षेत्रबाट चुनाब लड्दै आएका फोरम नेपालका नेता राजलाल यादव पनि आफ्नो बलियो पकड खोज्दै १ नम्बर क्षेत्रमा आएका छन् । राजलाल यादव मधेसवादी गठबन्धनका साझा उम्मेदवार भएकाले उनी बलिया प्रतिस्पर्धी हुन् ।

उता एमालेका उम्मेदवार गंगा प्रसाद यादव राष्ट्रिय राजनीतिमा परिचित नभए पनि स्थानीय स्तरमा परिचित अनुहार हुन् । उनी एमालेका केन्द्रीय सदस्य पनि हुन् ।
सिराहाको लहान नगरपालिका साबिक बस्तीपुर १३ का स्थायी बासी प्रदीप गिरी र सोही ठाँउका वडा नम्बर १४ नम्बरका गंगा यादब चुनावी प्रतिस्पर्धा उत्रिएपछि चुनावी रौनक बढेको छ । सिराहा १ को चुनाव मूलतः त्रिपक्षीय नै हुनेछ ।

सिराहा १ का मुख्य प्रतिस्पर्धीहरु यस्ता छन्ः

प्रदीप गिरीः मधेस आन्दोलनका भाष्यकार

प्रदीप गिरी राष्ट्रियस्तरमा जति चर्चित छन्, स्थानीयस्तरमा पनि उनी चर्चित नेता नै हुन् । मधेस आन्दोलनका बेला उनको भूमिका आन्दोलनकारीको पक्षमा थियो । त्यो भावनात्मक मत पनि तान्ने उनको योजना देखिन्छ ।

६८ वर्षीय गिरी कांग्रेस राजनीतिसँगै देश र विदेशमा समाजवादी चिन्तक र बौद्धिक नेताका रुपमा चिनिन्छन् । गिरी २०५१ को आम निर्वाचनमा सिराहाको क्षेत्र नम्वर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए ।

प्रदीप गिरीे अधिकांश समय काठमाडाैंमा बस्छन् । उनले आफू काठमाडाैं बसे पनि मधेसी जनताको हक र अधिकारको कुरा सबैभन्दा बढी आवाज आफूले उठाएकाले मधेसी जनताले जिताउने विश्वास व्यक्त गरेका छन् ।

मधेसी, महिला, जनजाती, दलितका मुद्दा आफूले नै पहिलोपटक कांग्रेसभित्र प्रवेश गराएको कुरा मधेसी जनताले बुझेको उनको दाबी छ ।

संविधानमा हस्ताक्षर नगरेको सन्दर्भमा पनि उनले स्पष्टीकरण दिँदै हिडेका छन् । गिरीले अनलाइनखबरसँग भने- ‘मधेसी जनताले उठाएको मागको उपेक्षा गरेर पारित गरेको संविधानमा मैले दस्तखत नगरेको सत्य हो । मैले मधेसीको माग उठाएर संसद बहिस्कार गरेको छु, यो कुरा मधेसी जनताले बुझेका छन् ।’

पहिला सिराहाको ४ नम्बर क्षेत्रबाट प्रदीप गिरीको नाम जिल्लाबाट सिफारिसमा परेको थियो । तर, गिरीले एकाएक १ नम्बर क्षेत्रबाट उम्मेद्वारी दिए । सिराहा ४ माओवादीको पकड क्षेत्र मानिन्छ ।

एक नम्बर क्षेत्रमा आफूले उम्मेद्वारी दिनुको कारण गिरीले यसरी सुनाए- ‘फोरम, राजपा र कांग्रेसबीच गठबन्धनको कुरा हुँदा राजपा नेता राजकिशोर यादवले सो क्षेत्र दाबी गरेपछि म एकमा आएको हुँ ।’

राजलाल यादवः वडा सदस्य छाडेर सांसदको उम्मेदवार

संघीय समाजवादी फोरम नेपालका नेता राजलाल यादव तत्कालीन ईनर्वा गाँउ पञ्चायतका अध्यक्ष हुन् । सिराहा जिल्ला सभापति र ०६४ सालको संविधानसभा निर्वाचनमा सिराहाको २ नम्बर क्षेत्रबाट उनी बिजयी भएका थिए ।

भरखरै सम्पन्न संविधान सभा निर्वाचनमा उनी भगवानपुर गाउँपालिका वडा नम्बरबाट ३ बाट वडा सदस्यमा पनि बिजयी भएका थिए । वडा सदस्यमा चुनाव जिते पनि जिल्ला सभापति हुने सम्भावना नदेखेपछि उनी राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिन आए ।

गंगा यादवः उपप्रधानपञ्च हुँदै सांसदको दाबेदार

जनपक्षीय उम्मेदवारको तर्फबाट ०४३ सालमा बस्तीपुरको उपप्रधान पञ्च र ०५४ सालमा एमालेबाट बस्तीपुर गाविस अध्यक्षमा निर्वाचित भएका गंगाप्रसाद यादव स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । प्रदीप गिरी पनि बस्तिपुरकै हुन् ।

पछिल्लो पटक ०६४ सालको पहिलो संविधान सभा सदस्यमा सिरहा क्षेत्र नम्वर १ बाट पराजित उनै यादव यसपटकको प्रतिनिधि सभामा वाम गठबन्धन अन्तर्गत एमालेबाट उम्मेदवार बनेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले एमाले परित्यागको घोषणा गरेका थिए तर उनी पुनः एमालेमै क्रियाशील भए । उनी गाउँघरमै बस्ने सादगी नेताका नामले पनि परिचित छन् । त्यसो त प्रदीप गिरी पनि सादगी नेता का रुपमा यहाँ चर्चित छन् ।

यसपटक सिराहा क्षेत्र नंम्बर १ बाट निवर्तमान साँसद तथा पूर्व सामान्य प्रशासन मन्त्री रामचन्द्र यादवलाई एमालेले उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर, अन्तिममा आएर गंगाप्रसाद यादवलाई पार्टिले टिकट दियो । रामचन्द्रले अशन्तुष्टि जनाए पनि उनी अहिले गंगा जिताउने अभियानमा हिँडेका छन् ।

स्थानीय चुनावको अंकगणित

लहान नगरपालिकामा डेढ महिनाअघि सम्पन्न स्थानीय तह निर्बाचनमा एमालेले २१ सय मतको अन्तरमा बिजय हासिल गर्‍यो । मेयरमा एमालेका मुनी शाह र उपमेयर एमालेकै सरियार चौधरी बिजयी भए ।

एक साताअघि मात्रै मुनी साहसँग मेयरको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेर करिव ५ हजार मत ल्याएका राप्रपा नेता लगनलाल चौधरी अहिले एमाले प्रवेश गरेर प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

सिराहाको क्षेत्र नम्बर १ मा लहान नगरपालिकासहित सखुवा नन्कारकटी, भगवानापुर र लक्ष्मीपुर पतारी गाउँपालिकाका वडा नम्बर २, ३, ४, ५ र ६ वडा पर्छन् । त्यस्तै धनगढीमाई नगरपालिका पनि एक र २ नम्बर वडासहित जम्मा ४१ वडा यस क्षेत्रमा पर्छन् ।

स्थानीय तहको मतलाई आधार मान्दा एमालेले ४१ मध्ये १८ वडामा जीत हाँसिल गरेको छ । डेढ महिनाअघिको चुनावमा एमालेले यस क्षेत्रमा वडागत आधारमा २० हजार १३४ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले ४१ मध्ये १० वडा जितेको छ भने उसले पाएको मत १६ हजार ९८० छ । संघीय समाजवादी फोरमले पनि सो क्षेत्रका १० वडा जितेर १४ हजार ४१३ मत पाएको छ ।

माओवादीले यस क्षेत्रका ३ वटा वडा जितेर ४ हजार १६१ मत पाएको छ भने राजपाले एउटै वडा नजिती जम्मा ६४६ मत पाएको छ । राप्रपाले करीव ४ हजार मत यस क्षेत्रमा पाएको छ ।

डेढ महिनाअघिको मत विश्लेषण गर्दा यहाँ मूलतः एमाले, माओवादी र फोरमले आफ्नै बलमा चुनाव लड्नुपर्ने देखिन्छ । किनकि वामपन्थी गठबन्धनमा एमालेको २० हजारमा माओवादीको ४ हजार मत थपिँदा २४ हजार पुग्छ । माओवादीको सबै मत एमालेमा जान्छ भन्ने छैन ।

कांग्रेस एमालेभन्दा ४ हजार मतले पछाडि छ । राप्रपाको मत उसलाई थपिने सम्भावना किन पनि छैन भने राप्रपा केन्द्रीय सदस्य तथा उक्त मत पाउने उम्मेदवार लगनलाल चौधरी नै एमालेबाट उम्मेदवार बनिसकेका छन् ।

फोरमलाई पनि राजपाको मत थपिएर जित्ने अवस्था किन छैन भने राजपाको मत जम्मा ६ सयमात्रै छ । सिधा मत हिसाब गर्दा वामपन्थी गठबन्धन कांग्रेसभन्दा ८ हजार मतले अगाडि छ भने कांग्रेस फोरमभन्दा २ हजार मतले अगाडि छ । तर, चुनावका बेला हुने धेरै समीकरणहरुले यो मतलाई तलमाथि पार्न सक्ने विज्ञहरु बताउँछन् । ०४८, ०५१ र दोस्रो संविधान सभा ०७० को निर्वाचनमा जित हासिल गरेको कांग्रेसले यो क्षेत्रलाई आफ्नो पकड मान्दै आएको छ ।

प्रदीप गिरी आफैंमा हेबी वेट उम्मेदवार हुन् । यसका साथै स्थानीय चुनावपछि थपिएका मतदाताहरुको हिसाब स्थान चुनावको मत परिणामका आधारमा हुन सक्दैन । त्यसैले यो क्षेत्रमा प्रदीप गिरीको उपस्थितिलाई कमजोर आँक्न सक्ने स्थिति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment