+
+
Shares

सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग

७ दिनदेखि आन्दोलन जारी

अमृत सुवेदी अमृत सुवेदी
२०७४ कात्तिक २२ गते १५:५३

२३ कात्तिक, पोखरा । स्याङ्जा अर्जुनचौपारी–१ की गीता अर्याललाई डाक्टरले कात्तिक १९ गते सुत्केरी हुने मिति तोकेका थिए । तर,  डाक्टरकै सल्लाह अनुसार पोखराको गण्डकी मेडिकल कलेजमा ११ गते भर्ना गरियो । विहानै शल्यक्रिया गर्नुपर्ने भयो ।

‘डाक्टरले शल्यक्रिया गर्नुपर्छ भन्यो । हामीले हुन्छ भन्यौं । तर, शल्यक्रिया गरेको दिनदेखि उनी बेहोस्को बेहोस् भइन्,’ आफन्त प्रेमनारायण पौडेलले भने, ‘उनी बेहोस् भएदेखि न हामीलाई भेट्न दिइयो न उनको असली अवस्था जान्न पाइयो ।’

एक्कासि शल्यक्रिया गरेर राखिएको पाँच दिनपछि डाक्टरले गीताको मृत्यु भएको घोषणा गरे ।

आमाको मृत्यु, शिशु सकुशल 

‘परिवार विक्षिप्त भयो । हामीले कारण सोध्यौं,’ आफन्त पौडेलले भने, ‘अप्रेसनका लागि बेहोस बनाएर लामो समयसम्म होस् आएको थिएन र अस्पताल प्रशासनले पनि चित्त बुझ्दो जवाफ दिएन ।’

शल्याक्रियापछि बेहोस् गीताको मृत्यु भएपनि शिशु भने सकुशल छन् । शल्यक्रिया गरेर बच्चा निकालेपछि उनी होसमै नआइ मृत्यु भएको आफन्तको भनाइ छ ।

अवस्था सुधार हुँदैछ भनेर दिनहुँ १० औं हजार रुपैयाँका औषधी मगाएर एक्कासि मृत घोषणा गर्नु डाक्टरको गल्ती र प्रशासनको हेलचक्याइँ भएको आफन्त डोलराज अर्याल बताउँछन् ।

एक्कासि सुत्केरीलाई मृत घोषणा गरेको र कारण पनि चित्त बुझ्दो नदिएपछि परिवार अहिले आन्दोलनमा उत्रिएका छन् ।

चर्किँदै आन्दोलन 

मृत्युको कारण खोज्दै आन्दोलनमा उत्रिएका आफन्त अहिले संघर्ष समिति नै बनाएर ७ दिनदेखि आन्दोलनमा छन् । अस्पताल प्रशासनसँग पटकपटक वार्ता विफल भएपछि आन्दोलनले चर्को रुप लिँदै गएको हो ।

शल्यक्रियाको क्रममा डाक्टरकै लापरवाहीले सुत्केरीको गलत नशा काटिएको आफन्तको आरोप छ ।

पटकपटकको वार्ता नमिलेपछि ३ वटा माग राखेर आन्दोलन गरिरहेको संघर्ष समितिले अहिले मेडिकल कलेजको दर्ता खारेजीसम्मको माग गर्दै सडकमै उत्रिएको छ ।

शिशुको लालनपालन कलेजले गर्नुपर्ने, शिक्षा, औषधी उपचार गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समितिले बुधबार कलेजको दर्ता खारेजी गर्नुपर्ने माग गर्दै र्याली निकालेर बजार परिक्रमा गरेको छ ।

क्षतिपूर्ति र शिशुको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग 

अस्पताल प्रशासन र पीडित आफन्तबीच वार्ता नमिलेपछि जिल्ला प्रशासन कार्यालय कास्कीको रहोवरमा सहमति निकाल्ने कोसिस गरिएको थियो ।

‘जिल्ला प्रशासनसँगको वार्तामा अस्पताल प्रशासनले हामीलाई मंगलबार बेलुका ५ बजेभित्र विकल्पसहित समस्या समाधान गर्ने बताएको थियो,’ आफन्त तिलकराज पौडेलले भने, ‘तर, अस्पताल प्रशासनका पदाधिकारी अस्पतालमै भेटिएनन् । यत्तिसम्म कि विज्ञप्ति बुझाउने व्यक्तिसमेत नभएपछि इमरजेन्सी कक्षको ढोकामै विज्ञप्ति टाँसेर फर्कियौं ।’

बुधबार बिहान प्रशासनबाट केही जवाफ आउला भनेर कुर्दा पनि कुनै चासो र वास्तै नगरेपछि फेरि कडा आन्दोलनमा उत्रनु परेको आफन्तले बताए ।

मृतक गीताको श्रीमान अहिले वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ ।

आफन्तले तत्काल क्षतिपूर्ति र शिशुको सम्पूर्ण जिम्मेवारी नलिए आन्दोलनलाई अझै कडा बनाउँदै लैजाने बताएका छन् ।

यसअघि पीडित परिवारका आफन्तले अस्पतालमा तालाबन्दी गर्ने प्रयाससमेत गरेका थिए ।

यस्तै भए हामी सिरियस केस लिन सक्दैनौं: प्रशासन

पीडितका आफन्तले संघर्ष समिति नै बनाएर आन्दोलन चर्काइरहँदा अस्पताल प्रशासनले भने अस्पतालको गल्तीले सुत्केरीको मृत्यु नभएको बताएको छ ।

‘अप्रेसन गर्दा के हुन्छ भन्ने यसै भन्न सकिँदो रहेनछ । शरिरको कुनै फङ्सङले काम नगरेपछि गाह्रो हुने हो,’ गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले भने, ‘उहाँको केशमा के भएछ भने बच्चा जन्मेपछि पिसाबको रुपमा बाहिर जानुपर्ने पानी फोस्सोभित्र छिरेछ ।’

उनलाई बचाउने प्रयास गर्दागर्दै ज्यान गएको खनालले जिकिर गरे ।

अस्पताल प्रशासनले छानबिन समिति गठन गर्न र छानबिनबाट डाक्टर वा अस्पताल दोषी ठहरिए कारबाही भोग्न तयार रहेको जनाएको छ ।

‘हामीले छानबिन समिति गठन गरौं र घटनाको छानबिन गर्ने जिम्मा समितिलाई लगाऔं भनेका छौं । दोषी ठहरिए हामी सबै कारबाही भोग्न, क्षतिपूर्ति दिन तयार छौं,’ खनालले भने, ‘नत्र हुल जम्मा गरेर आन्दोलन गर्दैमा क्षतिपूर्ति पाइन्छ भन्ने हो भने त हामी सिरियस केसका विरामी भर्ना गर्नै सक्दैनौं ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?