Comments Add Comment

धिरज राईः स्टेज किङ ब्याक अगेन

महंगो जुत्ता सेकेण्ड हयाण्डमा बेचेर गीत रेकर्ड

 

उनको गोडामा डिंगो बुट थिएन । पहिलेझैं बेली जिन्स उनले लगाएका थिएनन् । ज्यानमा फिटिङ्स ज्याकेट थिएन । अनि गलामा लकेटहरु पनि झुण्डिएका थिएनन् ।

कुनै बेलाकाका ‘स्टेज किंग’ धिरज राई यसपालि फरक हुलियामा देखा परे ।

अनामनगरको एक क्याफेमा हामीले भेटदा उनी चुज जिन्स, टिसर्ट, स्पोर्टस् सुजमा ठाँटिएका थिए । झ्याप्ले केस पालेका रहेछन् ।

‘सधैं एकैनासको धिरज राई दर्शकलाई रुच्दैन । समयअनुसार आफूलाई अपडेट गरिएन भने पुरानै ढर्राको भइने रहेछ’, तात्तातो कफी सुक्र्याउँदै उनले हुलिया बदल्नुको रहस्य खुलाए ।

करिअरको पूर्वार्द्धमा उनी बेली जिन्स लगाउँथे । अर्थात्, कम्मरतिर सुकेको र खुट्टातिर फुकेको । अहिले ठीक उल्टो । खुट्टाको भागतिर खुम्चिँदै गएको पाइन्ट, फिटिङ्स । त्यसबेला फाटेको (ग्रन्च) जिन्स लगाउन नपाइने । अहिले ग्रन्च जिन्स नलगाए ‘पुरानै स्टाइल’को भइने डर ।

एक जमाना थियो, धिरजको । स्टेजमा उनी ‘तिम्रा नयन’, ‘तिमी रुँदा’, ‘लुकी लुकी’, ‘मिस्टिरियस गर्ल’ गाउँदै बेपत्तासँग नाच्थे । दर्शकहरु उनीसँगै पसीना चुहाउँथे । त्यसैबेला हो, उनको फेसन स्टाइल छाएको । स्टेज उक्लनुअघि उनी डिंगो बुट, बेली जिन्ससहितको आफ्नै सिग्नेचर गेटअपमा हुन्थे । समयक्रममा उनी सुस्ताए । र, अहिले उनको पुनरागमन भएको छ । फरक शैली र फरक धुनमा । र, बजारमा चर्चा छ, धिरज ब्याक अगेन ।

लामो कपालको कथा

दुई वर्ष भयो, उनले कपालमा कैंची चलाएका छैनन् । किन ?

‘फरक देखिनुपर्‍यो क्या’ उनले यति मात्र भनेनन्, के पनि खुलाए भने, हरेक प्रोफेसनको आ-आफ्नै व्यक्तित्व-विम्ब हुन्छ । जस्तो डाक्टर भन्नासाथ, धैर्यवान्, भलाद्मी अनुहार प्रकट हुन्छ । व्यापारी भन्नसाथ ड्यासिङ पर्सनालिटीको झल्को आउँछ । त्यसैगरी गायक भन्नसाथ पनि दर्शकको आँखामा एउटा बिम्ब निर्माण हुन्छ ।

‘त्यसैले आम भन्दा भिन्न देखिनुपर्छ’ धिरजले थपे, ‘भिडमा पनि उसलाई चिनाउने कुनै चिज हुनुपर्छ नि ।’

पप गायक भन्नासाथ ‘रफटफ’ तन्नेरीको झल्को आउँछ । धिरज त्यस्तै देखिन चाहन्छन् ।

कलेजको कन्सर्ट छ भने उनी प्रशस्तै लकेट लगाउँछन् ।

‘योङ केटाहरुलाई त्यस्तो मनपर्छ’ उनले भने ।

जिन्स ज्याकेट हुत्याए

धिरज ती दिनहरु सम्झन्छन्, जब हरेक कन्र्सटमा जिन्स ज्याकेट उडाइन्थ्यो । त्यसबेला उनी अक्सर जिन्स ज्याकेटमा ठाँटिन्थे ।

फिटिङ्स जिन्स ज्याकेट, जसको अहिले पुनरावृत्ति भएको छ । त्यसबेला उनीसँग यस्ता ज्याकेटको कलेक्सन नै थियो । तर, अलि सस्तो मूल्यका । किनभने ती ज्याकेट कन्र्सटमा उडाउनका लागि प्रयोग हुन्थे, जसको सिलसिला पश्चिमको एउटा कन्सर्टबाट भएको थियो ।

धिरज कन्सर्टमा गाउँदै थिए । नाच्दै गाउने उनको आफ्नै शैली । शरीरमा खलखली पसिना आउन थाल्यो । दर्शकको हुटिङ उस्तै छ । माहौल तातियो । आफूले लगाइरहेको ज्याकेट खोले । एकछिन हावामा घुमाए । र, दर्शकको भिडमा हुत्याइदिए ।

‘त्यसबेला कार्यक्रमका होस्ट गेरका हेम सुवेदी अहिले पनि भन्छन्’ धिरजले सम्झिए, ‘त्यो ज्याकेट दर्शकले सग्लो पाएनन् रे । कसैले बाउला, कसैले पछाडिको भाग पाएछन् । टुक्रा-टुक्रा भएछ ।’

त्यसपछि भने उनलाई जुक्ति फुर्‍यो, माहौल त यसरी पनि तात्ने रहेछ । अन्ततः कन्सर्टमा फ्याक्नकै लागि उनले केही थान ज्याकेट किने ।

‘हरेक कन्सर्टमा ज्याकेट उडाइदिएँ’, धिरज मज्जाले हाँसे ।

जुत्ता बेचेर ‘लुकीलुकी’

धिरज सानैदेखि फेसनेवल रहेछन् । यही कुरा जोड्न उनले एउटा किस्सा सुनाए ।

उनी कक्षा सातमा पढ्थे । स्कुल महाराजगञ्जको भानुभक्त मेमोरियल स्कुल । त्यसबेला उनी पढाइमा खासै अब्बल होइनन्, औसत मात्र ।

ममी ल क्याम्पसकी जागिरे । त्यसबेला उनले ममीलाई एउटा चुनौती दिए, ‘ममी यदि म क्लास सेभेनमा फस्र्ट भए भने के किनिदिनु हुन्छ ?’

ममीले कति पनि नसोची भनिन्, ‘तिमी जे भन्छौ, त्यही ।’

धिरज क्लासमा पहिलो हुने कुनै छाँटकाँट नै थिएन । आमा त्यसमा ढुक्क थिइन् । तर, धिरजले परीक्षामा हासिल गरेको नतिजाले उनलाई ढुक्क हुन दिएन । धिरज फस्र्ट भए ।

धिरज कुद्दै आमाकहाँ गए । जिद्दी गर्दै कमलपोखरीसम्म ल्याए । र, जुत्ता किन्न लगाए । जुत्ताको ब्रान्ड थियो, कामाची । त्यसबेला उनले छनौट गरेको जुत्ताको मोल रहेछ, १२ सय । अर्थात उनकी आमाको एक महिनाको तलब ।

जुत्ता खरिद गरेपछि धिरजको शान नै बेग्लै । त्यसबेला बागबजारमा उनीहरु डेरा गरी बस्थे । टोलमा उनी हिरो । त्यसबेला फेसनमा चलेको जुत्तामाथि दौंतरीले आँखा लगाउने नै भए ।

टोलमा एकजना लाहुरेका छोरा थिए । उनैले धिरजको त्यो ‘सेकेन्ड ह्यान्ड’ जुत्ता खरिद गर्ने भए । धिरजले जुत्ता बेचे । त्यही पैसामा थपथाप गरेर उनले पहिलो गीत रेकर्ड गराए । गीत थियो, ‘लुकी लुकी आँखा तिमी, नजुधाउँ त्यसरी ।’

‘सधैं एकैनासको धिरज राई दर्शकलाई रुच्दैन । समयअनुसार आफूलाई अपडेट गरिएन भने पुरानै ढर्राको भइने रहेछ’

ममी र फेसन

घरमा धिरजले गाली खाने एउटै कारण हो, धेरै लुगा किनमेल गर्नु । लुगाका अति सौखिन, जे देख्यो, उठाइहाल्ने । घरमा लुगाको थुप्रो छ । ‘एउटा सर्ट हुँदाहुँदै अर्को किन ? एउटा जुत्ता हुँदा हुँदै अर्को किन ? एउटा टिसर्ट हुँदा हुँदै अर्को किन ?’, आमाले गरिरहने प्रश्न यीनै हुन् ।

‘ममीलाई थाहा छैन नि त फेसन भनेको’ धिरजले थपे, ‘उहाँलाई लुगा भनेको स्टाइल होइन, आङ ढाक्ने बस्त्र मात्र भन्ने लाग्छ ।’

उनीसँग टिसर्टको चाङ नै रहेछ । झन्डै पाँच सय जति । जुत्ता पनि उत्तिनै छ । पहिलेका डिंगो बुट सबै थन्किएको छ । कुनैबेला उनले ४५ हजार मूल्यको बुटसमेत खरिद गरेका रहेछन् । गोहीको छालाको ।

‘हङकङमा किनेको’ धिरजले सम्झिए, ‘त्यो जुत्ता लगाएर थुप्रै कन्सर्ट भ्याएँ ।’

एकदिनमा तीन गेटअप

धिरज बिहान क्याम्पसमा अंग्रेजी साहित्य पढाउँछन् । दिउँसो इन्जिनियरिङको जागिर खान्छन् । बाँकी समय माइक समातेर स्टेजमा छाउँछन्, गायकका रुपमा । यी भिन्ना भिन्नै भूमिकामा उनी सोही बमोजिमको गेटअपमा हुन्छन् ।

‘मेरो प्रोफेसन एकैखाले छैन’, उनले भने, ‘आफ्नो प्रोफेसन अनुसार ड्रेसअप गर्नुपर्छ भन्ने लाग्छ ।’

धिरज फेसनमा कतिसम्म सचेत छन् भने, स्टेज उक्लिनुअघि कस्तो गेटअपमा देखिने भन्नेसम्म थाहा हुन्छ । स्टेज शो अनुसार आफ्नो हुलिया परिवर्तन गर्छन् । युवा दर्शकमाझ उनी ग्रन्च पाइन्ट, जिन्स, टिसर्ट, क्यापसहित गलामा लकेटहरु झुन्ड्याएर पेश हुन्छन् ।

कहिलेकाँही अफिसियल कार्यक्रममा गाउनुपर्छ, त्यस्तो बेला उनी अलि ‘जेन्टल’ देखिने प्रयास गर्छन् । भड्किलो पहिरन लगाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment