Comments Add Comment

‘हेभिवेट मै हुँ ! रविन्द्र मिश्र र प्रकाशमानलाई हराउँछु’

'रविन्द्र मिश्रको ल्याकत पुग्दैन, प्रकाशमानले काम गरेनन्'

२३ कात्तिक, काठमाडौं । खजुरोजस्तै देखिने जुँगा पालेका हँसमुख युवक अनिल शर्मा काठमाडौं क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार हुन् । देशैभरि वाम गठबन्धन र कांग्रेसवीच चर्को प्रतिस्पर्धाका समाचार आइरहँदा काठमाडौं १ मा भने वाम गठबन्धनका यी उम्मेदवार छायाँमा छन् ।

काठमाडौं १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्रको मात्रै चर्चा भइरहेको छ । एमाले र माओवादीको राम्रै मताधार रहेको यस क्षेत्रमा वाम गठबन्धनकै यी उम्मेदवार ‘अर्धभूमिगत’ जस्ता देखिएका छन् ।

शर्मा माओवादी समर्थित अखिल क्रान्तिकारीका नेता हुन् । उनलाई धेरैले प्रकाशमानसिंह र रविन्द्र मिश्रका प्रतिस्पर्धी भन्दा पनि ‘केटाकेटी’ उम्मेदवार ठानेका छन् ।

काठमाडौं १ मा कमसेकम एमालेका नेता उम्मेदवार भइदिएका भए चर्चामा आउने थिए, माओवादी पार्टी आफैंमा प्रचारमा कमजोर छ । र, मूलधारका मिडियाको प्राथमिकतामा माओवादीका कनिष्ट नेताहरु खासै पर्ने गरेका छैनन् ।

र, तेस्रो- यस क्षेत्रमा साझा विवेकशील पार्टीका रविन्द्र मिश्रसमेत उठेकाले उनी र कांग्रेसका प्रकाशमान सिंहबाहेक अरु उम्मेदवार छायाँमा पर्नु स्वाभाविकै पनि हो ।

रविन्द्र मिश्रले बारबार राजनीतिमा युवा आउनुपर्छ, युवालाई ठाउँ दिनुपर्छ, युवाले देशको नेतृत्व गर्नुपर्छ भनिरहनुभएको छ । त्यसैले उहाँको खास असली प्रतिनिधि पनि मै हुँ

तर, मिडियामा चर्चा कमै भए पनि वाम गठबन्धनका यी उम्मदेवारको दाबीचाहिँ आफू र प्रकाशमानका वीचमा प्रतिस्पर्धा हुने भन्ने रहेछ । शर्माले रविन्द्र मिश्रलाई प्रतिस्पर्धी भन्दा पनि आफ्नो जितको सहयोगी सम्झेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने- ‘फलामको वेट हेभी हुन्छ, तर धारिलो स्पातले त्यसलाई काट्न सक्छ, काठमाडौं १ मा प्रकाशमान र रविन्द्र मिश्रहरु फलाम हुन्, म स्पात हुँ ।’

रविन्द्र मिश्रले युवाहरुलाई राजनीतिमा आउन आग्रह गरिरहेको बताउँदै शर्माले भने-‘ रविन्द्र मिश्रले भनेको युवा मै हुँ, म नै उहाँको प्रतिनिधि हुँ ।’

विना विभागीय मन्त्री जनार्दन शर्मामा कान्छा भाइ अनिल काठमाडौंमा आफू ‘टुरिष्ट’ नभएको बताउँछन् । ०७० सालको चुनावमा काठमाडौं १ मा माओवादीबाट रेणु दाहाल दोस्रो स्थानमा आएको र अहिले एमाले-माओवादी मिलेको हुनाले आफूले निर्वाचन जित्ने शर्माको दाबी छ ।

कांग्रेस फुटेर काठमाडौं १ बाटै ‘वीपी कांग्रेस’ जन्मेको अनि रविन्द्र मिश्रले समेत प्रकाशमानको भोट काटिदिने हुँदा यहाँ वाम गठबन्धनको जित सुनिश्चित भएको शर्माले हिसाब सुनाए । आफूलाई कमजोर उम्मेदवार नठान्न आग्रह गर्दै उनले आफ्ना समकालीन साथीहरु नै सभासद बनिसकेको तर आफू जनार्दन शर्माको भाइ भएकैले पछि परेको शर्माको भनाइ छ ।

काठमाडौंको निर्वाचन क्षेत्रीय समितिले सिफारिस गरेका आधारमा आफूले टिकट पाएको उनको स्पष्टोक्ति छ । उनले अनलाइनखबरसँग भने- ‘यहाँको हेवीवेट उम्मदेवार मै हुँ, म प्रकाशमान र रविन्द्र मिश्रलाई सहजै जित्छु ।’

वाम गठबन्धनका युवा उम्मदेवार शर्मासँग अनलाइनखबरले गरेको कुराकानीः

काठमाडौं क्षेत्र नं. १ मा चर्चित ‘हेभिवेट’ उम्मेदवार छन् । प्रकाशमान सिंह र रविन्द्र मिश्र यहीँबाट उठेका छन् । तपाईंले जित्छु भन्ने ठानेर यहाँ उम्मेदवारी दिनुभएको हो कि यसो औपचारिकताका लागि मात्र ?

उमेर र अनुभवको हिसाबले मभन्दा सिनियर उम्मेदवारहरु भए पनि वाम गठबन्धनको उम्मेदवार म आफू नै सबैभन्दा बढी ‘हेभिवेट’ हुँ । चुनाव जित्नेमा मलाई पूरा आत्मविश्वास छ ।

काठमाडौं-१ मा धेरै विवेकशील मतदाताहरु छन् । उहाँहरुलाई यो थाहा छ कि देशको समृद्धि र विकासका लागि वाम गठबन्धन नै अहिलेको आवश्यकता हो । र, यसले नै देशलाई कायापलट गर्न सक्छ भन्ने कुरा काठमाडौंवासी सचेत मतदाताहरुले बुझेका छन् ।

काठमाडौंमा तपाईंको उम्मदेवारीको चर्चै सुनिँदैन । उम्मेदवारै हो कि होइन भन्नेजस्तो छ । मिश्र र सिंहको जतात्यतै चर्चा भइरहेको छ, यस्तो अवस्थामा पनि चुनाव जितिन्छ भन्ने लाग्छ तपाईलाई ?

– हाम्रो मनोनयन भएको करिब एक हप्ता मात्रै बितेको छ । योबीचमा हाम्रो वाम तालमेल थियो । कसले कहाँ जिम्मा लिने भन्ने कुरा टुंगिएको थिएन । हामीले यो कुराको टुंगो लगाएर भर्खर चुनावी रणनीति बनाइरहेका छौं । हामीले हाम्रा एजेण्डा, घोषणापत्र, प्रतिवद्धता पत्र र हाम्रा अपीलहरु बाहिर ल्याएपछि मतदाताले हामीलाई चिन्नुहुनेछ । यो चिन्न केही समय पनि लाग्दैन ।

हामीले अहिले टोलहरुमा भेलाको सुरुआत गर्ने योजना बनाएका छौं । सँगसँगै हामी भोलिदेखि नै घरदैलो पनि सुरु गर्दैछौं ।

गणितीय आधारमा कुरा गरौं न । काठमाडौं १ मा तपाईले जित्ने आधार के छ ?

गणितीय हिसाबले कुरा गर्दा ०७० सालको चुनावमा माओवादी दोस्रो प्रतिस्पर्धी हो । स्थानीय चुनावको नतिजालाई आधार बनाउने हो भने एमाले र माओवादीको मतलाई जोड्दा हामी कांग्रेसभन्दा करिब ८/९ सय भोटले अगाडि छौं ।

अहिले हामीले वाम गठबन्धन गरेका छौं । यो गठबन्धनले समर्थकहरुमा थप उत्साह पैदा भएको छ । यो उत्साहले हाम्रो भोट स्वाभाविक रुपमा बढ्छ ।

अर्कोतिर, यही क्षेत्र नं १ बाट कांग्रेस फुटेर नयाँ पार्टी बनेको छ, जसले नेपाली कांग्रेस वीपीको नाम राखेको छ । त्यसको उम्मेदवार पनि यही क्षेत्रकै हुनुहुन्छ । यसले पनि हामीलाई बलियो बनाएको छ ।

चर्चित उम्मदेवार रविन्द्र मिश्र पनि त छन् नि यहाँ ?

रविन्द्र मिश्रको नयाँ पार्टी पनि आएको छ । मलाई लाग्छ, कांग्रेससँग भएको असन्तुष्टिको एउटा हिस्सा उहाँहरुकोमा जान सक्छ । प्रकाशमान दाइको कामप्रति यहाँका जनता र हामी कोही पनि सन्तुष्ट छैनौं । त्यसैले एउटा हिस्सा त्यहाँ (रविन्द्र मिश्रतिर) जान्छ ।

रविन्द्र मिश्रको पार्टी त बन्न सक्ला । तर, राष्ट्रको कायापलट गर्ने गरी, देशलाई एउटा भिजन दिने पार्टी बनिसकेको छैन । त्यसैले यहाँको मत राष्ट्रलाई सही दिशानिर्देश गर्ने पार्टीलाई नै जान्छ । त्यो मत सबैभन्दा बढी हामीतिर आउँछ ।

दोस्रो कुरा, रविन्द्र मिश्र हिजो फरक पेशामा विज्ञता देखाइरहनुभएको थियो । उहाँले बारबार राजनीतिमा युवा आउनुपर्छ, युवालाई ठाउँ दिनुपर्छ, युवाले देशको नेतृत्व गर्नुपर्छ भनिरहनुभएको छ । त्यसैले उहाँको खास असली प्रतिनिधि पनि मै हुँ । उहाँले प्रशिक्षित गरेका कार्यकर्ताले पनि सही ढंगले सोच्छन् र मलाई भोट हाल्छन् । यस कारण म जित्छु भन्नेमा ढुक्क छु ।

तपाईंलाई काठमाडौंका धेरै मतदाताले चिन्दैनन् । कसरी परिचय दिनुहुन्छ ?

म रुकुममा ०३९ साल जेेठ १० गते जन्मिएको हुँ । मेरो परिवारिक पृष्ठभूमि राजनीतिक छ । ०४६ सालको जनआन्दोलनका बेला मेरो घरमा चहल पहल हुन्थ्यो । त्यतिवेलै मलाई मेरा अग्रजहरुले बाल संगठनमा आबद्ध गराउने, कविता लेख्न सिकाउने गर्न थाल्नुभयो ।

पछि मैले ०४८ सालमा विद्यार्थी संगठनमा संगठित हुँदै राजनीतिक यात्रा सुरु गरेँ । ०५२ सालमा म गिरफ्तारीमा पनि परेँ । त्यसपछि ०५४ सालदेखि मैले पूर्णकालीन राजनीति सुरु गरेँ । विद्यार्थी संगठनमा म ०६० सालमा केन्द्रीय सदस्य भएँ ।

मैले आरआर कलेजबाट राजनीतिशास्त्र र पत्रकारितामा स्नातक सकेको छु । अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको विद्यार्थीसमेत हुँ ।

रुकुमको मान्छे, काठमाडौंमा उम्मेदवार हुँदा ‘टुरिष्ट’ भन्दैनन् ?

म काठमाडौंकै मान्छे हुँ, जन्मिएको मात्रै रुकुममा हो । किनभने मेरो करिब २० वर्षभन्दा बढीको पूर्णकालीन राजनीतिक जीवनको अधिकांश समय यहाँ बितेको छ । मेरो राजनीतिक समयको ठूलो हिस्सा मैले यहाँ बिताएँ ।

यसकारण म टुरिष्ट होइन र यसो भन्छन् जस्तो पनि लाग्दैन । यहाँका मतदाता विवेकी छन् । को कुन ठाउँको ? को कहाँको ? नाता गोता के हो भनेर हेर्दैनन् । उनीहरु समृद्धि र विकास गर्नेसँग सरोकार राख्छन् ।

गठबन्धनभित्रबाट एमाले कार्यकर्ताले नै तपाईंलाई सहयोग गर्दैनन् भन्ने शंका लाग्दैन ?

– यसमा दुईवटा कुरा छन्ः पहिलो, हाम्रो गठबन्धनबाट डराएर निदहराम भएका हाम्रा प्रतिस्पर्धीहरुमा भ्रम छ । त्यसैले उनीहरु प्रचण्डलाई कांगे्रसले प्रधानमन्त्री बनाउँछ इत्यादि भन्दै विभिन्न अस्त्रहरु प्रयोग गरिरहेका छन् ।

दोस्रो कुरा, देशैभरि यत्रो ठूलो वाम गठबन्धन यति सानदार र भव्य रुपमा भएको छ, जहाँ टिकट पाउन हानाथाप गर्नुपर्ने, खोसाखोस गर्नुपर्ने केही भएन । यहाँ एकदमै शान्त छ । काठमाडौं १ मा माओवादी र एमालेबीच कुनै अन्तरविरोध छैन । एमाले र माओवादीबीच धेरै सामीप्य बढेको छ ।

एमालेको ठूलो पंक्ति हामीसँग छ । एमाले नेतृ सावित्रा भुसाल हाम्रो हरेक छलफलमा हुनुहुन्छ । हामीले त्यो तस्वीर फेसबुकमा पनि सार्वजनिक गरेका छौं । अहिले नै त्यस्तो छ भने घरदैलोमा त स्वाभाविक रुपले हुन्छन् । हाम्रा ठूला नेताहरु पनि योबीचमा आउनुहुन्छ ।

यहाँले काठमाडौं १ मा वाम गठबन्धनको उत्साह छ भन्नुभयो । तर, फिल्डमा आम मतदाताको भनाइ चाहिँ पुरानो पार्टीले केही गरेनन्, एकचोटि नयाँलाई हेरौं भन्ने छ । तपाईंलाई बढारिने डर छैन ?

– छैन । किनभने यसका पछाडि थप्रै कारण छन् । वाम गठबन्धन या नयाँ पुराना पार्टी भनेर मात्रै हुँदैन । यहाँका मानिसहरुले अस्थिरतालाई नै प्रमुख दुस्मनको रुपमा हेरेका छन् । अस्थिर राजनीतिकै कारण देशको विकास नभएको उनीहरुको भनाइ छ । अर्कोतिर हेर्ने हो भने अब वाम गठबन्धनले स्थायित्व कायम गर्छ भन्ने आशा स्थापित गरेको छ र देशमा जति पनि राम्रो काम गरेको छ, यही गठबन्धनले गरेको छ ।

उसोभए काठमाडौंका जनतासँग के भनेर भोट माग्दैहुनुहुन्छ ? तपाईका एजेण्डाहरु के हुन् ?

– पहिलो कुरा त प्रतिनिधिसभा सदस्य भएपछि यहाँको प्रतिनिधित्व गरेर समग्र देशलाई हेर्नुपर्ने हुन्छ । घोषणापत्र पनि सार्वजिनक गरेका छौं । त्यसलाई पूरा गर्छाैं । सँगसँगै काठमाडौंको समृद्धिलाई ध्यानमा राखेर काम गर्छौं ।

म आकासको तारा खसालेर ल्याउँछु भन्दिनँ । म कति सक्छु भनेर नापेर जनताको बीचमा बोलेको छु । चुनावमा मेरा अलिकति रणनीतिक एजेण्डाहरु छन् ।

के हुन् ती रणनीतिक योजना ?

बागमती र रुद्रमतिको मुहार फेर्छु । धेरै असम्भव पनि लाग्न सक्छ । तर, मेरो ध्यान भनेको यहाँ वागमतिमा कसरी स्वच्छ पानी बगाउन सकिन्छ भन्नेमा केन्दि्रत हुनेछ । यो सम्भव पनि छ । त्यहाँ बच्चाहरु बोटिङ गर्न सक्ने वातावरण बनाउने र त्यसको वरिपरि रिफ्रेस स्ड हुने ठाउँ बनाउेछौं । हामीले यस विषयमा अध्ययन पनि सुरु गरिसकेका छौं । यो हाम्रो प्रमुख एजेण्डा हो ।

दोस्रो कुरा, यहाँको सडक यातायातको प्रदुषणलाई रोक्छौं । धुलोरहित, ताररहित र धुँवारहित तार बनाउँछौं । युवालाई स्थानीय ठाउँमा बस्ने वातावरण बनाउँछु । शैक्षिक हब बनाउने पनि एजेण्डा छ । युवालाई कसरी हुन्छ, रोक्ने बरु उताका मान्छेलाई यहाँ पढ्न आउने बनाउँछौं । अरु थुप्रै साना विषयहरु पनि छन् । ज्येष्ठ नागरिकहरुको घरमै गएर नियमित स्वास्थ्य परीक्षण गर्ने वातावरण बनाउँछौं ।

तपाईंको क्षेत्रमा सुकुम्बासीको मत पनि छ । वागमतीको छेउछाउ बसेका सुकुम्बासीलाई आकषिर्त गर्ने योजना के छ ?

– यहाँ सुकुम्बासीको समस्या छ । उहाँहरुलाई छाप्रो दिने, लालपुर्जा दिने विषयमा विभिन्न ठाउँमा छलफल र बहस पनि भइरहेको छ । यतिले मात्रै सकुम्बासी समस्या समाधान हुँदैन । रोजगारीसहित सकुम्बासी समस्या सामाधान गर्नुपर्छ । त्यो टिनको छाप्रोलाई कागज दिने होइन, त्यसलाई व्यवस्थित विजनेश पार्क जस्तो बनाउनु पर्छ । उहाँहरु माथि बस्नु हुन्छ, तल विजनेश गर्नुहुन्छ ।

तपाईंले मन्त्री जनार्दन शर्माको भाइ भएकै कारण काठमाडौं १ मा टिकट पाएको हो कि हैन ?

जनार्दन शर्माको भाइ त हुँ । यसमा नकारात्मक रुपमा हेर्नेले मलाई पनि नकारात्मक रुपमा हेरे होलान् । तर, मेरो आफ्नो पहिचानलाई सबै त्यहीँ लगेर जोडिदिने काम भइरहेको छ ।

जवकि मेरो छुट्टै पहिचान छ । मेरो आफ्नै भूमिका छ । आफ्नै राजनीतिक पृष्ठभूमि छ । म चाहन्छु, मेरो परिचय मेरो आफ्नै नामबाट होस् । तर, यस्तो हुँदै गर्दा दाजुसँगको पारिवारिक सम्बन्धलाई मैले अन्यथा लिनुहुँदैन ।

आफ्ना बलिया प्रतिस्पर्धी प्रकाशमान सिंहलाई के भन्नुहुन्छ ?

उहाँका बारेमा धेरै कुरा भन्नु छैन । उहाँले दुई पटक जितेर कति जनताको समस्यालाई हेर्नुभयो ? कति जनताको समस्यालाई समाधान गर्नुभयो ? त्यो जनता आफैंले मूल्यांकन गरेका छन् । अब जनताले कसको पृष्ठभूमि के हो भनेर हेर्दैनन्, कसले गर्छ भनेर मात्र हेर्छन् । उहाँजस्तो व्यक्तिले हामीलाई अवसर दिनु पर्छ । हामी प्रकाशमान दाइलाई सल्लाहकार बनाएर राख्छौं । उहाँले सल्लाह दिनुपर्छ ।

अनि, रविन्द्र मिश्रलाई नि ? तपाई के भन्नुहुन्छ ?

उहाँ उर्जाशील मान्छे हो । उहाँको विज्ञता पत्रकारितामा छ, समाजका कुरालाई उजागर गर्नेमा छ । मलाई के खुशी लागेको छ भने कमसेकम राजनीति देश बनाउने मुख्य कुरा हो भन्ने कुरा उहाँबाट युवाले बुझेका छन् । म उहाँलाई राजनीतिको मैदानमा प्रवेश गर्दै गर्दा स्वागत गर्न चाहन्छु ।

तर, अहिले म उहाँकै एजेण्डाको अहिले उम्मेदवार छु । उहाँले मलाई समर्थन गर्नुपर्छ । र, मलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ । मेरो सल्लाहकार र विज्ञका रुपमा उहाँ बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment