+
+

ग्यास्ट्रिकका डाक्टर भुपेन्द्र आफैं ग्यास्ट्रिकबाट पीडित

भन्छन्- खानपान र जीवनशैलीमा सुधार नै अचुक उपाय

ऋचा अर्याल ऋचा अर्याल
२०७४ कात्तिक २४ गते ११:४८

काठमाडौं । छातीको विचतिर दुख्ने, केही चिज खाएपछि अमिलो डकार आउने या पेट फुल्ने । यस्तो समस्या देखिनासाथ हामी ठान्छौं, लौ ग्यास्ट्रिक भयो । अनि डाइजीन, पेन्टाप्राजोल या अन्य एन्टासीड चक्की खाइहाल्छौं ।

हुन पनि, ग्यास्ट्रिक आम नेपालीको आम समस्या भइसकेको छ । नेपालमा उमेर पुगेका मानिसहरु मात्र हैन, बच्चाहरुसमेत ग्यास्ट्रिक रोगबाट पीडित छन् । ग्यास्ट्रिक रोगबाट कुनै नेपाली अछुतो छैनन् । यही कारण कतिपयले ब्यंग्य गर्दै यसलाई ‘नेपालीको पहिचान दिलाउने रोग’ पनि भन्ने गरेका छन् ।

ग्यास्ट्रिक रोगको उपचार गर्ने चिकित्सक भने यो रोगबाट कत्तिको पीडित होलान् त ? पक्कै पीडित छन् । तिमध्येका एक हुन्, वीर अस्पतालका निर्देशक समेत रहेका ग्यास्ट्रोलोजिस्ट डा. भुपेन्द्र बस्नेत ।

‘काठमाडौंमा बस्दा त मैलेग्यास्ट्रिकको समस्या त्यतिधेरै महसुस गर्दिनँ’, डा. भुपेन्द्र भन्छन्, ‘जब म कुनै सेमिनार या अन्य कार्यक्रममा भाग लिन भारतलगायतका देशमा जान्छु, तब मलाई ग्यास्ट्रिकको समस्या हुन्छ ।’

यही कारण डा. भुपेन्द्र बाहिर कतै जाँदा झोलामाग्यास्ट्रिकको औषधि बोकेरै जान्छन् । विशेषगरी भारत भ्रमणमा जाँदा उनको साथमा औषधि भएकै हुन्छ ।

किन त ?

‘भारतमा मसालेदार खाना धेरै हुन्छ । तीन-चार दिनको कन्फ्रेन्समा बस्दा चिल्लोपिरो र स्पाइसी खाना खानुपर्छ, अनि दुई दिनपछि नै मलाई ग्यास्ट्रिकको समस्या त हुन्छ, हुन्छ’, उनी भन्छन् ।

अब ग्यास्ट्रिक नै भइसकेपछि डाक्टरले पनि के पो गर्न सक्छ र ? यत्ति हो, खानामा चिल्लोपिरो कम गर्ने । साधारण खाना खाने ।

‘यो कुरा भन्न सजिलो छ, आखिर डाक्टर नै भएपनि त्यस्ता खानेकुरा देखेपछि खान मन त लागिहाल्छ । खाइहालिन्छ,’ उनी भन्छन्, ‘जीउले नै नसकेपछि भने औषधि नै खाने हो ।’

यसो भन्दैमा उनी जहाँ पायो त्यहीँको खानेकुरा भने खाइहाल्दैनन् । सकेसम्म त त्यस्ता खानेकुरालाई हात नै लगाउँदैनन् । उनी विहान बेलुकीको खाना घरमै खान्छन् । भोज भतेर  तथा पार्टीमा पनि खासै जाँदैनन् ।

अफिसमै हुँदा पनि धेरै भुटेको, तारेको खाँदैनन् । सामान्य खानेकुराले नै पेट भर्छन् । हदै भए चाउमिनसम्म खान्छन् । मःम पनि त्यति खाँदैनन् ।

‘मम त्यति खाँदिनँ, मःमले पनि मलाई ग्यास्ट्रिक गराउँछ,’ उनी भन्छन् ।

जे होस्, उनी चिल्लोपिरोरहित नरम खानेकुरा खान्छन् । खाँदा पनि चारदेखि छ घण्टाको फरकमा भने केही न केही खाएकै हुन्छन् ।

उनको बुझाईमा ग्यास्ट्रिक पनि मानिस अनुसार फरक हुन्छ । कसैलाई दुई घण्टाको बीचमा केही खान जरुरी हुन्छ भने कसैलाई चारदेखि छ घण्टाको फरकले पनि खासै असर गर्दैन । यो मानिसको शरीर तथा रोगमा भरपर्छ ।

के हो ग्यास्ट्रिक ?

डा. भुपेन्द्रका अनुसार चिकित्सकीय भाषामाग्यास्ट्रिकलाई ‘एसिड पेप्टिक डिसअर्डर’ पनि भन्ने गरिन्छ । हाम्रो पेटमा एसिड सेक्रेसन हुन्छ । त्यो एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्दछ ।

एसिडको मात्रा धेरै हुँदा कसैको अन्ननलीको मुनी रहेको स्पिन्चर खुकुलो भएर माथि आउँछ । त्यसलाई रिफ्लक्स भनिन्छ । यस अर्थमा कसैलाई ‘ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज’ हुन्छ । कसैलाई आमासयमा मात्र असर गर्ने ‘ग्यास्ट्रराइटिस डिजिज’ हुन्छ । एसीडले कसैलाई सानो आन्द्राको पहिलो, दोश्रो स्तरसम्म असर गरी अल्सर गराउँछ ।

यस हिसाबले सबैमा ग्यास्ट्रिकको लक्षण एउटै प्रकारको हुँदैन । हाम्रो समाजमा पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल आउने गर्छन् । पेटको एउटा आम समस्या ‘इरिटेबल बल सिन्ड्रोम’ पनि हो । यो समस्या थुप्रै मानिसमा देखिने गर्छ । यसमा पेट फुल्ने र दुख्ने हुन्छ । ग्यास्ट्रिक र इरिटेबल बल सिन्ड्रोम दुबैमा यस्तै लक्षण देखिने भएकाले मानिसहरु यी दुईबीच भिन्नता छुट्याउन सक्दैनन् र ‘ग्यास्ट्रिक भयो’ भन्ने गर्छन् । समस्याको सही पहिचान नहुँदा मानिसहरु इरिटेबल बल सिन्ड्रोममा पनिग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन् ।

खानपान सुधारौं

डाक्टर भएकाले उनीसँग स्वास्थ्य समस्या पर्दा घर परिवार तथा छरछिमेकले सोध्ने गरिहाल्छन् । पेट सम्बन्धी नै डाक्टर भएकाले त्यसबारेमा त झन् सोध्ने भइहाले ।

पेटका विरामीलाई मुख्य रुपमा उनको सल्लाह हुन्छ- खानपान नियमित गर्नुस् र जीवनशैली सुधार्नुस् ।

चिल्लोपिरो कम गर्ने, बाहिरको कम खाने, सकेसम्म घरमै बनाएको खाने उनको पहिलो सल्लाह हुन्छ । त्यस्तै, आफ्नो खाने, हिँड्ने, सुत्ने, आराम गर्ने समय नियमित बनाउन पनि उनी सल्लाह दिन्छन् ।

‘यी कुरा नियमित भएन भने पनिग्यास्ट्रिकको समस्या बढ्छ,’ डा. बस्नेत भन्छन्, ‘चाडपर्वका बेला खानामा अझै धेरै सन्तुलन कायम गर्नुपर्छ ।’

भुपेन्द्र यस्ता डाक्टर हुन्, जो कतै लामो दुरीको यात्रामा जाँदा साथमा ग्यास्ट्रिक, रुघाखोकी, ज्वरोलगायतका अत्यावश्यक औषधि बोकेकै हुन्छन् ।

जीवनशैली बदलौं

नेपालीको जीवनशैली ठीक नहुँदा ग्यास्ट्रिकलगायतका रोगको समस्या बढेको डा. भुपेन्द्र बताउँछन् ।

उनका अनुसार पहिलो कुरा त हाम्रो वातावरण नै स्वस्थ छैन । हावा, पानी, भोजन, परिवेश र जीवनशैली सबै विषाक्त भइरहेको छ ।

‘मानिसको शरीर वातावरण र जीवनशैलीमा भरपर्छ । कुनै कुरा मैले मात्र चाहेर पनि म स्वस्थ रहन सक्दिनँ । मेरो वातावरण, मैले लिने हावा र मैले खाने खाना स्वच्छ हुनुपर्‍यो । त्यसको समिश्रण मिलेन भने हामी स्वस्थ हुन सक्दैनौं,’ उनी भन्छन् ।

नेपालीहरुको खाने तरीका ठीक छैन । हामी बिहान टन्न खान्छौं । दिनभर केही खाँदैनौं र राती फेरि टन्न खान्छौं । हामीले खाने खाना कति स्वस्थकर छ र कहाँबाट आएको छ भन्ने बिचार गर्दैनौं । खानेकुरामा पनि मिसावट छ । हावा दुषित छ  । यस्तो वातावरणमा हामीले आफूलाई स्वस्थ राख्ने हो भने जीवनशैली बदल्नैपर्ने उनको सल्लाह छ ।

दही अनिवार्य 

वीर अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालेसँगै डा. बस्नेत निकै व्यस्त छन् । विहानको उठाइसँगै उनको दिनचर्या सुरु हुन्छ, जसले राती सुतेपछिमात्र आराम पाउँछ ।

बिहान उठ्नासाथ उनी आधा घण्टा शारीरिक व्यायाम गर्छन् । व्यायामको ठीक उपाय त मर्निङ्ग वाक, जगिङ्ग नै हो ।  तर काठमाडौंको बाटो ठीक नभएकाले कता ठोक्किने हो डर छ । त्यसमाथि त्यति दौडिने फुर्सद पनि उनलाई हुँदैन । त्यसैले उनी घरैमा व्यायाम गर्छन् र चिया पिउँछन् । ठीक साढे सातदेखि आठ बजेको बीचमा नियमित खाना खाएर उनी कार्यालयतिर दौडिहाल्छन् ।

दिउँसो एक-दुई बजेतिर उनी नास्ता गर्छन् । नास्ता उनी दिनमा एक पटकमात्र गर्छन् । बीच-बीचको समयमा चिया पनि पिउँछन् । राती नौ बजेसम्म घर पुग्छन् र खाना खाएर सुत्छन् ।

दूध तथा दूधजन्य परिकार उनको खानामा कहिल्यै छुट्दैन । धेरै चिसो मौसमबाहेक उनलाई बिहान बेलुकीको खानामा दही अनिवार्य चाहिन्छ । उनको बुझाईमा न्युटि्रसनको हिसाबले दही उत्तम हो । दहीमा प्रोटिन, भिटामीन बी-१२, फ्याटलगायत धेरै प्रकारका पोषक तत्व पाइन्छन् । खाना पचाउन पनि दही उत्तम मानिन्छ ।

झोलाभरी औषधि

भुपेन्द्र यस्ता डाक्टर हुन्, जो कतै लामो दुरीको यात्रामा जाँदा साथमा अत्यावश्यक औषधि बोकेकै हुन्छन् । यसरी लङ टुरमा जाँदा उनले नछुटाउने औषधि ग्यास्ट्रिकको पनि हो । त्यसबाहेक, सामान्य रुघाखोकी, ज्वरो र दुखाइ कम गर्ने औषधि उनको झोलामा भएकै हुन्छन् ।

यसरी औषधि बोकेर यात्रामा हिँड्न उनलाई एउटा घटनाले प्रेरित गरेको रहेछ । करिब दुई वर्ष पहिले उनी परिवारसहित भारत घुम्न गएका थिए । राती उनकी पत्नीलाई एक्कासी धेरै बान्ता र झाडापखाला लाग्यो । आकस्मिक अवस्थामा त्यसलाई रोक्न उनको साथमा कुनै औषधि थिएन । पत्नीलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था सिर्जना भयो ।

धन्न, अर्को एकजना डाक्टरसँग एन्टिबायोटिकलगायतका आवश्यक औषधि रहेछन् । त्यही औषधि खाएपछि श्रीमतीको बान्ता र झाडापखाला रोकियो । त्यसपछि डा. भुपेन्द्रलाई महसुस भयो, आफै डाक्टर हुँदा पनि कहिलेकाँही काम नलाग्न सक्छ ।

‘इमर्जेन्सी अवस्थाले को डाक्टर, को साधारण मानिस हेर्दैनरहेछ । त्यस्तो संकट जतिबेला पनि आउनसक्छ, त्यसको रोकथामको लागि आफैले पूर्वसावधानी अपनाएर औषधि बोक्नु जरुरी छ,’ डा. भुपेन्द्र भन्छन् ।

त्यस बेलादेखि नै उनले आकस्मिक रुपमा प्रयोग गरिने औषधि बोक्ने छुट्टै झोला नै बनाएका छन् । बाहिर जानुपर्दा त्यो झोला साथमै बोकेर लान्छन् । अरुबेला घरमै राख्छन् ।

कतिपय मानिसलाई कौतुहल लाग्नसक्छ डाक्टरहरु अन्य डाक्टरकोमा कति जान्छन् होला ? यो कौतुहल हाम्रो मनमा पनि जाग्यो ।

‘विरामी नै भएर आजसम्म अन्य डाक्टरकहाँ जचाउन त जानु परेको छैन । साधारण समस्या पर्दा चाहीँ आफै हेरेर औषधि खाइन्छ,’  उनले भने ।

इमर्जेन्सीमा सोझै अस्पताल

कहिलेकाहीँ छरछिमेक तथा परिवारजनमा समस्या पर्दा रातविरात विरामीले डा. भुपेन्द्र बस्नेतलाई फोन गर्छन्  । अझ फोनमा रोगका लक्षणहरु बताउने गर्छन् ।  डा. बस्नेत भने आकस्मिक अवस्थामा फोनमा सोध्नुको साटो सोझै अस्पताल जान आग्रह गर्छन् ।

‘कतिपय मानिस रातविरात फोन गरेर डाक्टरलाई यो दुख्यो, उ दुख्यो भन्छन् । इमर्जेन्सी पर्दा डाक्टरलाई फोन गर्ने नै हैन । इमर्जेन्सी छ भने त सिधै अस्पताल जाने हो,’ उनको सल्लाह छ ।

उनका अनुसार डाक्टरले अनुहार हेरेर, रोगका लक्षण हेरेर जति सही उपचार गर्न सक्छन्, फोनको भरमा त्यो उपचार कुनै पनि हालतमा सम्भव छैन ।

डाक्टरले जे गर्छ, त्यही गर्ने हैन । डाक्टरले जे भन्छ, त्यो चाहीँ गर्ने हो ।’

भनेको गर्ने, गरेको नगर्ने

कतिपय डाक्टरहरु विरामीलाई धुमपान र मद्यपान नगर्न सल्लाह दिइरहेका हुन्छन्, तर कुनै पार्टीमा उनीहरु नै मदिराको पेगमाथि पेग थपीरहेका हुन्छन् । त्यो देख्दा मानिसलाई लाग्न सक्छ, डाक्टरले पिउन हुन्छ भने हामीले किन नहुने ?

यसबारेमा डा. भुपेन्द्रको एउटै मान्यता छ, विरामीले खासमा डाक्टरको शैली पछ्याउने हैन, उसको सल्लाहलाई पछ्याउने हो । अर्थात डाक्टरले भनेको गर्ने हो, गरेको गर्ने हैन ।

‘डाक्टर पनि मान्छे हो, उसको पनि आफ्नै स्वभाव, इच्छा, आकांक्षा हुन्छ । आफ्नै सामाजिक परिवेश हुन्छ । उसलाई पनि खान मन लाग्छ, रमाइलो गर्न मन लाग्छ,’ उनी भन्छन्, ‘तर डाक्टरले जे गर्छ, त्यही गर्ने भन्ने हैन । डाक्टरले जे भन्छ, त्यो चाहीँ गर्ने हो ।’

हुन पनि एउटा डाक्टरलाई रोगको प्रकृति, समस्या तथा औषधिबारे ज्ञान हुन्छ । उसले चिकित्सकीय प्रणाली, मापदण्डबारे बुझेको हुन्छ । शरीर तथा स्वास्थ्यको लागि के राम्रो, के नराम्रो भन्नसक्छ । विरामीलाई पनि चिकित्सकमाथि विश्वास हुन्छ ।

‘विरामीले उत्कृष्ट सेवा पाउनुपर्छ भन्नु मेरो मान्यता हो । त्यस अर्थमा उसको लागि के राम्रो हुन्छ भनेर हामीले सल्लाह दिने हो,’ उनी भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?